चार हिमाल आरोहणका लागि ४०० आरोही आधार शिविरमा

भोजराज कार्की

सोलुखुम्बु । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करिब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् ।

यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् । बिहीबारसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् । तीन हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ । तीन सय ८३ आरोही एसपिसिसीको कार्यालय नाम्चेमा नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।

एसपिसिसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका समूहमध्ये ३३ समूहका ३०८ सगरमाथा आरोहण दलका सदस्य छन् । यसैगरी, ल्होत्से हिमाल आरोहणका लागि ६ समूहका ६४ र नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ११ आरोहण दलका सदस्य रहेको राईले जानकारी दिए ।

बीस आरोही महिला

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्याङ्क हेर्दा सगरमाथा आरोहणका लागि पाँच समूहका ३८ आरोही दलका सदस्य नाम्चे पुग्न बाँकी छ । पर्यटन विभागमा बिहीबारसम्म विदेशका ३४ र नेपाली चार समूहका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ३४ समूहका ३२६ विदेशी र चार समूहका २० नेपाली आरोहीले अनुमति लिएका छन् । नेपाली आरोहण दलमा २० मध्ये १५ महिला छन् ।

८,५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ आरोही नाम्चे पुगेका छैनन् । विभाग र एसपिसिसीको तथ्याङ्कलाई तुलना गर्दा सात हजार ८१६ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि सरकारसँग अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूूहका १५ आरोही आधार शिविरतर्फ जानेक्रममा छन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तथा नेपालीले प्रतिव्यक्ति नेपालीले ७५ हजार सलामी दस्तुर तिर्नुपर्छ । विभागमा आरोहीले सलामी दस्तुर बुझाएर अनुमति लिनुपर्ने प्रावधान छ ।

ल्होत्से हिमाल आरोहणका लागि विदेशीले सलामी दस्तुरबापत एक हजार आठ सय अमेरिकी डलर बुझाउनुपर्छ भने नेपाली आरोहीले नेपाली १० हजार र नुप्त्से आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति ६०० अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ । सोही हिमाल आरोहणका लागि नेपाली आरोहीले प्रतिव्यक्ति ६ हजार सलामी दस्तुर बुझाउँछन् ।

सरकारले प्रत्येक आरोहण समूहमा एक सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोही विभिन्न ट्रेकिङ कम्पनीमार्पmत आरोहणमा जाने गर्छन् । आरोही र सरकारबीच सम्पर्क गराउन विभागले सम्पर्क अधिकृत खटाउने गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार