बेलायतबाट खोटाङ सम्झँदा

श्रीमती भाग्यवती राई

परापूर्वकालदेखि नै हाम्रा पुर्खा पहाडी भेगबाट खेतिकिसान गरेर फुर्सदको समयमा नुन, तेल जोहोका लागि तराई तथा आसाम, दार्जिलिङतिर आरा काट्न जान्थे रे । त्यहीक्रममा कति त औलो रोग लागेर उतै बित्थे रे । कति रोगले थला परेर फर्कन्थे । त्यस्तै भारतीय सेना र ब्रिटिस सेनामा भर्ती भएर प्रथम विश्वयुद्धदेखि आजसम्म अंग–भंग भए, देह त्यागे र अझ यो क्रम जारी छ ।
आफ्नो देश छाडेर बिदेसिनु स्वेच्छा या बाध्यता दुवै हुन सक्छ । स्वेच्छा भन्नाले मीठो खाने, राम्रोे लगाउने, उत्तम जीवनयापन गर्ने या थोरै काम गरेर धेरै कमाउनु आदि । नेपाल भूपरिवेष्ठिट देश हो, यहाँको भोगौलिक विविधताले गर्दा तीव्र गतिमा विकास हुन गाह्रो छ । अझ राजनीतिक अस्थिरता, द्वन्द्वपीडित र राजनीतिक अस्थिरताले गर्दा विकसित मुलुकतिर राम्रोे शिक्षा, व्यापार, व्यवसाय, उत्तम रोजगार, वैवाहिक सम्बन्ध, सैनिक सेवा, स्वास्थ्य सेवा आदि प्रति आकर्षित भएर वैदेशिक रोजगारीको लोभमा होमिएर नेपाली विशेषतः खाडी मुलुकलगायत एसिया, युरोप, अमेरिका, अफ्रिका जानेक्रम बढ्दो छ ।
बेलायतमा नेपालीको आगमन सुरुमा नगन्य भए पनि भूतपूर्व गोर्खालाई आवासीय भिसाको अधिकार प्रदान गरेपछि बढ्न थाल्यो । यो क्रम बढ्दो छ । यसैक्रममा म पनि अछुतो रहिनँ । म खोटाङ रतन्छाको एक किसान परिवारमा जन्मी, हुर्की गाउँकै स्कुलमा मिडल क्लास सकेपछि गाउँमा पढ्नलाई हाइस्कुल थिएन । तसर्थ, दिक्तेल धाउनुप¥यो । यहीँबाट सुरु भयो मेरो परदेसिने क्रम । हप्ताभरिलाई रासन बोकेर हाइस्कुल सकेपछि जिल्ला पनि छाड्नुपर्यो उच्च शिक्षा हासिल गर्नका लागि । यसैक्रममा ब्रिटिस गोर्खा सैनिकसँग वैवाहिक सम्बन्धका कारण हङकङ तीन वर्ष बसेँ । अनि नेपाल फर्केर काठमाडौं, खोटाङ गर्दै बिताएँ । त्यसताका खोटाङका लागि एउटै मात्र लामिडाँडा एयरपोर्ट थियो । रातभरि एनएसी कार्यालयमा लाइन लागेर बल्लतल्ल टिकेट पाई भाग्यवश जहाजले लामिडाँडामा फालेपछि आफ्नो झोलीतुम्बी बोकेर उकालो लाग्दा लेकखर्कको स्वच्छ हावा र घरपरिवारको मोहले तानेपछि त्यो नाकै ठोक्किने उकालो काटेको पत्तै पाइन्नथ्यो । नुनथलाको चिसो पानीको चुस्की लगाउँदै मौरेको तातो चियाको चुस्की लगाउन पुगेको पत्तै पाइन्नथ्यो । बाटोवरपर फुलेका विविध रंगका चाँप र गुराँसको मनोरम दृश्य अवलोकन गर्दै निंगुरो र कुकुर दाइने टिपेको याद ताजै छ । यसो गर्दै मुढेडाँडा पुग्दा झमक्क साँझ परेपछि लाइट बालेर लड्दै दिक्तेल झरी बास अभावमा रात बिताएको सम्झना छँदै छ । अर्को दिन घर पुग्ने आत्तुरीले झिसमिसेमै बाटो तताइन्थ्यो ।
सन् १९९४ मा गोर्खा सैनिक सेवाबाट अवकाश लिएर हङकङबाट नेपाल फर्केपछि फेरि अर्को दिशातिर नोकरी गर्ने सिलसिलामा श्रीमान् ब्रुनाई, कतार, डिगोकार्सिय अफगानिस्तान र ओमान जानुभयो । ओमानमा रहँदै भूपू गोर्खा सैनिकलाई बेलायतमा आवासीय भिसाको अधिकार प्राप्त भएपछि बेलायत आउनेको ताँती छुट्न थाल्यो । नातागोता, छरछिमेक सबै हिँडे । भन्न लागे काठमाडौंको धूलो खाएर किन बसिरहेको ? तर, श्रीमान्को बेलायत आउने इच्छा थिएन किनकि उहाँको अनुभवमा बेलायतमा काम गर्न गाह्रो चिसो ठाउँ भनेर तर म भने लालायित भएँ बेलायत कस्तो ठाउँ छ भनेर । पहिले–पहिले हङकङबाट एकादुई परिवार श्रीमान् बेलायतमा रहँदा भ्रमणमा आउँथे । आफ्नो त त्यो पनि संयोग मिलेन र आखिरी विदेशमै रहे पनि सँगै दुःख गरिखान पाइने, नानीलाई पनि बाबाको माया चाहिने आदि कुरा सोचेर मेरै ढिपीले श्रीमान् सन् २००६ मा बेलायत आउनुभयो । म र छोरी २००७ को सेप्टेम्बरमा आउने तयारीमा लाग्यौँ ।
बेलायत आउन मलाई कम चुनौती थिएन । ८३ वर्षीया आमाको म एउटै सहारा थिएँ । उहाँलाई करकापले खोटाङ रतन्छाबाट आठ वर्षअगाडि काठमाडौं ल्याएर राखेकी थिएँ र पनि म डाँडाको जूनघामलाई अरूको हातमा सुम्पेर बेलायत आउने तयारीमा लागें, उहाँको साउँभन्दा ब्याजको माया लाग्ने नातिनीलाई लिएर । यसैक्रममा गाउँकै एकजना भूपू सैनिक दाइले भन्नुभयो, ‘बहिनी बेलायत त जाँदै हुनुहुन्छ धेरै दिदीबहिनी त्यहाँ रोइरहेका छन् ।’ प्रतिउत्तरमा मैले भनें–होला नि दाइ तर कारण किन भनेर सोध्न सकिनँ । सोचिरहेँ दाइले यो के भनेका होलान् भनेर । उहाँ नेपालमै भए पनि एउटा सफल व्यापारी हुनुहुन्छ ।
जति घर छाड्ने दिन नजिकिन थाल्यो म व्यस्त रहन थालेँ । किनमेल गर्नैपर्यो । घरको चोचोमोचो मिलाउनैपर्यो । आमासँग बसेर त्यति धेरै बात मार्ने समय पनि मिलेन । जब एयरपोर्ट हिँड्ने बेला भयो हामी झर्ने सिँढीमा आमा थ्याच्च बस्नुभयो । हामी ट्याक्सीमा चढ्यौँ फर्केर हेर्दा बरन्डामा उभेर बिदाइको हात हल्लाउनुभयो । नानी र मैले २००७ सेप्टेम्बर ११ मा प्रथमपटक बेलायत टेक्यौँ । एयरपोर्टमा श्रीमान् लिन आउनुभएको थियो । मनमा कुनै संकोच थिएन । उत्साह पनि थिएन । मानौं हङकङ पार्सल गएजस्तो किनकि थाहा छ बेलायतमा काम गर्नुपर्छ, घर भाडामा बस्नुपर्छ भनेर । आइपुगेकै तीन दिनमा कामका लागि अन्तर्वार्ता दिन गएँ । काम पनि पाएँ, एउटा होटलमा तर काममा जाने आउने कसरी ? साथी पनि नभएको श्रीमान्ले पनि पुर्याउन नभ्याउने । जसरी नि काम त जानैप¥यो । पहिलो दिन त बसस्टपसम्म एउटी बहिनीले पुर्याइदिइन् र बस चढाइ पठाइन् । अर्को दिन फेरि त्यही ठाउँमा पुगेर बस कुरिरहेँ । दिन छ अँधेरो । सिमसिम पानी परिरहेको थियो । काममा हिँडेको भन्ने थाहा छ, मानौँ कि पहाडमा खेतको काममा गएजस्तो लाग्यो । यति हो हातमा कोदाली छैन, जिउमा घुम छैन, मात्र काँधमा झोला छ, खुट्टामा जुत्ता छ । मनमा अनेक तरंग उठ्न थाल्यो, समयमा बसले काममा पुर्याउने हो कि होइन । नेपालमा जस्तो ट्याक्सी पनि देखिन्न, त्यतिबेला गाउँले दाइको भनाइ सम्झेँ– बेलायतमा दिदीबहिनीहरू रोइरहेका छन् भनेर ।

समय बित्दै गयो, बानी पर्दै गइयो । परिवारसँगै भएको हुनाले त्यति गाह्रो भएन तर उता नेपालमा वृद्धा आमा, घर अरूलाई सुम्पेर आको । दिनदिनै आमाको स्वास्थ्य कमजोर बन्दै गयो । खबर आयो आमा बिरामी पर्नुभयो भनेर । बल्लतल्ल समर भ्याकेसनमा छुट्टी मिलाएर एक महिनाका लागि परिवारै नेपाल फर्कने भयौँ । जाने दिन गन्दागन्दै उत्साह बद्दै गयो, आफ्नो जन्मदाता र जन्मभूमिलाई कुन बेला भेटौं, कुन बेला देखौं लाग्यो । जब हामी चढेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भयो त्यही ठाउँ यति प्यारो लाग्यो । सोचिरहें आमा त्यही बरन्डामा उभिएर हाम्रो बाटो हेर्दै होलिन्, जहाँबाट उहाँले बिदाइको हात हल्लाउनुभएको थियो । तर, घर पुग्दा त्यो भएन । लोडसेडिङले गर्दा घरमा धिपधिप बत्तीको प्रकाशमात्र थियो । बिरामीले च्यापेको आमा बिस्तारामै सुतिरहनुभएको थियो । हामी पुगेपछि उठ्नुभयो । बेलायतबाट ल्याएको कोसेली बाँडियो । उपहार उहाँलाई नै छान्न लगायौँ । चार हप्ताको छुट्टीको दौरानमा आमाको सबै स्वास्थ्य परीक्षण गरियो । आमाको फोक्सोमा क्यान्सर भएको र उहाँ ६ महिना बढी नबाँच्ने रिपोर्ट आयो । जे भए पनि आफ्नो कर्म थलो फर्कनैपर्ने भयो । आमाको जीर्ण शरीर छाडेर आँखाभरि आँसु, मनभरि पीडा बोकेर हामी पुनः बेलायत फक्र्यौं । नानीलाई स्कुल लैजानु, ल्याउनुपर्ने आफ्नो काम । केही समयपछि घरको सबै तर्जुमा मिलाएर कामबाट राजीनाममा दिई म २००८ नोभेम्बरमा फेरि नेपाल फर्कें ।
एयरपोर्टसम्म हामी परिवारसँगै पुगेका थियौँ । सुरक्षा जाँचका लागि म भित्र पस्नैपर्यो, आठ वर्षकी छोरी बाबालाई सुम्पेर । एकपटक छोरीको निधारमा चुमी म भित्र छिरेँ । श्रीमान् र छोरी फर्के । म जहाज चढ्नुअगाडि बाबुछोरी कहाँ पुगे होलान् भनेर फोन गरेँ । गाडीमा सुतिरहेको बिचरा छोरी मेरो आवाज सुन्नेबित्तिकै उठेर मम्मी भनेर रुन थाली । मेरो पनि गला अवरुद्ध भयो । यात्राभरि अनेकन् तर्क बितर्क भइरह्यो, आमालाई भेटछु भेट्दिनँ भनेर । जसोतसो घर पुग्दा आमा बिस्तारामै सुतिरहनुभएको रहेछ । म आइपुगेको खबरले यसो टाउको उठाएर हेर्नुभयो । उहाँको सेवा गर्न २५ दिन मौका पाएँ । अन्त्यमा उहाँले हामीलाई छाडेर सदाका लागि बिदा हुनुभयो ।
आठ वर्षपहिले खोटाङबाट आमा काठमाडौैं आउन नमान्दा मृत्युउप्रान्त उहाँको पार्थिव शरीर खोटाङमै लैजाने प्रण गरेकी थिएँ किनकि बाबा उतै बित्नुभएको थियो । यसरी आमाको प्राण उठेकै दिन हेलिकोप्टर चार्टर गरेर दिदी, म र दिदीको दुई छोरी भएर आमाको पार्थिव शरीर खोटाङ लिएर जाँदा छातीभरि पीडा बोके पनि सबै इष्टमित्र, गाउँले र दाजुभाइ भेला भएको देख्दा आमाको इच्छा पूरा गरेँ कि भन्ने भान भयो । यसरी खोटाङ रतन्छाको दार्लाटारमा हेलिकोप्टर अवतरण गराउँदा भिन्दै सुखानभूति भएको क्षण ताजै छ । सन् १९९४ मा सैनिक सेवाबाट अवकाश लिएर नेपाल फर्केपछि काठमाडौंमा बसेका खोटाङेको सहमत र पहलमा हालको खानीडाँडा मनमाया राई विमानस्थल निर्माणका लागि आर्थिक सहयोग प्रस्ताव आउँदा तत्कालीन समयमा हामीले पनि १० हजार रुपैयाँ सहयोग गरेका थियौँ । फलस्वरूप आज खानीडाँडा एयरपोर्ट आज पनि निर्मार्णाधीन अवस्थामै भए पनि सन् २०१० अक्टोबरमा अनियमित उडानको निश्चित मूल्य भन्दा चर्को कालो धन्दाको टिकेट मूल्य तिर्दा दुःख लागे पनि त्यस ठाउँमा अवतण भइयो । त्यो माहोल थियो दसैंको समाप्ति र तिहारको पूर्वसन्ध्या । स्वच्छ मौसम, मन्द हावा एयरपोर्टकै मुनी बारीमा कोदोको बाला झुलिरहेको, डिलमा सयपत्री र फिलुङे फुलिरहेको । ओहो कस्तो मनै प्रफुल्लित । गाउँबाट लिन आउनेले ल्याएको खाजा, आम्बोक र सुन्तला, कोदोको तीनपाने खाँदै लप्mयाङको धान झुलेको फाँटसँग लुकामारी खेल्दै मलहरमुनी मेवाखोला तरेर दोर्पाको वार्कुमा बिसाइ पसिना पुछ्दै गर्दा गाउँबाट दिक्तेल गएर फर्केकाहरू सँगको भेटले गर्दा थकाइको महसुस भएन । यसो गर्दै आहाले, बालाटार, रेवाटार, चुङ्पा हुँदै त्यस दिनको गन्तव्य साप्सुखोलापारि लमिदुवालीमा पुगियो । त्यहाँ आफ्नै खेती भएको हुनाले जेठानी, जेठाजु बस्नुहुन्थ्यो र तीनपाने, लोकल भाले र असला माछा तयार पारेर उहाँहरू हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो । हामीले पनि ड्टुटी फ्री लगेका थियौँ । त्यसै सौगातको आदानप्रदानसँगै पारिवारिक भलाकुसारी र अन्त्यमा जुहारी गीतसम्म घन्किँदा त्यसै ठाउँमा माघेसक्रान्तिमा लाग्ने मेलाको आभास मिल्थ्यो तर अब त्यो क्षण फर्केर आउँदैन कि ? यसरी आजसम्म बर्सेनि बेलायतबाट खोटाङसम्म पुगेकै छु । भविष्यमा बुढ्यौली जीवन त्यहीँ बिताउने इच्छा छ किनकि म जहाँ भए पनि गाउँको गल्ली, गोरेटो, जन्मेको ठाउँ, पाखापखेरु बिर्सन्न सक्दिनँ । अनि मुकेश राईको यी भावहरूले साह्रै छुन्छ :
म खेलेको आँगनको फूल ओइली सबै झर्यो होला
मेरा आँखा बर्सेजस्तै साउन पनि बसिर्यो होला
यहाँ शीतल बतास चल्दा गाउँ पुगेजस्तो लाग्छ
सम्झनामा रम्दा पनि पीर घटेजस्तो लाग्छ ।
रतन्छा, खोटाङ
हाल : बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार