चन्दा मागेरै ७९ वर्षीय शेर्पाद्वारा ३३ वर्षदेखि बाटो निर्माण

भोजराज कार्की

‘असी पुगी बसी खाने’ उमेर । प्रचलित नेपाली उखानले माप्य दूधकोसी गाउँपालिका काँकुका ७९ वर्षीय पासाङ शेर्पासँग मेल खाँदैन । शेर्पा ३३ वर्षदेखि नाम्चेमाथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके । केश फुलिसक्यो । तर, जोश–जाँगर भने १६ वर्षे जवानजस्तै छ ।
आँखा राम्रो देख्दैनन् । कानसमेत सुन्न मुस्किल पर्छ । तर, उनी बाटोमा बसेर चन्दा माग्छन् । संकलिति रुपैयाँ बाटो निर्माणमा खर्चिन्छन् । पैदलयात्रीबाट चन्दा मागेर ३३ वर्षदेखि बाटो निर्माणमा निरन्तर लागिपरेका छन् । दह्रो उभिन नसक्ने अवस्थामा समेत उनी बाटो निर्माणमा जुटिरहेका छन् ।
जिल्लाको माथिल्लो क्षेत्र खुम्बु विकासमा शेर्पाको महत्वपूर्ण योगदान रहेको छ । एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिँड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै नथाकेका उनले सरकारलाई चुनौती दिएका छन । उनी हुन्– पासाङ शेर्पा हो । तर, लामा सेरुको नामले परिचित छन् ।

लामा सेरुले चन्दाबाट संकलित रुपैयाँले दिङ्बोचेदेखि फुगिथेंकासम्म १४ किलोमिटर दूरीको बाटो निर्माण गरिसकेका छन् । ‘फेरिचेदेखि एभरेष्ट बेसक्याम्पसम्मको पाँच किलोमिटर बाटोसमेत बनाइसकें । हिजोआज नाम्चे–तेङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छु,’ उनले भने, ‘यो बाटोको दूरी २० किलोमिटर छ । बाटो निर्माण पूरा गर्न दुई किलोमिटरजति होला । २०७५ वैशाखभित्र सकिन्छ होला ।’
‘बुढेसकाल लागे पनि मेरो तन र अभियानले बुढेसकाल लाग्यो भन्दैन,’ शेर्पाले भने, ‘एक मुट्ठी सास रहुन्जेल बाटो बनाउने काममा खट्छु ।’ लुगाफाटा मैलो देखिन्छ । देखिनेगरी बाटोमा चन्दा बाकस राखेका छन् । बाटो हिँड्ने जोसुकैलाई सकेको सहयोग माग्नु उनको दिनचर्या बनेको छ । उनले मागेर अरूकै लागि काम गरिरहेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर बाटो निर्माणमा लागेका उनले केही वर्षयता भने दुईजना मानिस राखेर काम गराउँदै आएका छन् । उनीहरूले बाटो खनेबापत पारिश्रमिक पाउँछन् । दुईजनालाई दिने पारिश्रमिकसमेत चन्दाबाट उठेको रकम हो । सर्वाेच्च शिखर सगरमाथा क्षेत्रमा सालिन्दा हजारौँ पदयात्री र आरोही जान्छन् । सोही बाटो भएर जाने पर्यटक र पथप्रदर्शकको स्वेच्छिक सहयोगले बाटो बनाउने काम सफल बन्दै गएको छ । शेर्पाले भने, ‘मेरो आफ्नो गुजारा पनि यही हो । काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट जुटाएको छु । म रकम हिनामिना गर्दिनँ । सबै बाटो बनाउन खर्च गर्छु ।’

कालो ज्याकेट लगाउने पछाडिपट्टि विश्वासदीप तिगेला ।

शेर्पाले अहिलेसम्म २० किलोमिटर ट्याक्सी गुड्ने बाटो र १६ चौतारासमेत बनाइसकेका छन् । ‘पर्यटक भरियाका लागि ठाउँठाउँमा बिसाउन मिल्ने चौतारा निर्माण गरेको छु,’ उनले गर्व गरे, ‘मैले पनि भारी बोकेर जाँदा बिसाउने ठाउँ कहाँ पाइन्छ भन्ने लाग्थ्यो । त्यही भोगाइले सबैलाई सहज होस् भनेर चौतारा निर्माण गरेको हुँ ।’ बाटो, चौतारा निर्माणकार्यमात्रै नभई उनले धर्मकर्ममा समेत ध्यान दिएको पाइन्छ । ‘सोही क्षेत्रमा २५ लाख रुपैयाँबराबरको लागतमा मानेसमेत निर्माण गरेको छु,’ उनले थपे, ‘सरकारले हेर्नुपर्ने यस क्षेत्रमा कसैले पनि हेरेनन् । अझै पनि हेर्लान् भन्ने लाग्दैन ।’

पर्यटन व्यवसायी तथा दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय विश्वकर्मा (मिघिरे) भन्छन्, ‘मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाइएको छ । उहाँजस्तो विकासप्रेमी वृद्धसँग शंका गर्न आवश्यक छैन ।’

सालिन्दा सगरमाथा आरोहणबापत करोडौं शुल्क संकलन हुन्छ । तर, यस क्षेत्र विकासका लागि राज्यको लगानी गरेको छैन भन्दा हुन्छ । वर्षमा दुई सिजनमा सगरमाथा आरोहण हुने गरेको छ । एकै सिजनमा हजारौं स्वदेशी तथा विदेशी पर्यटक खुम्बु पुग्छन् । ट्रेकिङ गाइड चूडामणि केसीले भने, ‘खुम्बु क्षेत्रको बाटो बनाएर पर्यटन तथा सगरमाथा पुग्ने आरोहीलाई सहज बनाउने काम पासाङ शेर्पाले नै गरेका हुन् । सरकारले उनको योगदानको कदर गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार