‘तँ त हिरोइन हुन्छेस्’

देवेन्द्र सुर्केली

अप्सरा सेर्मा साथीसंगीबीचमा आफू केही अग्ली र राम्री थिइन् । उसै त तराईको भूमिमा चलचित्रको फेसनले छपक्कै छोइहाल्ने । साथीहरूले ‘तँ त पछि हिरोइन हुन्छेस्’ भन्दा मन फुरुङ्ग हुन्थ्यो । अनि कता कता हिरोइन हुने सपनाले गाँज्ने गथ्र्यो । हिरोइनहरूले छमछमी नाचेको अनि मौका पाउँदा फाइट पनि खेल्नुपर्ने हुदा थुप्रैपटक साथीहरूमाझ नाच्ने, संवाद बोल्ने र फाइट खेल्ने क्रियाकलाप हुन्थे । साथीहरूसँग लहडैलहडमा कराँते सिक्न पुग्दा किन सिकेको भन्ने सोधनी हुन्थ्यो । आत्मरक्षाका लागि भन्ने बनावटी उत्तर दिने गरे पनि खासमा हिरोइन भएपछि भिलेनलाई किक हान्ने सोख ज्यादा थियो ।
घरकी ६ बहिनीमध्ये उनी साइँली । उनकै भाषामा भन्नुपर्दा, ‘राम्री नै थिएँ कि कुन्नि, अप्सरा नाम राखिदिए अभिभावकहरूले ।’ बुवा भारतीय मेजर गञ्जवीर सेर्मा आधुनिक शैलीका तर कडा मिजासका थिए । लामो समयसम्म भारतीय सेनामा रहनुपर्दा बलिउडका चलचित्रको प्रभावले छोरीको नाम जुराउन मद्दत पुग्यो होला । रवाफिला गञ्जवीर वंश धान्नकै लागि ६ जना छोरीको जन्मपछि एक भाइको आगमन गराएको रमाइलो कहानी थियो ।

धरमपुर र दमक गरी दुई ठाउँमा थियो घर । यताउता गरिरहनुपर्ने । स्कुल भने दमकमै सबै दिदीबहिनीहरूले पढे । हाल उच्चमावि बनिसकेको सरस्वती मावि थियो अप्सराको बाह्रखरी चिनाउने स्कुल । निमावि कक्षामा पढ्दापढ्दै कहिले कविता लेख्ने, सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थिन् । त्यो बेलादेखि नै उनको दृढ प्रतिज्ञा थियो केही गर्ने र नाम कमाउने । सिर्जनात्मक कार्य गर्न नसके नर्स बनेर समाजसेवा गर्ने ।
अचानक एक दिन उनले चलचित्र ‘देउमाईको किनारमा’ को सुटिङ हेर्न पुगिन् । सुटिङ हेरेपछि नायिका बन्ने इच्छाले अग्घोरै सतायो । आफ्नी दिदीलाई इच्छा व्यक्त गरिन् । उक्त चलचित्रका निर्देशक प्रेम सेर्मा र सुरेन्द्र सेर्मा आफ्नै वंशजका भए पनि चिनजान थिएन । चलचित्रमै कलाकार रहेका डीएम नेम्वाङसँग दिदीको चिनजान थियो । दिदीले डीएमसँग खेलाइदिने आग्रह गरिदिन्छु भनेर वचन दिइन् । त्यो रात अप्सरालाई निन्द्रै लागेन रे । डीएमबाट निर्माता÷निर्देशकसँग भेटघाट भयो र फोटोसेसन भयो अनि पुष्पा भन्ने पात्रको छोटो भूमिकामा अभिनय गरेर आफ्नो इच्छा पूरा गरेकी अप्सरालाई भर्खरैजस्तो लाग्छ ।
सानोमा साथीहरूले ‘तँ त हिरोइन बन्छेस् होला’ भन्ने गरेको उद्गार छोटो भूमिकामै भए पनि चलचित्रमा प्रवेश भएपछि के चाहियो र ? उनी गाउँको सानोतिनो सेलिब्रेटी बनिन् । नयाँ वर्ष तथा दसंैमा हुने नाटकहरूमा उनकै माग हुन थाल्यो । उनीसहितको टोली नाटक प्रदर्शन गराउन उर्लाबारी, बेलबारी र धरानसम्म पुगेको थियो । तुम्दङ भन्ने लिम्बू भाषाको नाटक निकै चर्चित भयो । पुराना बस्ती, भरियाको जिन्दगी, बिहानीलगायत नाटक गरेको उनी सम्झन्छिन् ।
चर्चित नाटक तुम्दङलाई फिल्मांकन पनि गरिने भयो । उक्त चलचित्रबाट उनले नायिकाका रूपमा पदार्पण गरिन् । त्यसपछि पूर्वी नेपालमा बन्ने गरेका चलचित्रमा भइरहेको नायिकाको अभावलाई टार्ने क्षमतावान् कलाकारका रूपमा दरिइन् । निष्ठुरी माया, अमरप्रीति, आनिसाक्थिम, मासेमीलगायतका चलचित्र र टेलिसिरियल पाहुनामा क्रमशः नायिका बन्दै आइन् ।

अप्सराको क्षमता तत्कालीन नायिकाहरूसँग प्रतिस्पर्धी बन्न सक्ने थियो । तसर्थ, काठमाडौं आएर संघर्ष गर्नुपर्छ भनेर खाल्डो नटेकेको पनि होइन, काठमाडौं आएर खुकुरी, आफ्नो बिरानो चलचित्रमा छोटो रोल गरेकी उनको जीवनले अर्कै मोड लियो । किनभने उनले धरमपुरकै पूर्ण नेम्वाङसँग विवाह गरिन् । श्रीमान्को सहयोग राम्रै पाए पनि माइतीमा मेजरको छोरी भएर पुल्पुलिएकी उनलाई नयाँघरमा आफैंले बनाउनुपर्ने संसारसँग जुध्न पर्यो । विवाहपश्चात् लगातार जन्मिएका छोराहरू नाम्लिङ र तान्छाका लागि पनि केही सोच्नैपर्यो ।
निरन्तरता दिँदा नेपालको कलाकारिताले उति उँभो नलागिने, केही गरौं त्यस्तो सीप केही छैन । यताउति गर्दागर्दै दुई÷तीन वर्ष बितिगयो । अचानक उनमा उपाय फुर्यो कि विदेश जाने ।
विदेश जान केही राम्रो देश बुझेर अप्लाई गर्ने प्रक्रिया अगाडि बढाइन् । उनको ताक जापान थियो । तर, केही ढिला हुने भएकाले हतारिएको मनलाई कसैले साइप्रस जाने बाटो बताइदियो । उनको भाग्य त्यतै रहेछ, अप्लाई गरेको १५ दिनमै भिसा आयो । संवत् २०६३ मा उनी साइप्रस उडिन् । जम्दै गरेको एउटा प्रतिभाशाली कलाकारलाई वैदेशिक रोजगारीको बाटोमा समाहित गरिन् ।
विदेशको ठाउँ नेपालजस्तो कहाँ हुन्थ्यो । विकसित देश त्यसै भएको होइन । अल्छीको कामै छैन । चौबीसै घन्टा काम गर्न सक्ने मालिकको प्यारो हुने, कामचोर सदाका लागि बिदा हुने अवस्था थियो । उनले निकै सास्ती पाइन् । नेपाली त झन् लुटाहा, ठगमात्रै भेटिने ।
संघर्षका बाबजुद बिरानो ठाउँलाई आफ्नो बनाएरै छाडिन् । मालिकमालिकनी आफ्नै बुवाआमाजस्तो बनाउन सफल भइन् । रोमानिया, फिलिपिनी, भियतनाम, रसियाका मिल्ने साथी बनाइन् । रोमानियाकी एलिना त आफ्नै बहिनीजस्ती भइन् । आज भन्यो, भोलि भन्यो काम गर्दै जाँदा आठ वर्ष बितेको पत्तै भएन ।
बाबिया सुपरमार्केट उनले काम गर्ने ठाउँ । यसबीचमा धेरै नेपाली संस्थासँग नजिक भइन् । कार्यसमितिमा रहेर काम गर्ने मौका भने पाइनन् । विभिन्न सांस्कृतिक कार्यक्रम हुँदा सहयोगी भूमिका गर्ने, कविता वाचन गर्ने गर्थिन् । कुनै बेला विद्यार्थीको चाप निकै थियो साइप्रसमा । पछिल्ला दिनमा भने चाप घटेको थियो । एकपटक नेपालीबीच सानो पार्टी मनाएर हल्ला गर्नेक्रममा प्रहरीले खानतलासी लिन खोज्दा पाइपबाट भाग्न खोज्ने एक अवैधानिक नेपाली महिलाको लडेर मृत्यु र अर्को एक महिलाको श्रीमान्ले नेपालमा अर्कै श्रीमती ल्याएको निहुँमा आत्महत्या गरेको नमीठो सम्झना छँदै छ । खाडी मुलुकलगायत मलेसियामा नेपाली सुतेको सुत्यै भएको समाचार पढिरहने अप्सराले साइप्रसमा दुई नेपालीको यस्तो मृत्यु हुँदा निकै निराश बनेको अनुभूति बाँडिन् ।

उनी हिजोआज नेपालमै छिन् । आठ वर्षसम्म श्रीमान् र छोराहरूको विमुखमा रहनुपरेको न्यास्रोलाई मेट्न उनी स्वदेश फर्केकी हुन् । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनले आफ्नो कामप्रति सन्तुष्ट छैनन् । त्यसैले केही गर्ने जोश बोकेर नेपाल फर्केकी हुन् । उमेर छउन्जेल केही कमाउनैपर्छ कि भन्ने पापी मनले गाँजिरहेको छ । उनले कमाउन त केही कमाएकी छन् तर मान्छेलाई कहाँ पुग्छ र ?
प्रायः आफ्नो कथाव्याथालाई कवितात्मक रूपमा खरर्र सुनाउने अप्सरा कोमल मनकी छिन् । उनले धेरै डायरी कविता लेखेर भरेकी छन् । उनको कविता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाद्वारा सम्पादित एक संग्रहमा संग्रहित छ । कवितालाई पुस्तकारका रूपमा पनि ल्याउनु हुन्छ कि ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जिन्दगी समयको खेल हो । सोचेजस्तो कहिले नहुने । चाहना इच्छा भनेको बगिरहने खोलाजस्तो हो । खै के हुन्छ हेरौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार