दमदम दमाहा

शेरबहादुर सिंह

 

तीस वर्षीय नरेश दमाई शनिबार दमाहा बजाउँदै गर्दा बुबा ७३ वर्षीय करवीरराम दमाईसँग भीमदत्त नगरपालिकाको निङ्लासैनी मन्दिर परिसरमा भेटिए । चैत्र शुक्ल अष्टमी शनिबार कञ्चनुरको भीमदत्त नगरपालिका–१८ स्थित निङ्लासैनी भगवती मन्दिरमा भक्तजन पूजाअर्चना गर्दै बलिका लागि तयारी गरिरहँदा वेदकोट नगरपालिका–७ गाउँजी नरेश दमाईका बुबा–छोरा भने दमाहा बजाउन व्यस्त थिए ।
युवापुस्तामाझ लोप हँुदै गइरहेको दमाहा बजाउने परम्परा भने दमाई समुदायले चार पुस्तादेखि निरन्तरता दिँदै आइरहेको बताएका छन । “बाजे नरुवा दमाई पनि पहाड घर बैतडीको निङ्लासैनीमा चाडबाडका बेला दमाहा बजाउँथे,” करवीरराम दमाईले भने, “अहिले बसाइँ सरेसँगै छोरो नरेश पनि एक दशकदेखि दमाहा बजाउन सक्रिय छ ।” उनले बुवा बलिराम दमाईले पनि लामो समय दमाहा बजाएको बताए । “मैले पनि दमाहा बजाउन थालेको ६ दशक भइसक्यो,” उनले भने, “दमाहा बजाउँदाको रौनक यहाँभन्दा पनि पहाडमा देखिन्छ ।”
प्रदेश नं ७ मा खासगरी पहाडी जिल्लामा दमाहा बाजाको छुट्टै मौलिक एवम् धार्मिक महत्व रहेको करवीरराम दमाईले बताए । “पुर्खाले बजाउँदै आएको परम्परागत रीतिलाई निरन्तरता दिन देवालयमा चाडबाडका बेला मात्रै दमाहा बजाउन आउँछौँ,” उनले भने, “देउताप्रतिको आस्थाले बाजा बजाउन छाडेका छैनौँ ।”
बैतडी, दार्चुला, बझाङ, बाजुरालगायतका पहाडी जिल्लामा लोकप्रिय बाजा दमाहा संकटमा रहेको उनको भनाइ छ । “मैले पहाड बैतडीमै बाजेबाट दमाहा बजाउन सिकेको थिएँ,” दमाईले भने, “दमाहा बजाउन चाडबाडका बेला बोलाउनेले परिश्रमअनुसारको रकम दिन्छन् ।” सुदूरपश्चिमको कला संस्कृतिसँग जोडिएको दमाहा बाजा संरक्षण अहिलेको आवश्यकता रहेको उनको बुझाइ छ । देवीदेवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, व्रतबन्धजस्ता शुभकार्य गर्दा दमाहा बाजा प्रचलन रहिआएको भए पनि पछिल्ला वर्षमा देवालयमा मात्रै यसको प्रयोग भएको देखिन्छ ।
अरू बेला सिलाइ–कटाइको काम गर्ने दमाईका बुबा–छोरासँगै उनका इष्टमित्र र आफन्तसमेत पूजाका बेला दमाहा बजाउन सामेल हुने गरेका छन् । “बुवा र म लामो समयदेखि सिलाइ–कटाइको काम गरेर परिवारको खर्च चलाएका छौँ,” नरेशले भने, “दमाहा बजाउन मन्दिर पस्दा आत्मसन्तुष्टि मिल्ने गर्छ ।”
बालीघरे प्रथाका रूपमा दमाई जातिले दमाहा बजाएबापत अनाज लिने परम्परा रहेको थियो । यहाँ जिल्लापिच्छे दमाहा बजाउने हातको तालमा भने फरक–फरक हुने गरेको उनले बताऐ । “समूहमा बजाउने दमाहामा पाँचदेखि १० जनासम्म पनि हुन्छन्,” उनले भने, “दमाहा बजाउन मौलिकताको सुगन्ध फैलिन्छ ।” कला संस्कृतिको संरक्षण गर्ने निकायले दमाहाको संरक्षणका लागि जोड दिनुपर्ने बताए ।
“यसलाई कसरी संरक्षण गर्ने भन्नेमा चिन्ता व्यक्त गर्नुपर्नेबेला आएको छ,” उनले भने, “बेवास्ता भइरहे कुनै दिन दमाहा बजाउने खोज्दा पनि नभेटिन सक्छन् ।” दमाहा बजाउँदा जातीय विभेद नरहे पनि युवापुस्ता बजाउनतर्फ आकर्षित हुन नसकेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार