सम्पन्न बन्दै महाकाली नदीपारिका नगरवासी

शेरबहादुर सिंह

 

धेरैले अझै पनि पश्चिममा महाकाली नदीलाई नेपाल–भारतको सीमा नदी मान्छन् । तर, कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमा मान्नुभयो भने त्यो अन्याय हुन्छ । कारण महाकाली नदीपारिको दोधारा–चाँदनी भएर बग्ने अर्को नदी जोगबुढाभन्दा पनि केही परसम्म नेपाली बस्ती छन् । जहाँ प्रदेश नम्बर ७ कै सुख्खा बन्दरगाह निर्माणप्रक्रिया अघि बढाइएको छ ।
संवत् २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ । झन्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन । ०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो ।
“झोलुङ्गे पुल बन्नुअघिसम्म मैले २० वर्ष महाकाली नदीमा किस्ती चलाएर स्थानीयलाई ओहोर–दोहोर गराएँ,” महाकाली नगरपालिका–४ का ६८ वर्षीय भीमबहादुर सिंहले भने, “अहिले त विकासक्रम अन्य नगरपालिकाको भन्दा यहाँ बढी नै भइरहेको छ ।” स्थानीय तहको निर्वाचनमा वडा सदस्यसमेत निर्वाचित भएका सिंहले प्रतिव्यक्ति पाँच लिएर वर्षात्को समयमा यात्रुहरू ओसारेको विगत सुनाए । “अहिले भन्दा कथाजस्तो लाग्छ,” ०३३ मा बाजुराबाट बसाइँ सरी दोधारा–चाँदनी आएका सिंहले भने, “कैयन रातहरू वर्षात्मा घर छाडेर अग्लो गाउँमा बितायौँ ।”
०२२ देखि दोधारा–चाँदनीमा बसोबास रहे पनि ०६० पछि मात्रै यहाँ विकासले गति लिएको उनको भनाइ छ । “भारतीय सीमावर्ती सहर वनबासामा कुटानीपिसानी गरेर भोक टाथ्र्यौं,” उनले भने, “वनवासा पुलमा आवातजावत गर्दा भारतीयबाट धेरै हेपाइ थिचाइ हुन्थ्यो ।” आफ्नै भूमिमा जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता पनि झोलुङ्गे पुल बनेपछि हटेको उनले बताए । “वारि ओदालीमा किस्ती (डुंगा) मा यात्रु लिएर नदी तर्दा करिब पाँच किलोमिटर तल गएर दोधारातर्फ ओर्लिने गथ्र्यौं,” सिंहले भने, “एकपटक ४० क्वीन्टलसम्म किस्तीमा तार्न सकिन्थ्यो ।”
त्यो बेला दोधारा–चाँदनीवासीको सहजताका लागि दुई किस्ती महाकालीमा चल्ने गरेको सिंहले जानकारी दिए । “हिउँदमा नदीमा पानी नहँुदा पैदल हिँडेर ओहोदोहोर गर्ने गरेका थियौँ,” उनले भने, “अब निर्माणाधीन चार लेनको पक्की पुल बने यहाँको स्वरूप नै परिवर्तन हुन्छ ।” पुल बने नेपाल–भारतको व्यापारिक नाकाका रूपमा पश्चिमी नाका विकास भएसँगै त्यसको सबैभन्दा बढी फाइदा दोधारा–चाँदनीवासीलाई नै पुग्नेमा दुविधा छैन ।

पुलको निर्माण थालिएसँगै दोधारा–चाँदनीमा जग्गाको कारोबारसमेत बढेको स्थानीयको भनाइ छ । प्रदेश नम्बर ७ को सुख्खा बन्दरगाह पनि महाकाली नगरपालिका–७ कञ्चनभोजमा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सुख्खा बन्दरगाहसँगै महाकालीको चार लेनको पुल, एसियाकै दोस्रो लामो झोलुङ्गे पुल दोधारा–चाँदनीका समृद्धिका ढोका हुन् ।
“अहिले त स्वर्गजस्तै बन्दै छ, दोधारा–चाँदनी,” बझाङबाट ०२२ मा बसाइँ सरी महाकाली नगरपालिका–२ आएका ७० वर्षीय उजेली दमाईंले पनि विगतका कष्टकर दिन सम्झँदै भनिन्, “पूरै जंगल र झाडीमात्रै थियो । अहिले जताततै विकास भइरहेको देख्दा खुसीको सीमा नै छैन ।” किस्तीमा जोखिमपूर्ण यात्रा गर्दा पूर्णागिरि माताको नाम लिएर विगतको यात्रा गरेको उनले सुनाइन् । “गाउँमा अरूको घर हेर्नुपरे रूखमा चढेर छिमेकीको घरको उज्यालो देखिन्थ्यो,” उनले थपिन्, “अहिले तर घर–घरमा पक्की सडक पुग्दै छन् ।”
झोलुङ्गे पुलले स्थानीयलाई आवागमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने दोधारा–चाँदनी पछिल्ला निर्वाचनमा चुनावी प्रचारको प्रमुख गन्तव्य बन्ने गरेको छ । २२ हजार मतदाता रहेको महाकाली नगरपालिकाबाट प्रदेश नम्बर ७ को प्रदेशसभा सदस्यमा दोधारा–चाँदनीकै मानबहादुर सुनार निर्वाचित हुँदा उच्च राजनीतिक तहमा प्रतिनिधित्व पाएको स्थानीयको बुझाइ छ ।
महाकाली नगरपालिकामा स्थानीय वीरबहादुर सुनार नगरप्रमुख रहेका छन् । दोधारा–चाँदनीमा बस्ती बस्दादेखि नै भारतीय नोटको बढी कारोबार हुने गरेको उजेली दमाईंको भनाइ छ । “पछिल्ला वर्षहरूमा त नेपाली नोटको कारोबारले प्राथमिकता पाएको छ,” उनले भनिन्, “तर, नेपाली नोट दिए पनि भारतीय मूल्यमै कारोबार भने यथावत् छ ।”
महाकाली नगरपालिकामा केही वर्षयता पक्की सडक, खानेपानी, पुल निर्माणलगायत पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । “एउटा मलेरिया नालामा मात्रै नौ पुल बन्दै छन्,” स्थानीय भीमबहादुर सिंहले भने, “व्यापारिक ‘हब’ बन्ने भएपछि यहाँ बाहिरबाट समेत जग्गा खरिद गर्न दिनहुँ आइरहेका छन् ।”
कुनै समय भारतीय सीमावर्ती बजार वनबासा र खटिमाको भरमा दोधारा–चाँदनीवासीको दैनिकी चल्ने गरेको भए पनि सुरक्षा निकाय, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र र स्कुल खुलेको उनले बताए । दोधारा–चाँदनीमा सिँचाइका लागि पनि नहर निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ ।
महाकाली नगरपालिका–७ स्थित बाबाथाम बजार व्यवस्थापन समिति सचिव मानबहादुर ओलीले दोधारा–चाँदनीमा खानेपानी, सडक पूर्वाधार, सञ्चार, शिक्षालगायत सबै पूर्वाधार पुगिसकेको बताए । ०३० मा सुर्खेतबाट आएका ओलीले दोधारा–चाँदनी समृद्धितर्फ दु्रत गतिमा अघि बढिरहेको बताए । सडक डिभिजन कार्यालय कञ्चनपुरले महाकाली नगरपालिकामा चालु आवमा चार सडक कालोपत्रे र आधा दर्जनभन्दा बढी पुल बनिरहेको जनाएको छ । साबिक दोधारा र चाँदनी गाविस मिलेर बनेको महाकाली नगरपालिकामा बैतडी, दार्चुला, बझाङ, बाजुरा, दैलेख र सुर्खेतबाट बसाइँ सरेकाको बसोबास बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार