मासुभात खुवाएरै परिवार पाल्ने पत्रकार

भोटराज राई

समाज रूपान्तरणविना देशविकास सम्भव छैन । त्यसका लागि पत्रकारिता अपरिहार्य छ । यही मान्यताबाट अभिप्रेरित भई संवत् २०५५ मा ‘सुम्निमा पाक्षिक’ भित्तेपत्रिकाबाट पत्रकारितामा हाम्फालेका महेश्वर चाम्लिङको आफ्नै पहिचान छ । उदयपुरे पत्रकारिताको बलियो खम्बाका रूपमा स्थापित चाम्लिङले यस क्षेत्रमा फराकिलो अनुभव सँगालेका छन् ।

गाईघाटबाट ०५५ मै प्रकाशित ऐंजेरु साप्ताहिकदेखि स्थानीयस्तरमा पत्रकारिता थालेका उनी ऊर्जाशील पत्रकारका रूपमा छवि बनाउन सफल छन् । ऐंजेरुपछि टंकेला साप्ताहिकमा संवाददाता हुँदै सहायक सम्पादकको भूमिका निर्वाह गरे । त्यसैताकादेखि काठमाडौंबाट प्रकाशित जनधारणा साप्ताहिकको जिल्ला संवाददाता भएर काम गर्दागर्दै ०५६ मा राष्ट्रिय समाचार समिति, जिल्ला प्रतिनिधिको भूमिका निर्वाह गर्ने मौका पाए । हिजोआज नागरिक दैनिकमा कार्यरत उनी गाईघाटबाट मुलुकी दैनिक र माझखर्क साप्ताहिकका प्रकाशक/प्रधानसम्पादकसमेत हुन् ।

काममा लगनशील र मिहिनेती अनि पेसामा निरन्तरता, व्यवहारमा इमानदारी रुचाउने चाम्लिङ कर्म गरे फल पाइन्छ भन्नेमा विश्वस्त छन् । त्यही विश्वासले दुई दशकको पत्रकारिता यात्रामा उनले पछाडि फर्केर हेर्नुपरेको छैन । धेरैले पत्रकारिता मागिखाने भाँडो हो भनिरहँदा उनी पत्रकारिताबाट दुईछाक खान र एकसरो लगाउनमात्र होइन, मासुभात खाएरै परिवार पाल्न पुग्ने बताउँछन् । ‘पत्रकारितामा मिहिनेत र इमानदारी चाहिन्छ । सँगसँगै निरन्तरता अनिवार्य छ,’ उनको बुझाइ छ, ‘श्रम, विवेक, ऊर्जा र निष्ठा एकैठाउँ लगाउन सके समाचार लेखेरै खान लाउन पुग्छ ।’ सामान्य जीवन बाँचेर समाज रूपान्तरणमा उच्च योगदान गर्न चाहने उनी हरेक विषयवस्तुका समाचार समाज रूपान्तरणसँग जोडेर हेर्ने गर्छन् ।

जानेको र बुझेको कुरा अरूलाई सिकाउन मन पराउने चाम्लिङका चेला पत्रकार धेरै भइसकेका छन् । उनका चेलाहरू कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोस्ट, राष्ट्रिय समाचार समिति, एभिन्युज र एबीसी टेलिभिजनमा स्थापित भइसकेका छन् । उदयपुरमा पत्रकार जन्माउने ‘कारखाना’ को उपमा पाएका चाम्लिङको स्थानीय पत्रकारिता स्थापित गराउनुमा महत्वपूर्ण योगदान छ ।

उदयपुरको इतिहासमा धेरै पत्रपत्रिका प्रकाशित भए तर चाम्लिङले सुरु गरेको पुष्टि साप्ताहिकपछि माझखर्क साप्ताहिक र पूर्णपुष्टि साप्ताहिकमात्र जिल्लाको पहिलो दर्जामा स्थापित पत्रिका हुन् । जुन पत्रिकाले जनयुद्धको चपेटादेखि निरंकुश राजतन्त्रको सेन्सरसिपसम्मको पीडा सहेर आजसम्म निरन्तर प्रकाशित छन् । माझखर्क र पूर्णपुष्टि साप्ताहिक नै प्रेस काउन्सिलमा वर्गीकृत उदयपुरका पहिलो पत्रिका हुन् । ०५८ जेठ ८ देखि २०६२ सम्म सञ्चालित पुष्टि साप्ताहिक होस् वा माझखर्क उनको सम्पादनमा ०६० देखि निरन्तर प्रकाशित छन् । ०६१ मा पूर्णपुष्टिको सुरुवात पनि उनैले गरेका हुन् । यसका अलावा पत्रिका दर्ता, प्रकाशन विधि र वर्गीकरण प्रक्रियामा लैजान उनले सल्लाह, सुझाव र सहयोग गर्ने गरेका छन् ।

स्थानीय विकास र सरोकारलाई उच्च प्राथमिकतामा राखेर पत्रकारिता गर्ने विशेषताकै कारण उनी स्थापित भएको हुन् । पाठकले पत्रिकाको महत्व नै नबुझेको, किनेर त परै जाओस्् सित्तैमा पनि पढ्न नमान्ने अवस्था चिर्दै स्थानीयस्तरका पत्रिका पनि स्थापित हुन सक्दोरहेछ भन्ने पहिलोपटक उदाहरण पेस गरेर उनले इतिहास रचेका छन् । स्थानीयस्तरका पत्रपत्रिका स्थापित गराउनेक्रममा उनको सम्पादनमा प्रकाशित माझखर्क साप्ताहिक धेरै पत्रकार जन्माउन सफल भएको छ ।
कान्तिपुर दैनिकमा आर्थिक बिट सम्हाल्ने कृष्ण आचार्य, कान्तिपुरकै विमल खतिवडादेखि नेपाल पत्रकार महासंघ उदयपुर अध्यक्ष भरत खड्कासम्म चाम्लिङबाटै प्रशिक्षित पत्रकार हुन् । पंक्तिकारले समेत उनलाई “पत्रकार पिता” ठान्छन् ।

पत्रकारितामा अतुलनीय योगदानकै कारण नेपाल पत्रकार महासंघ शाखा उदयपुरको दस वर्ष नेतृत्व गर्ने अवसर पाएका उनले ०५८ देखि ०६१ सालसम्म सचिव भएर काम गरे भने लगातार दुई कार्यकाल ०६४ देखि ०६७ र ०६७ देखि ०७० सालसम्म अध्यक्ष भएर नेतृत्व गरे । उनको नेतृत्वकालमा महासंघ शाखानिम्ति जग्गा र स्रोत खोजी गरी एकतले पक्की भवन निर्माण सम्पन्न भयो । महासंघ स्थापनाको दुई दशकमा भाडाको कार्यालय सुविधासम्पन्न भवनमा स्थानान्तरण हुनुमा उनको अतुलनीय योगदान रहेको छ ।

हुलाकबाट समाचार पठाउनुपर्ने अप्ठ्यारो समय पार गर्दै इन्टरनेटबाट सेकेन्ड भरमा पठाउने अवस्थासम्मको फराकिलो अनुभव सँगालेका चाम्लिङ दिनप्रतिदिनको सूचना प्रविधिसँग त्यत्तिकै ‘अपडेट’ छन् । अभाव, दबाब र प्रभावबाट टाढा रहेर उभिएको पत्रकारिताको धरोहर कहिल्यै नढल्ने उनको दृढविश्वास छ । उनको विश्वास नयाँ पुस्ताका लागि प्रेरणा बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार