लंकाका राजा रावणको जन्मस्थान म्याग्दीको पुलस्त्य ओझेलमा


रामायणमा ‘खल’ पात्रका रूपमा परिचित रावणको जन्मभूमि मानिएको एवम् हिन्दुहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख विश्वका १५ पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचार–प्रसार र भौतिक पूर्वाधार अभावमा गुमनाम छ ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रूपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थलको प्रचार–प्रसार, भौतिक पूर्वाधार र संरक्षण अभावमा ओझेलमा परेको हो ।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्द चौधौ अध्यायको दण्ड भागमा उल्लेख भएअनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभाष, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई पवित्र तीर्थस्थलका रूपमा उल्लेख गरिएको छ ।
पुराण प्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणअनुसार ऋषि पुलहका नाति विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको थियो ।
रावण जन्मेर हुर्के, बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको इतिहासविद् कृष्णबहादुर बानियाँ बताउँछन् । ्
श्रीमद्भागवतजस्तो प्रसिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
इतिहासविद् बानियाँका अनुसार पुलहाश्रमलाई ऋषि आश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’ लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछैमा केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र (साबिकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुँ, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलंकामा प्रचार–प्रसार गर्ने हो भने पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ ।
यसैगरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानीलाई एकीकृत रूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार–प्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीयस्थल बन्न सक्ने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार