मादक पदार्थ नपाइने होटल

hotel pani samabesheeहोटल पनि समावेशी ? सुन्दा अचम्म लाग्ला । सोलुखुम्बुको जुबु सुकेपोखरीमा समावेशी होटल सञ्चालनमा आएको झन्डै २० वर्ष हुन लागेको छ । रत्नमाया मगर, मेनुका बस्नेत र सुन्दरीमाया तामाङले होटल सञ्चालनमा ल्याएका हुन् ।

समावेशी होटल सञ्चालनमा आउनुअघि सुकेपोखरीमा चिया खाने पसलसम्म थिएन । होटल सञ्चालनमा ल्याउनुको उद्देश्यबारे स्पष्ट पार्दै केरुङ–४ सोलुखुम्बुकी रत्नमाया मगरले सुनाइन्, ‘हामीले होटल सञ्चालन गर्नुअघि सुकेपोखरीमा चिया खाने पसलसम्म नभएकाले चिया खान मनपराउनेका लागि भनेर होटल सञ्चालनमा ल्याएका हौं ।’

चिया पसलबाट सुरु व्यवसाय अहिले होटलमा परिणत भएको छ । रत्नमाया मगर र मेनुका बस्नेतले सञ्चालनमा ल्याएको सो होटलमा पछिल्लो समयमा जुबु–७ की सुन्दरीमाया तामाङ थपिएका हुन् । समावेशी होटलमा मादक पदार्थ बेचिँदैन । ‘मादक पदार्थ बेच्दा प्रशस्त मात्रामा नाफा भए पनि नाफासँगै खतरा पनि हुने भएकाले हामीले मादक पदार्थ नबेचेका हौं,’ होटल सञ्चालकमध्येकी पाको सुन्दरीमाया तामाङले प्रस्ट्याइन् ।

होटलको अलावा किराना पसल पनि राखिएको छ । किराना पसलको काम तीनैजनाले मिलेर गरेको देख्दा स्थानीयमात्रै होइन, त्यही होटलको बाटो भएर हिँड्ने जोकोही पनि अचम्म मान्ने गर्छन् । त्यही होटलमा चिया पिइरहेको अवस्थामा भेटिएका जुबु–४ का भरिया डिल्ली तामाङले भने, ‘हाम्रा देशका नेताहरू पनि यहाँका साहुनीहरूजस्तै यसरी नै मिलेर देश विकासमा लागे कस्तो काइदा हुन्थ्यो ।’

होटल र किराना पसल सञ्चालन गर्दै आएका तीनैजनाकोे एउटै आकांक्षा छ– लज सञ्चालन गर्नै । सुकेपोखरी आउजाउ गर्नेलाई स्तरीय आवास दिन रिन मागे पनि बैंकले पत्याएको छैन । ऐंसेलुखर्क–५ खोटाङकी मेनुका बस्नेतले दुःखेसो पोखिन्, ‘लज खोल्नका लागि हामीलाई ४० हजार रुपियाँ आवश्यक छ । घर–जग्गा राख्दा पनि बैंकले जम्मा १० हजार दिने रे ।’ अब बनाउन लागिएको लज र सञ्चालनमा रहेको होटललाई आफूहरूकै नाममा सार्वजनिक पाटी बनाउने उनीहरूको धोको छ ।

समावेशी होटल सञ्चालकमध्ये मगर र बस्नेतले बिहे गरेका छैनन् । बिहे नगरेकोमा उनीहरूलाई पछुतो पनि छैन । मगर र बस्नेतको सामूहिक भनाइ थियो, ‘बिहे गरेर घरजम गरेकी सुन्दरीमाया तामाङको वैवाहिक अवस्था देख्दा हामीले बिहे नगरेको ठिकै पो जस्तो लाग्यो । सुन्दरी दिदीलाई लोग्नेले त हेरेनन् हेरेनन् आफूले जन्माएको छोराले समेत नहेर्दा त हामीले बिहे नगरेकै बेस लाग्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार