म बाइक किन्दिनँ

बुद्धिसागर

आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ । २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ ।’
सत्य हो । एकपटक सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ । कोसिस गरेको भए म लाइसेन्स पनि लिन्थेँ होला । काठमान्डूका थोत्रा सडकमा कुदाउँथे होला । ब्लुबुक र लाइसेन्सको विषयमा ट्राफिकसित झगडा गर्थें हुँला । बाइक जहीँतहीँ बिग्रन्छ भनेर पर्सको भित्री जेबमा पाँच सयको नोट राख्थेँ हुँला । जाम भएको बेला पेटीपेटी कुदाउँथेँ हुँला । कुदिरहेका ठुल्ठूला गाडीबीचको सानो स्पेसबाट फुत्त बाइक अगाडि हुत्याउँथेँ हुँला । घन्टौंदेखि पेट्रोलको लाइनमा उँघिरहन्थेँ हुँला ।
तर, खोइ जब–जब म बाइकको आवश्यकता बोध गर्छु, बाइक किन्ने मनसाय बनाउँछु, कुनै न कुनै घटना भइहाल्छ । दुई वर्र्षअघिको कुरा । साथी उमेश खतिवडासित म अफिस सुन्धारा आइरहेको थिएँ । चर्को घाम थियो । लुखुरलुखुर हिँड्नुपर्दा मन बोझिल पनि भएको थियो । म सोचिरहेको थिएँ, यदि बाइक भएको भए सर्टभित्र बतास कोचेर कुद्न पाइन्थ्यो । उमेश पनि मलाई बाइक किन्न उक्साइरहेका थिए । सायद मेरो बाइक भएको भए उनी पछिल्लो सिटमा टुसुक्क बसेर अफिस आउन पाउँदा हुन् ।
हामी सिंहदबारको फराकिलो पेटी हुँदै भद्रकालीतिर बढिरहेका थियौँ । थोरै गाडी थिए, सडकमा । तर, ती बेस्मारी हुइँकिइरहेका थिए । म बाइककै कुरा गर्दै सडकतिर हेर्दै हिँडिरहेको थिएँ । एउटा बाइक हुइँकिँदै आइरहेको थियो । पछिपछि टाटा मोबाइल । अचानक पछाडिबाट हुत्तिएर आएको टाटा मोबाइलले बाइकको पुच्छरमा सिङ जोत्यो । हावा खुस्किएको गुब्बाराझैँ बाइक उछिट्टियो । र, बाइकसँगै चालक उछिटिए । बाइक त सडकमै खस्यो तर चालक हुत्तिएर सडककिनारमा राखिएको सिमेन्टको ठूलो गमलामा ठोक्किए ।
मैले पहिलोपटक गाडीले यसरी बाइक हिर्काएको देखेको थिएँ । मेरा हातगोडा लुला भए । टाटा मोबाइल घाइतेलाई उठाउनु सट्टा भाग्नलाई मोडिन थाल्यो । त्यहीबेला सिटी बजाउँदै ट्राफिक प्रहरी आइपुग्यो । बल्ल टाटा मोबाइलबाट ड्राइभर र दुई सहयोगी निस्के । र, घाइतेतिर दगुरे । हामी पनि दगुर्यौं । घाइते भुइँमा लतारिइरहेका थिए । मानिस उनलाई बसाल्ने कोसिस गरिरहेका थिए । घाइतेको मुख बन्द थियो । कस्सेर बाँधिएको हेल्मेटको चेपबाट रगतको धारा गालातिर खसिरहेको थियो ।
कत्तिको चोट लाग्यो ? ट्राफिक सोधिरहेको थियो ।
घाइतेको मुख सिलाएझैँ टम्म बन्द थियो । जब उनले मुख खोले– रगतको धारा र भाँच्चिएका दाँत भुइँमा खसे । र, उनी लल्याकलुलुक भए ।
अघि–अघि हिँडिरहेको बाइकलाई बेकाममा हिर्काएर भाग्न खोज्ने टाटा मोबाइलको ड्राइभर छेउमा निर्लज्ज उभिइरहेको थियो । मानिसको भीड बढेपछि उमेश र म अघि बढ्यौँ । लामो मौनतापछि उमेशले मुख खोले, ‘भो यार, बाइक नकिन्नूस् ।’
जब–जब म बाइक किन्ने रहर गर्छु, यस्ता घटना आइपर्छन् । मैले चिनेका बाइकवालामध्ये थोरै होलान्, जसको दुर्घटना भएको छैन । कहिले हात भाँचिन्छ त कहिले खुट्टा । अघिल्लो दिन मज्जाले बिदा भएकाहरू भोलिपटक हातमा प्लास्टर र सुन्निएको गाला लिएर आइपुग्छन् ।
यस्सो हेर्दा लाग्छ– काठमान्डूमा बाइक चलाउनु भनेको जीवनलाई कालो पोलिथिनमा पोको पारेर बाइककै हेन्डिलमा झुन्ड्याउँदै हिँड्नुजस्तै हो । काठमान्डूका सडकमा बाइकल चलाउनु भनेको एकदमै ‘रिस्की गेम’ हो । तैपनि काठमान्डूमा सबैभन्दा सजिलो वाहन बाइक नै भएको छ । र, अधिकांश मानिस बाइकमै यात्रा गर्छन् । यदि काठमान्डूका आकाशेपुलमा उभेर सडकमा हेर्ने हो भने बाइकको समुद्र नै देखिन्छ र बाइक एकले अर्कालाई लखेटेजस्ता देखिन्छन् ।
काठमान्डू हतारको सहर भइसकेको छ । काठमान्डूवासीलाई कत्ति हतार छ ? त्यो जान्न बाइकवालालाई हेर्नुस् । ट्राफिक जाममा शुद्ध बाइक रोकिँदैनन् । ती पेटीपेटी दगुर्छन् र आफ्नो भागमा पेटी परेका पैदलयात्रुको बाटो हडप्छन् । पेटीमै पनि हर्न बजाइदिन्छन् । मलाई लाग्छ– काठमान्डूका पेटीमा हिँड्ने अधिकांश यात्रु केही न केही कुराको झोँकमा हुन्छन् । पहिलो झोँक आफू पैदल यात्रु हुनुपरेकोमा । दोस्रो बेरोजगार होला, तेस्रो अस्वस्थता होला, चौथो बढ्दै गएको मोटोपनको चिन्ता होला, पाँचौं सार्वजनिक यातायातमा झुन्डिएर हिँड्न मन नलागेकाले होला । एकाध रहरले हिँड्ने होलान् । काठमान्डूका सडकमा कहीँ–कतै मात्र पेटी छन् । र, तिनको तीनचौथाइ भाग फुटपाथका पसलले अतिक्रमण गरिसके । एकचौथाइ बाटोमा अनेक तनाव लिएर हिँडिरहेका बेला पछाडिबाट हर्न बजाउँदै आउने बाइकसित कसलाई रिस उठ्दैन ।
एक मित्रले एकपटक भनेका थिए, ‘म गोजीमा पैसा नभएको झोँकमा पेटीपेटी हिँडिरहेको थिएँ । एउटा बाइकवालाले पछाडिबाट हर्न बजायो । मेरो दिमाग फनक्कै घुम्यो । मैले बाइकवालाको हेल्मेटमा मुड्की बजारें । पछि आफ्नै हात दुख्यो ।’
काठमान्डूमा बाइक चलाउनु धेरैसित दुस्मनी मोल्नु हो । ट्याक्सी ड्राइभर आफ्नो सबैभन्दा ठूलो दुस्मन बाइकलाई ठान्छन् । र, चारपांग्रे गाडीका सबै चालक काठमान्डूको जाम केवल बाइकवालाको योगदान हो भनिहाल्छन् । आरोप छ– यस्सो सानोतिनो जाम के सुरु भएको हुन्छ, बाइक चेपचेपबाट छिर्छन् र पाँच मिनेटको जामलाई आधा घन्टाको बनाइदिन्छन् । मलाई केही हदसम्म यो कुरा सत्य लाग्छ । काठमान्डूका बाइकमा ब्रेक नै हुँदैनजस्तो ती कुदिरहन्छन् । तीस सेकेन्ड पनि कुर्दैनन् ।
कुदिरहेका बाइक हेर्दा लाग्छ– पछाडिबाट पृथ्वी भत्किँदै आइरहेको छ र ती ज्यान जोगाउन भागिरहेका छन् ।
र, बाइकको हतार देखेर चारपांग्रेहरू कराइहाल्छन्, ‘सालेलाई कालले लखेटिरहेको छ ।’
आफैंले बाइक चलाउन नसके पनि म कहिलेकाहीँ संयोग पर्दा बाइकको पछिल्लो सिटको यात्रु भएको छु । र, एकाध बाइकमा मात्र सन्तोषको यात्रा गरेको छु । नत्र अधिकांश बाइकचालकको हाँक्ने तरिका देखेर कहिले उत्रिउँजस्तो हुन्छ । मैले भेटेका प्रायः बाइकचालकको एउटै मनोविज्ञान पाएको छु । जब बाइकको तीव्र रफ्तार देखेर डराउँदै ‘स्पीड स्लो गर, डर लाग्यो’ भन्छु, कुनै पनि बाइकको स्पीड स्लो हुँदैन । बाइकचालक झन् स्पीड बढाएर मज्जा लिन्छन् ।
झन् पछाडि लपक्कै टाँसिएर बसेकी युवती भएपछि त बाइकको रवाफै अर्को । ती काठमान्डूको थोत्रो सडकमा बाइक कुदाउँदैनन्, रकेट उठाउँछन् ।

र, पैदलयात्रु र चारपांग्रेको श्राप खान्छन् ।
बाइकवालाका पनि आफ्नै दुःख छन् । थोरै बाइकवाला मात्र बाइक चढेकोमा खुसी होलान् । धेरै ‘नकिनी नहुने भएको भएरमात्र किनेको’ भनेर बर्बराइरहन्छन् । वर्षासम्म बाइक हाँक्दा सिधै असर कम्मरमा पर्दोरै’छ । जाडोमा बाइक हाँक्दा स्याँठ सिधै घुँडा र छातीमा पर्दोरै’छ । भुक्तभोगी भन्छन्, ‘बाइक चलाउँदाको असर ४५ वर्र्ष नाघेपछि देखिन्छ ।’
बतासको कालो धूवाँ, धूलो खाँदै दिनभरि कुदिरहनु सास्ती नै हो । तर, काठमान्डूमा डेरा भाडा तिर्न, भात खान र छोराछोरीलाई पढाउन बाइकवालाले काठमान्डूका सडकमा नकुदी सुख छैन । ठाउँ–कुठाउँ आकाशलाई पखाला लागेजसरी ह्वात्त खस्ने झरी बाइकवालाको दुस्मन नै हो । चाबहिलमा लुछुप्पै भिजेर पुतलीसडक पुग्दा चर्को घाम लागेको हुन्छ । लामो जाम जब खुल्छ, त्यहीबेला बाइक स्टार्ट हुँदैन । असिनपसिन हुँदै किक हानिरह्यो, पछाडिको गाडीको लस्करको गाली खायो । र, ङिच्च हाँस्दै बाइक लतार्यो । दिनभरिलाई मुड अफ ।
बल्लतल्ल किनेको बाइक एक वर्र्ष भा’को छैन, अलिकति उकालो चढ्यो कि घोडाझैँ हिन्हिनाउन थालिहाल्छ । रुन्चे अनुहार लाएर वर्कसप गयो, कम्तीमा पाँच सय डाढिहाल्छ । बाइक किनेपछि पहिलो दिनमै पर्सको चेपगोजीमा पाँच सयको नोट पट्याएर राखिहाल्नुपर्छ । मःमः खान मन लाग्छ– तर ज्यान गए, पाँच सयको छुट्टा गर्नुहुँदैन । मट्टीतेल मिसिएको पेट्रोलले कम्तीमा सातपटक गधाझैँ नहाँसी बाइक स्टार्ट हुँदैन । पछिपछि त त्यस्ले धूवाँको ठूलो मुस्लै फाल्छ । धूवाँको मुस्लो फाल्दै कुद्यो भने समाजको बदनाम मान्छेझैँ छिछि, दुरदुर भइहालिन्छ ।
जेनतेन बाइक कुदाइरह्यो । ठाउँ कुठाउँ ट्राफिकले हात ठड्याउँछ । अनेकथरी गल्ती खोज्छ र चिट काट्छ । दाह्रा किट्नैपर्छ । एडुकेसन बुक हाउसका रमन राउतले एकपटक अमिलो मुख लाउँदै भनेका थिए, ‘हेर्नुस् दाइ, हिजो म पसलबाट घर फर्किरहेको थिएँ । थापाथली चोकमा चेकिङ रै’छ । ट्राफिक्नीले बाटो रोकी र ब्लुबुक मागी । साउको बाइक, मसित फोटोकपी मात्र थियो । ट्राफिक्नीले ओरजिनल ब्लुबुक मागी । मैले भनेँ– यो साउको बाइक हो, ओरजिनल उहाँसितै हुन्छ । म त कामदार, फोटोकपी मात्रै छ । अनि दाइ, त्यसले मलाई रद्दी गाली गर्दै भनी– आफैं बाइक किन्न सकिनस् ?
रमनको भनाइ थियो– किन्न सक्ने भए त कालो सिसा भएको गाडी नै किन्दो हुँ, त्यसले स्यालुट पनि गर्दी हो ।
बाइकवालाका दुःख ।
ट्राफिकसित झगडा गर्दै जेनतेन बाइक कुदाइरह्यो । एक ठाउँ रोकेर राखेको बाइक फर्किंदा भेटिँदैन । चोरले कति बेला हेन्डिल लक शुद्ध खोलेर कुदाइसकेछ । प्रहरीमा निवेदन दियो, बस्यो । बाइक फेरि कहिल्यै भेटिँदैन । बाइकवालाहरू भन्छन्, ‘काठमान्डूमा प्रेमिका बनाउनुभन्दा बाइक किन्न गाह्रो छ । बाइक नभई प्रेमिका हुँदैनन् ।’
कत्ति दुःख गरेर किनेको बाइक गयो । बाइकवालाहरू प्रेमिकाले छाडेर गएभन्दा बढी उदास हुन्छन् । फेसबुकमा ‘मेरो बाइक हरायो’ भनेर लेख्यो, सयौं समवेदना आउँछन् । कसैकसैले त लाइक पनि गरिदिन्छन् । यता उदास भयो, उता बाइक भारत पुगिसकेको हुन्छ ।
मेरा एक मित्र यदुनाथ बन्जाराले ०५८ तिर पत्रिकामा रिपोर्टिङ गरेका थिए– बाइक चोरीबारे । बाइक चोर्नेको समूहमा कम्तीमा तीनजना हुँदा रै’छन् । जब बाइक पार्किङ हुन्छ, पहिलो बाइककै छेउमा बस्छ । दोस्रो छेउछाउका मानिस नियालिरहन्छ । र, तेस्रो बाइकवालाका पछि लाग्छ । बाइकवाला फर्किन लाग्यो भने उसले सिटी बजाउँछ या त जनाउ दिन कुनै न कुनै इसारा गर्छ । अनि उनीहरू आफ्नैझैँ मज्जाले बाइक कुदाउँछन् र लैजान्छन् । र, चोरिएका कति बाइक सग्लै भारत पुग्छन् भने कतिका मोटरमात्र । र, बाइकको मोटर विहारतिर पानी निकाल्ने पम्प बनाइन्छ ।
यदुनाथको रिपोर्टिङको राम्रै चर्चा भएको थियो । तर, त्यसको तीन दिनपछि उनकै बाइक हरायो ।
बाइक काठमान्डूका मध्यमवर्गीय मानिसको वाहन हो । र, सानोतिनो वैभव पनि । अगाडि सानी छोरी र पछाडि श्रीमती बोकेर कहिलेकाहीँ नगरकोटको लोकल कुखुरा र ककनीमा ट्राउट माछा खान हिँडेका बाइकवाला जति खुसी पनि कोही लाग्दैन ।
तर, त्यही बाइक चोरी भो भने, पीडा आफैँ कल्पना गर्नुस् ।
मेरो मौलिक धारणा यत्ति हो– अहिले विहारको जुन प्रगति भएको छ । त्यसमा काठमान्डूका बाइकवालाको पनि योगदान छ । किनभने हाम्रै बाइकवालाको मोटरले गरीब किसानको खेत हराभरा भएको होला । तर, मलाई विहारको प्रगतिमा कुनै योगदान दिनु छैन, त्यसैले बाइक किन्दिनँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार