नाममात्रको पत्रकारको बिगबिगीले पत्रकारिता बदनाम

अवतार राई

‘बैंकमा काम गर्न चाहन्थें,’ व्यवस्थापनमा स्नातकोत्तर दीपेन्द्र बान्तवाले भने, ‘त्यसैले पटक–पटक अन्तर्वार्ता दिँदा पनि वैकल्पिकमा मात्रै नाम निस्कन्थ्यो । त्यसपछि नजानिदोपाराले पत्रकारितातर्फ आकर्षित भएँ ।’
एपीवान टेलिभिजनमा समाचार सम्पादकको भूमिकामा रहेका उनको पुख्र्याैली घर भोजपुर हो । उनी संखुवासभाको खाँदबारीमा हुर्के । भक्तपुरमा स्थायी बसोबास गर्दै आएका उनी संवत् २०४९ मा एसएलसीको प्रमाणपत्र बोकेर अध्ययनका लागि काठमाडौं पसे । शंकरदेव क्याम्पसबाट ०५९ मा स्नातकोत्तर पूरा गरे । अध्ययनक्रममा विभिन्न संघ–संस्थामा सहायक लेखापाल भएर काम गरेका थिए ।
स्नातकोत्तर परीक्षा दिएर फुर्सदिलो समय व्यतीत गरिरहेको समय च्यानल नेपालमा जोडिए । ‘मैले च्यानल नेपालमा काम खोज्दै गएको होइन,’ उनले भने, ‘नजिकको कोठामा सँगैजसो बस्ने जीवननाथ खनाल त्यहाँ काम गर्नुहुन्थ्यो । खनालले मलाई च्यानल नेपाल लैजानुभएको थियो ।’ त्यसअघि न पत्रकारितासम्बन्धी तालिम न काम गरेको अनुभव । उनको पत्रकारिताका धुरन्धर रघु मैनाली, मोहन मैनालीहरूसँग संगत थियो ।
‘पत्रकारितामा खासै रुचि थिएन । तर, चासोचाहिँ थियो,’ उनले वास्तविकता बताए, ‘च्यानल नेपालको समाचार प्रमुख पुष्प अधिकारीसँगको कुराकानी र कुराकानी भएको भोलिपल्टबाटै काम थालेपछि अन्य पेसाबारे सोच्न पाइएन ।’ अघिल्लो दिन कुराकानी भयो, भोलिपल्ट खनालसँग च्यानल नेपाल पुग्दा नियुक्तिपत्र तयार भइसकेको रहेछ । विभिन्न संस्थामा काम गर्दा चार हजारभन्दा बढी तलब नलिएको उनलाई ७ हजार ५ सय तलब पाउनेगरी लिएको नियुक्तिपत्रले हौसला बढायो । ‘बिजनेस बिट’ का रिपोर्टर उनले च्यानल नेपालमा अर्थ र व्यापार नामक कार्यक्रम संयोजन गर्थे ।
च्यानल नेपालमा तीन वर्ष बिताए । त्यहाँ कार्यरत रहँदा कान्तिपुर टेलिभिजनले ‘भ्याकेन्सी अनाउन्स’ गर्यो । त्यसैका आधारमा निवेदन हाले । लिखित र अन्तर्वार्तापछि उनले सब–एडिटरका रूपमा कान्तिपुर प्रवेश गरे । तीन वर्षसम्म बिजनेस बिटमा रिपोर्टिङ गरे । त्यसपछि ‘न्युज प्रोड्युसर’ को जिम्मेवारी दिइयो । त्यही भूमिकामा उनले १५ वर्ष बिताए । ‘कान्तिपुरमा रहँदा नयाँ–नयाँ प्रयोग र ढाँचा ल्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरें,’ उनले सुनाए, ‘निजी मिडिया हाउस व्यवस्थापनमा चुकिरहेका छन् । कान्तिपुरलाई विभिन्न कमजोरीका बाबजुद बलियो बनाउन टिममा रहेर निकै मिहिनेत गरियो ।’

१५ वर्षसम्म कान्तिपुरको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनले एकैठाउँ रहेर थप योगदान र प्रयोग गर्न नसक्ने देखेपछि कान्तिपुरबाट बाहिरिए । आफ्नो क्षमता तथा अनुभवलाई नयाँ मिडिया हाउसमा प्रयोग गर्न एपीवान टेलिभिजन पुगे । दुई दशकछेउछाउको पत्रकारिता यात्रा विशेषगरी टेलिभिजनमा लिएको अनुभव झन् सशक्त बनाउने ध्याउन्नमा छन् ।
‘पत्रकार धेरै छन् । तर, दक्ष पत्रकार कम भेटिन्छन्,’ उनको भनाइ छ, ‘नाममात्रको पत्रकारको बिगबिगीले पत्रकारिता बदनाम भइरहेको छ । क्षमता भएका पत्रकारको खोजी मिडिया हाउसले गरिरहेकै छन् । क्षमता हुनेका लागि अवसर पर्याप्त छ ।’ व्यावसायिक मिडिया हाउसले काम गरेअनुसार पारिश्रमिक पनि राम्रै भुक्तानी गर्ने गरेको उनी बताउँछन् । तर, धेरै पत्रकारको अवस्था दयनीय छ ।
क्षमता हुँदाहुँदै पनि पत्रकारिताबाट पलायन हुने पनि नभएका होइनन् । समयमा तलब नदिएर काममात्र लिने मिडिया हाउस छँदै छन् । दीर्घकालीन सोच र योजनाविनै मिडिया हाउस खुलेका छन् । उनीहरूलाई तत्काल प्रतिफल चाहिन्छ । ‘मिडिया हाउस प्रतिफल दिने व्यवसाय होइन,’ उनको ठम्याइ छ, ‘पत्रकारको तलबदेखि उनीहरूको क्षमता, सीप विकासका लागि त सोच्न भ्याएको देखिँदैन । त्यसैले मिडियामा दिगोपनको खडेरी छ । एकपछि अर्काे मिडिया हाउस चहार्ने पत्रकारको जमात ठूलै छ ।’
पछिल्लो समय खुलेका मिडिया हाउस व्यवस्थित हुन थालेका छन् । मिडिया हाउसले मिडियाको दिगोपनका लागि लगानी गर्न थालेका छन् । यो व्यावसायिक पत्रकारका लागि सुखद पक्ष हो । पेसाप्रति प्रतिबद्ध भएर आफ्नो क्षमता र योग्यता बलियो बनाउने हो भने अब पत्रकारिता गर्नेको भविष्य उज्यालो छ ।
मूलधारको पत्रकारितामा राई पत्रकारको उपस्थिति गुणात्मक रहेको बान्तवाको भनाइ छ । केहीबाहेक मूलधार मानिने सबै मिडिया हाउसमा उनीहरूको उपस्थिति हुनु भनेको सबल पक्ष हो । जिल्ला–जिल्लामा खुलेका रेडियो, पत्रपत्रिका तथा अनलाइन म्यागेजिनमा संलग्न राई पत्रकारको अवस्था हेर्ने हो भने संख्यात्मक उपस्थिति झन् लोभलाग्दोे देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार