दुई रुपियाँमा फुलेको सपना

khusenichho chamling‘दुई कक्षामा पढ्थेँ । शिक्षकले गीत गाउन लगाउनुभयो । सहर्ष स्विकार्दै मैले गीत गाएँ,’ मैतीदेवीमा भेटिएकी खुसेनिछो चाम्लिङले भनिन्, ‘गीत गाउँदा शिक्षकले दुई रुपियाँ दिनुभएको थियो । एक रुपियाँको डटपेनको रिफिल किनेँ । बाँकी रुपियाँले कापी हो कि बलगम किनेर खाएँ, बिर्सें ।’

दुई रुपियाँ पाएपछि गायिका खुसीनिछो उत्साहित भइन् । उनले पढाइ र गायन सँगसँगै अगाडि बढाइन् । चार कक्षा पुगेपछि उनले गीत गाउन छाडिन् । घाँस, दाउरा, गोठाला, खेताला जाँदासमेत गुनगुनाउने उनले गीत गाउन छाडेपछि नाच्न थालिन् । चारदेखि आठ कक्षा पुग्दासम्म उनले नाच्न थालिन् ।

आठ कक्षा पुगेपछि उनले नाच्न छाडिन् । उनले फेरि गीत गाउन थालिन् । रेडियो नेपालबाट प्रसारित गीत सुन्न उनले छुटाउँथिनन् । भनिन्, ‘अनि थालेँ नि गीत, गजल र मुक्तक लेख्ने ।’ अब गायिका खुसेनिछो आफैंले लेखेको गीत गाउन थालिन् । उनको सपना–जपना नै गीत गाउनुमात्रै थियो । सपनामा समेत उनले गीत गाएको देख्न थालिन् ।

पढाइभन्दा गीत गाउन मन पराउने उनले पढाइलाई समेत निरन्तरता दिइन् । गीत गाउने र लेख्ने दुवै कामले प्राथमिकता पाउन थाल्यो । गाउँदेखि टाढाटाढासम्म पुुगेर उनले गीत गाउन थालिन् । सुन्नेले उनको गायकीपन मन पराए । गायिका खुसेनिछो चाम्लिङको सांगीतिक यात्रा गोरेटो राजमार्ग बन्दै गएको छ । छोरीको लोभलाग्दो प्रगति देखेर उनको बुवाआमाले कम्ती खुुसी लागेको छैन रे । आफ्नो सांगीतिक प्रगतिप्रति आफूलाई समेत सन्तोक लागेको उनले बताइन् ।

एकलव्य साधनाले खुसेनिछोको सांगीतिक यात्रा उकालो लागिरहेको छ । जसको दसी प्रमाण हो उनीद्वारा स्वरबद्ध गीतिएल्बम ‘भेट भयो माया’ । भेट भयो माया पूर्वेली लोकजुहारी गीतिएल्बम हो । यो गीतिएल्बममा खुसेनिछो चाम्लिङ र भूमिराज राईको आवाज रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार