हलेसीमा डिप बोरिङ सञ्चालन : ७० प्रतिशत बजारवासी लाभान्वित

असल चरित्र

हलेसी (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका मेयर इबन राईले हलेसीमा मंगलबारदेखि सञ्चालित डिप बोरिङले ७० प्रतिशत बजारवासीको खानेपानी समस्या समाधान हुने बताएका छन् ।

नगर प्रमुख राईले डिप बोरिङबाट प्रतिसेकेन्ड १० लिटर पानी आउने भएकाले हलेसीका ७० प्रतिशत बजारवासीको खानेपानी समस्या समाधान हुने बताएका हुन् । डिप बोरिङबाट आउने खानेपानी व्यवस्थापन र वितरणलाई व्यवस्थित गर्न सके बाँकी २५ प्रतिशत बजारवासीसमेत लाभान्वित हुने उनको भनाइ छ ।

एसियन ड्रिलिङ एन्ड कन्ट्रक्सन प्रालि काठमाडौंले २०७४ पुस–माघमै डिप बोरिङ सफल परीक्षण गरे पनि विविध कारणले रोकिएको थियो । हलेसीमा डिप बोरिङबाट खानेपानी प्रयोग गर्न पाउँदा स्थानीय उपभोक्ता दंग परेका छन् । ‘खानेपानी अभावमा बसाइँ हिँड्न हलेसीवासी बाध्य थिए,’ नगरप्रमुख राईले सुनाए, ‘खोटाङकै हकमा यो नौलो प्रविधि हो । सुरुमा काम थाल्दा धेरैले खिसिट्युरी गरे । कल्पनाबाहिरको काम भने । तर पनि प्रयास जारी राख्यौं । कल्पनाबाहिरको काम भन्नेहरूले नै आजदेखि खानेपानी प्रयोगमा ल्याएपछि उनीहरूभन्दा बढी म खुसी छु ।’

खानेपानी विभाग काठमाडौंको १४ लाख रुपैयाँ आर्थिक सहयोगमा डिप बोरिङ सञ्चालनमा ल्याइएको हो । डिप बोरिङ वृहत् खुक्खा खानेपानी आयोजनाको विकल्पका रूपमा सञ्चालनमा ल्याइएको नगरप्रमुख राईले बताए । डिप बोरिङ सञ्चालनका लागि हलेसी–तुवाचुङ नगरपालिकाले सहजीकरण गरेको थियो ।

त्रिधार्मिकस्थलका रूपमा प्रसिद्ध हलेसीको बसाहा गुफाको केही तल ड्रिलिङ मेसिन जडान गरेर डिप बोरिङ सञ्चालनमा ल्याइएको हो । विविध कठिनाइ चिर्दै डिप बोरिङ सञ्चालनमा आएपछि हलेसीवासी खुसीले गद्गद् भएको हलेसी–तुवाचुङ नगरपालिका–७ वडासदस्य डिल्ली चाम्लिङले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार