बूढानीलकण्ठ र सुनका गहना

प्रा. दिनेशराज पन्त

काठमाडौँको उत्तरी भेगमा रहेको बूढानीलकण्ठस्थानमा विष्णुको विशाल सुन्दर मूर्ति छ । त्यो मूर्ति देख्नेबित्तिकै यो मूर्ति कहिले बनेको हो, कसले बनाएको हो भन्ने प्रश्न उठ्नु स्वाभाविकै छ । हाम्रो देश नेपालको इतिहासका धेरै पक्षबारेमा निर्णयमा पुग्न गोपाल राजवंशावलीले सघाएको कुरा प्रसिद्धै छ । यस विषयमा पनि हामीलाई गोपाल राजवंशावलीबाट मद्दत मिल्छ ।
राजा विष्णुगुप्तले उत्तर पहाडको फेदीमा नरसिंहस्थानमा ठूलो ढुङ्गे जलशायी विष्णुको सुन्दर मूर्ति मन्दिरसहित बनाए भनी लेखिएको छ । यहाँ नरसिंहस्थानमा विष्णुगुप्तले विष्णुको मूर्ति बनाएको कुरा लेखिएको छ । अब नरसिंहस्थान कहाँ पथ्र्यो भन्ने कुरामा विचार गर्नुपरेको छ । यस विषयमा हामीलाई बूढानीलकण्ठस्थानमा रहेको वि.सं ६५३ को शिवदेव र अंशुवर्माको शिलालेखबाट मद्दत मिल्छ । त्यस शिलालेखमा शिवदेवले नरसिंह पान्चालीमा बस्नेलाई सम्बोधन गरेको कुरा परेको छ । यताबाट बूढानीलकण्ठस्थानवरिपरिको क्षेत्र लिच्छवीकालमा नरसिंहस्थान कहिन्थ्यो भन्ने स्पष्ट हुन्छ । अंशुवर्माले उत्तराधिकारीका रूपमा राखेका लिच्छवी राजा उदयदेवलाई पन्छाई लिच्छवी धु्रवदेवलाई गद्दीमा राखी आफ्ना बाजे भौमगुप्तले जस्तै शासन गर्न जिष्णुगुप्त लागे । बाजे भौमगुप्तभन्दा बढी शक्तिशाली भएका जिष्णुगुप्तले आफ्ना छोरा विष्णुगुप्तलाई युवराज घोषणा गरे । धु्रवदेवपछि लिच्छवी भीमार्जुनदेवलाई गद्दीमा राखी जिष्णुगुप्त शासन गर्न लागे । जिष्णुगुप्तपछि उनका छोरा विष्णुगुप्तले गद्दीमा भीमार्जुनदेवलाई थामी बाबुले जस्तै शासन गरे । आफ्ना छोरा श्रीधरगुप्तलाई युवराज बनाई शासन गरेका विष्णुगुप्तको शासन उदयदेवका छोरा नरेन्द्रदेव शासनमा नआएसम्म चलिरह्यो । विष्णुगुप्तको शासनकालका अभिलेख वि.सं ६९० देखि ६९८ सम्मका पाइएका छन् । उनको शासनकालका अभिलेखबाट पनि बूढानीलकण्ठको मूर्तिको विषयमा मद्दत मिल्ने हुनाले अब त्यतापट्टि विचार गरौँ ।
काठमाडौँ लगनटोल यङ्गालहिटीको वि.सं ६९७ को भीमार्जुनदेव र विष्णुगुप्तको अभिलेखमा शेष नागराजको शरीरले चहकिलो भएको पोखरीमा प्राणीको कल्याणका लागि सुतेका विष्णुको अति शान्त मूर्तिले मङ्गल गरोस् भनी लेखिएको छ । त्यसपछि मानगृह दरबारबाट सारा मानिसको दुःख, बाधा हटाउन हरबखत चित्त लाएका, लिच्छवी कुलका झन्डास्वरूप भएका, गद्दीनसीन महाराज श्री भीमार्जुनदेव र उहाँको साथमा रही काम गर्ने, राजामा हुनुपर्ने असङ्ख्य असल गुणले जिउ सुहाएका, उत्तम, सफा ज्ञानरूपी किरणले सारा शत्रुरूपी अन्धकार हटाएका, भगवान् पशुपतिनाथको पाउको अनुग्रह पाएका, गाथमा आराम रहेका श्री विष्णुगुप्तले पछि हुने नेपालका राजालाई यथोचित सम्मान गरेर बाटो देखाउनुभएको छ भनी लेखिएको छ । भगवान् विष्णुको जलशायी मूर्ति बनाउनलायकको ठूलो ढुङ्गा तानेर ल्याउने कामले खुसी भएका हामीबाट दक्षिणकोलीग्रामको यस सीमाभित्र बस्नेलाई कल्ली, बाजु, पाउजेबलाई छाडेर अरू गहना लाउन पाउनेगरी निगाह गरियो, यस ठाउँमा बस्ने जसलाई पहिले नै गहना लाउन हुनेगरी निगाह गरिदिएको थियो, तिनलाई हामीबाट गरिएको यो बढी निगाह हो भनी त्यस शिलालेखमा लेखिएको छ । त्यसपछि यस इलाकामा बस्ने जसले चोरी गर्नु, अर्काकी स्वास्नी हर्नु, ज्यान मार्नु, राजद्रोह गर्नु यी अपराध गर्लान्, यी अपराधद्वारा दोषी ठहरिएका तिनको आफ्नै अंशको घरखेत, गाईबस्तु आदि सम्पत्ति मात्र राजदरबार लाग्नेछ, यी अपराधद्वारा दोषी ठहरिएका तिनका अंशियारहरूबाट अलिकता पनि जबरजस्तीसँग लिइने छैन भनी त्यस शिलालेखमा लेखिएको छ । यसैगरी, सुनागुठी भृङ्गारेश्वर महादेव मन्दिरसामुन्ने रहेको भीमार्जुनदेव र विष्णुगुप्तको वि.सं ६९८ को शिलालेखमा पोखरीमा शेषनागको भीडमा सुतेका विष्णुले सधैँ दिव्य सुख दिऊन् भनी लेखिएको छ । त्यस शिलालेखको निकै भाग फुटिसकेको हुनाले सबै कुरा स्पष्ट हुँदैन तापनि भृङ्गारग्रामका दुनियाँले मूर्ति बनाउनलायक ढुङ्गा तानेर ल्याउने काम गरेका हुनाले उनीहरूलाई करमा छुट दिनुको साथै दन्डसम्बन्धी कुरामा पनि दक्षिणकोलीग्रामका बासिन्दालाई दिएजस्तै सुविधा दिएको कुरा परेको छ । यी दुवै शिलालेखमा युवराजका रूपमा विष्णुगुप्तका छोरा श्रीधरगुप्त छन् र भीमार्जुनदेवलाई नाम मात्रको राजा बनाई विष्णुगुप्तले शासन गरिरहेका थिए भन्ने स्पष्ट हुन्छ । यी दुवै शिलालेखका आधारमा पनि बूढानीलकण्ठको मूर्ति विष्णुगुप्तले बनाउन लाएका हुन् भन्ने देखिन्छ र अहिलेभन्दा करिब पौने १४ सय वर्षअघि त्यो मूर्ति बनेको हो भन्ने स्पष्ट हुन्छ ।
यङ्गालहिटीको अभिलेखमा आएको दक्षिणकोलीग्रामका जनतालाई केही गहना लाउन पाउने अधिकार दिएको कुराले लिच्छवीकालमा जनताले सबै गहना लाउन पाउँदैनथे भन्ने स्पष्ट हुन्छ । मल्लकालका ठ्यासफुमा राजाले आफ्ना मन परेका मानिसलाई सुनका बाला लगाइदिएको वर्णनलाई महत्वपूर्ण ढङ्गले टिपिएको पाइन्छ । त्यसैगरी, केही कालसम्म काठमाडौँमा पूरा हर्ताकर्ता भएर बसेका चौतारा लक्ष्मीनारायण जोशी दुवै हातमा सुनका बाला लाएर बस्थे भन्ने बयान ठ्यासफुमा पाइएबाट पनि त्यसबेला सुनको गहना लाउने अधिकार सबैलाई हुँदैनथ्यो भन्ने देखिन्छ । यस अनुमानलाई गोरखाका राजा राम शाहले बनाएको स्थितिमा सुनका गहना महारानीले पाउमा पैतनू, सुन विष्णुको अङ्ग हो, राजा पनि विष्णुको अङ्ग भएकाले त्यसैको नाताले महारानीले लाउन पाएको हो, राजाका दाजुभाइखलकले राजाबाट निगाह भएमात्र पाउमा लाउनू, अरू जातले त राजाबाट निगाह भए हातमा लाउनू, पाउमा नलाउनू भनी लेखिएबाट बल मिल्छ । राणाकालसम्म पनि सर्वसाधारणले सुनको कल्ली लाउन पाउँदैनथे । नगिचैको यो कुरा धेरैलाई थाहै छ । यसरी बूढानीलकण्ठको मूर्ति निर्माणको प्रसङ्गमा आएको यस कुराले नेपालको गहनासम्बन्धी संस्कृतिको एउटा पक्षलाई पनि प्रकाशमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार