प्रधानमन्त्री ओलीद्वारा उँभौलीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरूको महान् चाड वैशाखेपूर्णिमा उँभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको उल्लेख छ । ‘‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता हुन् ।

त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हुन्। किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’’ शुभकामना सन्देशमा भनिएको छ ।

किरातहरूको उँभौलीमा पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरातीहरू प्रकृतिपुजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष बाली लगाउने समयमा उनीहरूले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् ।

बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनासाथ मनाइने यस चाडको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको प्रधानमन्त्रीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार