फिनल्यान्डबाट छोरालाई सन्देश

कोमल पौडेल

संसारका सबैजसो समाजले तिम्रो जन्म वा आगमनलाई खुसी हुँदै स्वागत गर्नेछन् । तिम्रो राम्रो हेरचाह र लालनपालन गरी हुर्काउनेछन् । तिम्रो शरीर बलियो र अधिकार सम्पन्नताले मन दह्रो, स्थिर र पूर्ण हुनेछ । तिमीबाट परिवार, समाज, देश र संसारले सकारात्मक सोच, कर्म र भूमिकाको अपेक्षा पनि राख्नेछ ।
तिमीलाई निकै सुरक्षितसाथ हुर्काएर, शिक्षा दिएर समाजको संरक्षक बनाउन आमाबाबुले आफ्नो औकातले भ्याएको कसरत र प्रयास गर्नेछन् । तिम्रो देशले पनि ठूलो भूमिका खेल्नेछ, तिमीलाई अनुशासित र लगनशील बनाउन । तिम्रो आमाको त धन, मन, समय र शक्ति सबै तिम्रा लागि लगानी हुनेछ ।
तिमीले चाहेको परिवार, समाज, देश र संसार बनाउन सक्ने स्थान लिन सक्छौ । महिलाको अधिकारको कदर गर्नु तिम्रो आमाको तिम्रा लागि दिएको शक्ति, लगानी र मिहिनेतको सम्मान गर्नु हो । तिमी जन्मनुभन्दा अगाडि मानव समाजको सिर्जना र विकास हुनेक्रममा समाजलाई विभिन्न तरिकाले विभाजित गरेको पाउँछौ । मानव जाति संसारका विभिन्न भागमा झुन्ड–झुन्डमा बसेर आफ्नो सभ्यता, संस्कृति र धार्मिक आस्था विकास गरेकाले एक–अर्कोमा यी सवालमा पटक्कै मिलेकोे पाइँदैन । मानवताको अगाडि यी सबै गौण हुन् । राज्य सञ्चालन गर्ने तरिका पनि केही फरकखालका सोचले प्रभावित भए । आफ्नो सोचलाई सफल साबित गराउने प्रयास गर्दा ठुल्ठूला विनाश भएका घटना पनि बोकेको छ, यो पृथ्वीले ।
त्यस्तै आफ्नो धर्म, संस्कृति र आफ्नो झुन्डको जीवन दर्शन ठीक हो वा साँचो हो भन्ने प्रमाणित गर्ने प्रयासले मानव जाति जिउने परिवेश नै धमिलो बनाइदिएको पाउनेछौ । यी बाहिरी परिवेशबाहेक तिमीमा पनि जैविक र भौतिक आवश्यकता परिपूर्ति गर्न दोधारको स्थिति आउन सक्छ । सावधानीपूर्वक वैकल्पिक उपायको प्रयोगबाट अरू कसैलाई शोषण नगरी हानि नपुर्याइ यी आवश्यकता परिपूर्ति गर्नु तिम्रो जीवनको सफलता हुनेछ । आवश्यकता र चाहना बुझेमा तिम्रो जिन्दगी सहज हुन सक्छ । आवश्यकता सीमित हुन्छन् भने चाहना असीमित । असीमित चाहना पूरा गर्न खोजेमा अरूको हानि पुर्याउन सकिने प्रबल सम्भावना भएकाले सतर्कता अपनाउनु जीवनको सफलता हो ।
तिमीजस्तै धेरै प्रवृत्तिका छोराले सुन्दर र सुरक्षित संसार बनाइरहेका हुनेछन् । उनीहरूको भूमिकाले समाजमा सबैलाई चैन हुनेछ । अरू कोही मानवीय बाटो बिराएर कुबाटो र कुकार्यतिर लाग्नेछन्, जसले गर्दा समाज चैनले बाँच्न पाउने छैन । तिम्रो जीवनको सफलता र सार्थकताका पाइलामा जुन पाइलामा भए पनि त्यो तिम्रो उपलब्धि हुनेछ ।
सफलताको पहिलो पाइला कसैको हानि नपुर्याइ, कसैलाई शोषण र दुरुपयोग नगरी आफ्नो मिहिनेतले आफू स्वस्थ्य, पापमुक्त हुनु र कुलतबाट बच्नु हो । सफलताको दोस्रो पाइला कसैको हानि नपुर्याइ आफ्नो मिहिनेत र परिश्रमले परिवारलाई स्वस्थ बनाउनु, र तेस्रो सफलता उपदेश र सहयोगले आफ्ना नातागोता, साथी र छिमेकीसमेतलाई सहज जीवन जिउनयोग्य बनाउनु हो । चौथो सफलता कुनै समूहको हानि, शोषण र दुरुपायोग नगरी आफ्नो भूमिकाले सिंगो समाजलाई स्वस्थ र सुविधायुक्त बनाउन सक्नु हो ।
सफलताको पाँचौं पाइला हो– आफ्नो भूमिका, बौद्धिकता र सक्रियताले आफू रहेको देशभित्र बसोबास गर्ने सम्पूर्ण वर्ग, जाति र तहका मानिसको समान रूपमा जीवन सहज र सुरक्षित बनाउन भूमिका खेल्नु हो ।
छैटौं पाइला, पूर्ण सफलताको अन्तिम सिँढी हो । यसमा कुनै वर्ग, क्षेत्र, समूहको नोक्सानी, शोषण र दुरुपयोग नगरी संसारका मानिसलाई समान रूपमा पक्षपातरहित भएर सुरक्षित र सुविधायुक्त जीवन दिन भूमिका खेल्नु, प्रयास गर्नु र पहल गर्नु हो । यी सबै सकारात्मक सिँढीमा जुन सिँढी भए पनि त्यो तिम्रो जीवनको सफलता हो । तिम्रो बौद्धिकता, क्षमता, योग्यता, सक्रियता र क्रियाशीलताले भ्याउने जुनसुकै सिँढीमा रहे पनि जगत् रमाउनेछ । जहिले पनि कर्तव्य पूरा गर्नु तिम्रो दायित्व हुनेछ । परिवार, बाबुआमा र आफू रहेको देशको कल्याण गर्नु तिम्रो कर्तव्य हो ।

नकारात्मक नतिजा दिने जुनसुकै कार्यमा संलग्न भए पनि त्यो तिम्रो असफलता हो । पूर्वीय दर्शनले मानिसको जीवन पाउन अरू धेरैप्रकारका कीरा, फट्यांग्रा र जनावर हुँदै चौरासी हजार जुनी जीवन पार गर्नुपर्छ भन्ने विश्वास गर्छ । मानव भएर जन्मनु आफैंमा ठूलो मौका हो । ज्ञानले भरिपूर्ण, दया, स्मरण शक्ति, विचार मन्थन गर्न सक्ने शक्ति, भाव व्यक्त गर्न सक्ने शक्ति, स्रोत पहिचान गर्न सक्ने शक्ति र यसको परिचालन गर्न सक्ने क्षमता लिएर जन्मिएको मानव जातिमा पनि तिमी जीवनभरि कुनै प्राकृतिक रूपले शारीरीक बनावटका कारण कुनै कठिनाइ र कमजोरीपन बेहोर्न नपर्ने जीवन पाएकाले तिम्रो यो सत्कार्य गर्ने मौका पुनः यही परिवेशमा पाउन कहिल्यै सक्दैनौ ।
लगभग पहिलो २० वर्षजति तिम्रो जीवन, परिवार, छिमेक, समाज, नातागोता, साथी, देश र संसारको भूमिका, परिवेश, गतिविधि र अवसर बुझ्न समय लाग्छ । बाँकीका लगभग ५५ देखि ६० वर्षको अवधिमा आफू र आफू रहेको परिवेश, आफ्नो क्षमताले भ्याउने सेरोफेरोको सम्पूर्ण मानव जातिको कल्याणको पक्षमा भूमिका खेल्न र कार्यसम्पादन गर्न सकेमा तिम्रो मानव जीवन अर्थपूर्ण र सफल भएको मानिन्छ । समाजमा धेरै प्रकारका समूह र गतिविधि देख्नेछौ । जसको भूमिकाले समग्र मानव जातिलाई निष्पक्ष ढंगले बच्न सहज परिवेश सिर्जना गर्न सहयोग मिलेको छ कि छैन पहिचान गरेरमात्र संलग्न हुनुले तिमीलाई सफलताको दिशातिर वा सकारात्मक पक्षतिर लागेको जनाउँछ । मानव जीवन आ–आफ्नो हुन्छ, कसैलाई क्षति पुर्याएर अरू कसैको कल्याण गरेमा क्षतिपूर्ति हुँदैन । अवरोध र बाधा नपुर्याएमा सामान्य अवस्थामा सबै मानिस आफ्नो जीवनको गोरेटो तय गर्न योग्य हुन्छन् । तिम्रो भूमिकाका कारण जानेर एकजनाको पनि हानि र क्षति भयो भने ब्रह्मान्ड (भगवान) ले तिमीलाई क्षमा दिने छैन । योग्यता हासिल गर्नु, आविष्कार गर्नु र त्यो सीप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव जातिको कल्याणमा लगाउनु तिम्रो धर्म हो । तिम्रो भूमिका कसैको विनाश, पक्षपात, दुरुपयोग र शोषणका लागि हुनु भनेको तिम्रो मानव जीवनको असफलता हो ।
मानिसका आ–आफ्नै स्वभाव, आनिबानी हुन्छन्, तिमीले अपेक्षा गरेको स्वभाव नहुन सक्छ । त्यस्तालाई पनि सहज रूपमा लिएर समाजमा संलग्न गराउनु, मानवीय जीवन दिनु, पक्षपात नगर्नु र बदलाभाव नराख्नुले तिम्रो मानवताको स्तर उँचो पार्छ । संसार सबैका लागि सुरक्षित बनाउन तिम्रो भूमिका महत्वपूर्ण हुन्छ । अहिलेको समाज अति विभाजित, पक्षपाती, असुरक्षित्, शोषणयुक्त, विनाशकारी हुनुको साथै मानव जातिको वीभत्स ढंगले सजाय दिएको र विनाश गरेको अवस्था छ । यी सबै अति अमानवीय गतिविधि सबैजसो तिमीजस्तै छोराबाट भएका छन् । जो नाश भए ती कहिल्यै हामीसँग भेट्ने छैनन् । यो सानो ग्रहमा एकैपटक जन्म हुनु र यति धेरै जनसंख्यामा तिम्रो समीप कोही आउनु भनेको तिम्रो परीक्षण हो । एउटै परिवार, समाज, देशमा बस्न र भेट्न पाउनु ठूलो मौका हो । यो मौकामा सबै मानवले सिर्जना गरेका विविधतालाई गौण सम्झेर सबैको अधिकार, अस्तित्व र गरिमालाई कदर र सम्मान गर्नु तिम्रो कर्तव्य हो । पद, शारीरिक बल र सामाजिक शक्ति दुरुपयोग गरेमा ब्रह्मान्डले तिमीलाई क्षमा दिने छैन । भगवान्ले कहिल्यै क्षमा दिने छैनन् । संसार सुन्दर, सुरक्षित र शान्त बनाउन तिम्रो भूमिकाको महत्व पलपलमा सम्झेर सफलताको पहिलो पाइला आफू स्वस्थ, सुरक्षित हुन र कुलतबाट बच्न सम्झिरहे सबै छोराहरू ।

हेल्सिन्की, फिन्ल्यान्ड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार