सुबेदारको शान : समाजसेवामा समर्पण

पदम माबो

म क्याप्टेन खेमाहाङ मादेन एमभीओ हुँ । बुवा प्रहरी हवल्दार भीमबहादुर मादेन गोदवा । मेरो जन्म संवत् २००९ भदौ १८ गते ताप्लेजुङमा भएको हो । तर, मेरो बाल्यकाल दार्जिलिङ र सिक्किमतिर बित्यो । मैले जिजुबराजु करवीरद्वारा निर्मित पाटीको स्कुल (धर्मशाला) मा साँवाअक्षर पढेको हुँ । त्यो पाटी लगभग ३५० वर्ष पुरानो हो । त्यसैले त्यो जीवित इतिहास हो । त्यसरी पढाइ सुरु गरेको मैले भानु माविबाट ०२७ मा म्याट्रिक पास गरँे ।
बुवा नेपाल प्रहरीमा सेवारत हुनुहुन्थ्यो । त्यसैले मलाई पनि पल्टनतिर (सुरक्षा क्षेत्रमा) लाग्न सहज भयो । म सन् १९७२ मा पल्टन (ब्रिटिस आर्मी) प्रवेश गरी २८ वर्ष सेवा गरेर सुबेदार पदमा पेन्सन आएँ । घोपा क्याम्पमा ब्रिटिस छनोटपछि कलकत्ता ट्रान्जिट क्याम्पमा रमाना गरियो । केही दिनपश्चात् एयर इन्डियाद्वारा हङकङको काइटाक एयरपोर्टमा अवतरण हुँदा जीवनमा पहिलोपटक गरेको हवाईजहाजयात्रा अझै बिर्सेको छैन । किनभने त्यतिखेर अत्यन्त उत्साह र खुसी लागेको थियो । हङकङमा त विशाल समुद्र, भीरपहराभन्दा अग्लाअग्ला घर,

नौलो वातावरण, सेक्कङ क्याम्प

(तालिम केन्द्र) सम्म मिलिट्री बसको यात्रा साँच्चिकै रोचक लागेको थियो ।
हङकङ पुगेको भोलिपल्ट नै हामीलाई सेक्सन, प्लाटुन र विङमा विभाजन गरियो । सेक्सन लेभल ट्याक्टिस, ड्रिल, स्वीमिङ, एजुकेसन, सुटिङ, स्पोर्टस् र प्लाटुन लेभल ट्याक्टिस हुँदै ६ महिना लामो तालिम समापन पासिङ आउट परेडद्वारा भयो । तालिमको समयमा प्लाटुन सार्जेन्टको एप्वाइन्टमेन्ट प्राप्त हुँदा बेग्लैप्रकारको अनुभव भयो ।

सेभेन जीआर प्रवेश

सात महिना लामो हङकङको प्रचण्ड गर्मी र जाडोको सुरुवातसँगै मेरो प्यारेन्ट युनिट सेभेन जीआरलाई हरप्रकारका अवस्थामा साथ दिन मलाई नोभेम्बर सन् १९७२ मा युनाइटेड किङडम (युके) गएँ । पल्टन युकेमा क्वीन एलिजावेथ बीकेएस, चर्च क्रुखाम अल्डरसटमा स्टेसन थियो । बटालियनमा प्रवेश गरिसकेपछि मात्र प्रमोसनका कुरा, पदोन्नति हुँदै गएमा नोकरी पनि लम्बिँदै जाने, खाने, बस्ने व्यवस्था नै उच्च किसिमको हुने रहेछ ।
अनुशासनका साथै सैनिक शिक्षा, मानसिक शिक्षा, चारित्रिक पद्धति, दन्ड आदि जुनियर क्लास, सिनियर स्टेज तथा अफिसर लेभलमा ब्रिटिस स्ट्यान्डर्डको क्याडर, लेक्चर, एजुकेस कोर्समा लेन्थ अफ सर्भिसको अनुपातमा सफलता हासिल गर्दै जानुपर्ने रहेछ । मैले सबै परीक्षा पूरा गर्दै लगेँ । अनुशासनको चरण ज्यादै जटिल भए पनि पास गरेको थिएँ । त्यसैले सुबेदारसम्म भएँ । यो सत्ताइस, अठाइस वर्ष लामो कठोर परिश्रम, जोखिम र अनुभवको गाथा हो जस्तो लाग्छ ।
फौजी जीवनको रोचक प्रसंग भनेको बकिङ्घम प्यालेस (बेलायतको राजदरबार) मा बेलायतकी महारानी हर मेजेस्ट्री क्वीन एलिजावेथ द्वितीयको अफिसियल फङ्क्सनसमा क्वीन्स गोर्खा अर्डर्ली अफिसरको जिम्मेवारी प्राप्त गर्ने अवसर पाएँ । यो प्रथा संवत् १९३३ बाट क्वीन भिक्टोरियाको पालादेखि प्रारम्भ भएको हो । उपर्युक्त पोस्टमा ड्युटी गर्न विशेष उच्चस्तरको अफिसरको छनोट ब्रिगेड अफ गोर्खाका अफिसर्समध्येबाट हुन्छ । एक वर्ष लामो जिम्मेवारीलाई सफलतासाथ पूर्ण गरिसकेपश्चात् हर मेजेस्टी क्वीन एलिजावेथ सेकेन्ड, हर मेजेस्टी क्वीन एलिजाबेथ द्वितीयको बाहुलीबाट मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर पदकद्वारा विभूषित पनि गरिन्छ ।
पालेस ड्युटीबाहेक फुर्सदको समयमा इस्ट इन्डिया कम्पनीको ब्रिटिस इन्डियन फौजसँग पीएम भीमसेन थापाले कलुंगाको संघर्षमा देखाएको अत्यन्त साहसिक, कठोर, मातृभूमिप्रतिको सेवा एउटा नमुनाका रूपमा आज पनि प्रज्वलित रहेको छ । त्यस्तै १८१४, १८१६, १८५७ डब्लुडब्लु प्रथम र डब्लुडब्लु द्वितीयमा पुर्खाले आफ्नो ज्यानको बलिदान गरेर जगेडा गरिराखेका इतिहासका आलो दस्तावेजको अध्ययन गर्न पाउँदा हाम्रा अग्रजलाई सेल्युट गर्छु । समग्रमा च्यारिटी एन्ड सोसल सर्भिस नै सबैभन्दा उत्तम कार्य भन्ने ज्ञान हासिल गर्ने अवसर पनि त्यहीँ प्राप्त भयो ।
पेन्सन आएपछि प्रायः सबै पुनः नोकरीका लागि भागदौड गर्छन् तर म गइनँ । मलाई स्वदेशमै बसेर वंश, जाति र समाज सेवा गर्ने विचार थियो । प्रथमतः हामी (म र मेरो सारथि मेनका) ले फेन्दुवा वंशावली खोज÷प्रकाशनका लागि एक वर्ष दौडधुप गर्यौँ । त्यस कार्यको सफल सम्पन्नतापछि किरात धर्म संरक्षण समिति काठमाडौं उपत्यका समितिको अध्यक्षको कार्यभार तीन वर्षसम्म सम्हाल्ने अवसर पाइयो ।

विवाह र विदेश भ्रमण

मेरो विवाह भुवनसिंह र चन्द्रकला राईकी छोरी मेनकादेवी राईसँग भयोे । विवाहको क्षेत्रमा कल्चर, रिभेरेन्स, ट्र्याडिसन, स्पिरिच्युएल एन्ड अन्डस्र्ट्यान्डिङजस्ता शब्दमा आधारित सिद्धान्तलाई अनवरत व्यवहारमा परिणत गर्न सके जीवन साँच्चै ईश्वरको वरदानस्वरूप हिमालजस्तै स्वच्छ, समुद्रजस्तै विशाल सुखमय, प्रेमिलो र आनन्दपूर्ण हुन्छ ।
विदेश भ्रमणबारे फौजमा सेवारत रहँदा हङकङ, युनाइटेड किङडम, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्वीट्जरल्यान्ड, ब्रुनाई, सिंगापुर, मलेसिया, साउथ कोरिया, न्युजिल्यान्ड, फकल्यान्ड तथा युरोपलगायत ३७ बढी मुलुकमा सेवामार्गी एवम् भ्रमण गर्ने अवसर पाउनु जीवनको एक महत्वपूर्ण उपलब्धि ठानेको छु ।

युद्धको अनुभव

म फल्कल्यान्डको युद्धमा परेँ । हाम्रो पल्टन युकेमा छँदा फाइभ एअर बर्न ब्रिज ९द्दरघ उबचब चभनत ं ठ न्च्० सँग कार्यरत थियौँ । फाइभ एअर बर्न ब्रिजको मिसन भनेको संसारको जुनसुकै भाग ब्रिटिस क्राउनलाई बचाउन र सुरक्षा जस्तोसुकै मूल्य चुकाउनुपरे पनि तयार रहनुपर्ने जिम्मेवारी त्यसको थियो । समर १९८२ मा अर्जेन्टिनाले फल्कल्यान्डमा हस्तक्षेप गरेको खबरले सञ्चारजगत्मा ठूलै खैलाबैला मच्चाएको थियो । पहिला सुन्दा त मलायाको संग्रामजस्तै होला भन्ने लागेको थियो । फकल्यान्ड कता पर्छ भनेर ठम्याउन नै धेरै समय लाग्यो । हाई लेभल डिप्लोमेटिक संवाद चलेको जानकारी थियो, कारण गोर्खाजका निम्ति यो ठूलै धर्मसंकटको घडी थियो । साउथ एट्लान्टिक पृथ्वीको दक्षिणी गोलाद्र्धमा अवस्थित इलाका अत्यन्त एक्स्ट्रिम मान्न सकिन्छ । टेम्परेचर सधैँ माइनस जिरो डिग्री, नयाँ टोपोग्राफी युकेदेखि ७,५०० माइल को दूरीमा, त्यतिमात्र होइन, बटालियनबाट दुई कम्पनी युके बाहिर एक्सरसाइजमा थिए, टाइम फ्याक्टर साथै पोलिटिकल अन्डरस्ट्यान्डिङ इत्यादि । हामी भने १२ मे, १९८२ को दिन पोर्ट साउथ हाम्सटनमा पानीजहाजबाट गयौँ ।
८÷९ जुनको कुरो हो । ब्रिगेड लेभलको तारतम्य मिलेकै कारण हुन सक्छ, हामी हेलीद्वारा फिटरोय इलाका अर्थात् दुस्मनको नजिक बढ्दै थियौँ । यो अवस्था निकै जोखिमपूर्ण थियो । इनिमी एअर थ्रेट हाई त थियो नै तर काउन्टर एयर मिजरको हाई लेभलमा तालमेल नमिल्नु र कम्युनिकेसन ग्याप भएकै कारण हुन सक्छ, हाम्रो पक्षको सर फिस्ट्रोम र गलाहाद पानीजहाजलाई दुस्मनको फाइटर एयरक्राफ्टद्वारा चढाइ गरेको दुःखद दृश्य देख्न पर्यो । यो जंग केवल ७÷८ सेकेन्डको मात्र थियो तर क्षति बियोन्ड प्रेडिक्सन, एयर एट्याकको लक्ष्य नै यस्तै हुन्छ । भाग्यले हामीलाई त्यस्तो क्षति पुर्याएन । युद्ध पनि टुंगियो ।

संग्रहालयबारे

०६९ असार ३० गते शनिवारका दिन हामीले एउटा सानो कोठालाई संग्रहालयको नामकरण गरी उद्घाटन गरेका छौँ । तर त्यहाँ हुनुपर्ने, राखिनुपर्ने हाम्रा पहिचान, ऐतिहासिक, सांस्कृतिक अस्तित्वका सामग्री लि, खो, ठिङ्गुरा, मुङ्गुरा, नेगरा निसानी, फेजा, खुर्मी, हाम्रा २५ हाते मुन्धुम, ताम्रपत्र १८१४, लालमोहर १८३१ साथै याक्थुङ पुर्खा तथा समुदायद्वारा प्रयोग गरिएका १००, २००, ३०० वर्ष पुराना हाम्रा घरघरानामा भए रहेका सामग्री कियाचु ललितपुर जिल्ला समितिलाई (सी÷ओ कोषाध्यक्ष डब्लु ओटु अगेन्द्रबहादुर वनेम लिम्बू) प्रदान गर्नुभएमा सौजन्यकर्ता, दाता वा संकलक पुस्तौँ पुस्तासम्म अमर रहनुहुनेछ । उपर्युक्त दूरदर्शी, दानी अग्रज व्यक्तित्वका प्रेरणादायी कार्यदक्षताउपर भावी पुस्ताले सेल्युट गर्नेछन् । त्यतिमात्र कहाँ हो र, परिवार, वंश एवम् याक्थुङ समुदायको इतिहासका पानामा सुनौलो अक्षरले नाम सदासदाका लागि लिपिबद्ध गरिनेछ । इतिहास हामी आफैँले लेख्नुपर्छ । हाम्रो प्रयास यही हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार