उपहारमा पाएको गैंडा लिन चिनियाँ प्रतिनिधि चितवनमा


चितवन । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया सुरु भएको छ ।

केही दिनअघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए ।

चिनिया प्रतिनिधिसमेत चितवन आएकाले बिहीबार पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन गरिएको थियो ।

चिनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ चितवन आइपुगेको र केही दिनमा थप प्रतिनिधि आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

सरकारले २०७१ सालमै चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरिसकेको थियो । यहाँबाट कम उमेरका गैंडा पठाइनेछ । पहिलो चरणमा दुई पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ । बोमामा राखेर आगामी असार महिनाभित्रमा चीन पठाउने योजना छ ।

सौराहानजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको बोमा बनाइएको छ । चितवनबाट पठाइने गैंडामध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार