चार महिनाको मिहिनेतपछि थुलुङ राई भाषाको पाठ्यपुस्तक तयार


काठमाडौं । थुलुङ राई भाषाको शिशु र कक्षा एकको पाठ्यपुस्तक तयारी पूरा भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भाषाविद् डा. तारामणि राईको प्राज्ञिक परामर्शमा चार महिनाको अथक प्रयासपछि थुलुङ राई भाषाको शिशु र कक्षा एकको पाठ्यपुस्तक तयार पार्न समिति सफल भएको हो ।

भाषाविज्ञानको सिद्धान्त, व्याकरण नियमलाई आधार मानेर पाठ्यपुस्तक तयार पारिएको लेखन तथा सम्पादन समिति सदस्य बलराम राईले बताए । ‘लेख्य रूप विकास नहुँदा थुलुङ राई भाषा बोलिचालीमा ठाउँअनुसार केही फरक छन्, फरक हुनु स्वाभाविक हो । अहिले पाठ्यपाठ्यपुस्तकमा सकेसम्म सबैलाई समेट्ने नीति अख्तियार गरेका छौं,’ लेखन तथा सम्पादन समितिका अर्का सदस्य मणिराम राईले थपे, ‘बिस्तारै हामीले परीक्षण गर्दै, फिल्टर गर्दै जानेछौं । अन्ततः तथ्य र विज्ञानसम्मत् ढंगले थुलुङ राई भाषालाई एकरूपतामा ढाल्नेछौं ।’

थुलुङ राईहरूको उद्गम थलो सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकामा गाउँपालिकाकै सक्रियतामा पठनपाठन कार्य अगाडि बढाउन गाउँपालिका प्रमुख असिम थुलुङ राई स्वयम् आफैं लागिपर्नुभएको छ भने खोटाङको रिब्जुङ, सल्ले, लामिडाँडा, नुनथला र ओखलढुङ्गाको चस्कु क्षेत्रमा पनि यसै शैक्षिकसत्रदेखि पढाइ सुरु गर्ने समितिको तयारी रहेको छ ।
तयार पाठ्यपुस्तक सांसद हेम कुमार राई ‘सुरवीर’ को बाहुलीबाट सार्वजनिक गरिने भएको छ । किरात राई यायोक्खाको सुम्निमा हलमा २०७५ वैशाख १९ गते सार्वजनिक गर्ने तय गरिएको कार्यक्रममा प्रमुख अतिथिको हैसियतले सांसद राईले पाठ्यपुस्तक सार्वजनिक गर्ने टुङ्गो लागेको थुलुङ राई भाषा पाठ्यक्रम विकाश केन्द्र, सचिव मनीषा थुलुङले जानकारी गराइन् ।

काठमाडौंमा पाठ्यपुस्तक लोकार्पण गरेलगत्तै थुलुङ दूधकोसी गाउँपालिकाप्रमुख असिम थुलुङ राईको प्रमुख आतिथ्यमा सोलुखुम्बुको पञ्चनमा वैशाख २८ र २९ गते शिक्षक तालिम÷प्रशिक्षणको आयोजना गर्ने समितिको तयारी रहेको समिति सदस्य तथा स्थानीय समाजसेवी भीम थुलुङले बताए । किन पञ्चनमै तालिमको आयोजना गर्नु भो ? भन्ने प्रश्नमा थुलुङ भन्छन्, ‘खोटाङ, ओखलढुङ्गा र सोलुकै विभिन्न ठाउँको पायक पर्ने हुँदा सेन्टरको हिसाबले पञ्चनमा रोजेका हौं ।’

सोलुखुम्बुको मुक्लीबाट फैलिएका थुलुङ राईहरूको मुक्लीवरिपरि विभिन्न गाउँपालिकाको २०/२२ वटा वडाको ठूलो क्षेत्रमा सघन बस्ती छ । ‘फुटाऊ र राज गर’ को षड्यन्त्रपूर्ण नीति अख्तियार गरेको शासकले उनीहरूलाई कहिल्यै सँगै रहन दिएनन् । एक हुन दिएनन् । कसैलाई खोटाङतिर फाल्यो त कसैलाई ओखलढुङ्गातिर पुर्यायो । थुलुङ राईहरूलाई राज्यले ओल्लोछेउ र पल्लोछेउको भकुन्डो खेलाइरह्यो । यसो हुँदा चीलले छोपेपछि सातो हराएको चल्लाजस्ता थुलुङ राईहरू आफ्नै भूमिमा भए ।

‘प्रशिक्षणको दौडान पञ्चनमा थुलुङ राईहरूको सातो खोज्ने काम गरिनेछ । राज्यको दमनले बराबिचरा बनाइएका थुलुङ राईहरूलाई हजारौं वर्षपछि एकैठाउँमा भेला गरिनेछ,’ संयोजक खुक्सङ खम्बुले एकैसासमा सुनाए,’ दुःखमसुखम बात मारिनेछ । कम्तीमा आफ्नै बारेमा सोच्ने, समीक्षा गर्ने वातावरण बनाइनेछ । भाषा, मुन्दुम, धर्मसंस्कृतिबारे व्यापक छलफल गरी पञ्चन घोषणा पत्र जारी गरिनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार