गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ


रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेला–बेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छन् । उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायव उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार सुनार विवाहित हुन् । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता, महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ ।

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । स्वास्थ्यमा असुरक्षा हुने भएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छन् ।

श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडित महिलाको जाहेरीअनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार