‘ज्ञानेन्द्रले ‘कू’ नगरेको भए पत्रकार हुन्नथें’


‘पूर्वराजा ज्ञानेन्द्रले कुशासन सुरु नगरेको भए अहिले पत्रकारितामा हुन्नथें,’ पत्रकार डम्बरसिं राईको ठम्याइ छ, ‘किनभने त्यतिखेर मजस्तोको नेतृत्व खाँचो थियो जस्तो लाग्थ्यो ।’
संवत् २०५७ तिर पत्रकार राईले रहरैरहले पत्रकारिता सुरु गरेका थिए । ‘मित्र शाहीमान राईको नाम लिन मन लाग्छ,’ उनले भने, ‘मलाई पत्रकारिताप्रति झन् हौस्याए । नेपाल पत्रकार महासंघ खोटाङ शाखा गठनका लागि कोरम पुर्याउनै शाहीमानजीले मलाई फोटो पत्रकारका रूपमा सदस्यता दिलाए ।’
त्यतिबेला काठमाडौंमा फोटो र भिडियो डिप्लोमा गरेर दिक्तेलबजारमा फोटो स्टुडियो चलाउँदै गरेका उनी संगठित भएपछि पत्रकारितामा रमाउने आशा झन् पलायो । अनि राष्ट्रिय समाचार समिति प्रतिनिधि बने । त्यसपछि रूपाकोट साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशन थाले । ‘त्यसलगत्तै कान्तिपुरमा काम सुरु गरें,’ उनले बाध्यता सुनाए, ‘अनि फर्कन नमिल्नेगरी ‘वन वे’ पत्रकारिताको यात्राले गति लियो ।’
नेपाल पत्रकार महासंघ खोटाङको पहिलो सभापति निर्वाचित भए । ‘त्यसपछि मेरो जिन्दगीमा पत्रकारिताले लय टिप्यो,’ उनले भने, ‘त्यसलगत्तै शाही कदम सुरु भयो । शाही कदमले राजनीतिक दलसम्बद्ध नेता दुला पसे । लोकतन्त्रको रटान दिने दलसम्बद्ध नेताहरू तत्कालीन सदरमुकाम दिक्तेलबाट लगभग विस्थापित भए । त्यतिबेला लाग्थ्यो नेताहरू त सजिलोमा मात्र आदर्शको राजनीतिक दुनो सोझ्याउँदारहेछन् ।’
‘संकटमा बोल्न नसक्ने अनि अवसर पाउँदा झमेला गर्ने’ साबित भयो । किनभने लोकतन्त्रको नारा लगाउने नेताहरू सदरमुकाम थिएनन् । शाही कदमको पहिलो दिन दिक्तेलबजारमा टेलिफोन लाइन काटिए । कसैसँग सम्पर्क हुन सकेन । शाही कदमको भोलिपल्ट नेपाल पत्रकार महासंघ खोटाङले अन्तक्र्रिया गर्यो। अन्तक्र्रियामा नेताहरू खोजेर बोलाइयो । उपलब्ध केही नेतासहित नेपाल पत्रकार महासंघ खोटाङले शाही कदमविरुद्ध आन्दोलन गर्ने निर्णय पारित ग¥यो । त्यसले थप जिम्मेवारपूर्वक शाही कदमविरुद्ध लड्न प्रेरित गर्यो । ‘आफ्नै नेतृत्वमा निरन्तर विरोध कार्यक्रम गरियो । घरी पुत्लादहन त घरी तत्कालीन राजा ज्ञानेन्द्रलाई प्रमुख जिल्ला अधिकारीमार्फत कुकुर उपहारजस्ता गतिविधि गरियो,’ उनी विगततिर फर्के, ‘त्यसपछि खोटाङको समाचारले राष्ट्रिय पत्रपत्रिका तथा रेडियो, टेलिभिजनमा ठाउँ पाउन थाल्यो । त्यसले तत्कालीन शाही प्रशासनको नजरमा विद्रोही पत्रकारका रूपमा मलाई स्थापित गर्यो । दिनहुँजसो प्रहरी प्रशासनमा देखापर्नुपर्ने बाध्यता आइलाग्यो ।’
शाही कदमले आक्रान्त मुलुकलाई संसारले नियालेको थियो । त्यही सेरोफेरोमा शाही कदमले चोला फे¥यो । त्यसपछि अध्यक्षको जिम्मेवारीले आफ्नै नेतृत्वमा पत्रकारितालाई थप ओझिलो बनाउन भौतिक संरचना (नेपाल पत्रकार महासंघ शाखा भवन निर्माण) गरेको उनले सुनाए । विभिन्न रचनात्मक गतिविधि सुरु भयो । ‘त्योसँगै नेपाल पत्रकार महासंघमा रहेका गैरपत्रकार गोडमेलसमेत गरियो,’ उनले प्रस्ट्याए, ‘त्यसले छरितो र क्रियाशील पत्रकारमात्र नेपाल पत्रकार महासंघ सदस्य हुन्छन् भन्ने शाश्वत यथार्थ झल्काइयो ।’ त्यसका उपलब्धि देखापरे । पत्रपत्रिका थपिए, रेडियो सञ्चालनमा आयो । यो नै उनको नेतृत्वको नेपाल पत्रकार महासंघका उपलब्धि हुन् ।
नेपाल पत्रकार महासंघ खोटाङको दोस्रो कार्यकालका लागि उनी सभापति भए । दोस्रो कार्यकालमा धेरै काम गर्ने योजनाबद्ध योजना थिए । तर, शाही शासनपछि अर्को ‘गुन्डाराज’ सुरु भयो । त्यसविरुद्ध कलम चलाउनैपर्यो । ‘कतिपय अवस्थामा तारोमा परियो,’ उनी एकाएक खुसी देखिए, ‘तर, अन्ततः ‘गुन्डाराज’ लाई पराजित गरियो ।’ दोस्रो कार्यकालसम्म आइपुग्दा पत्रकारिताले फड्को मारेको अनुभूति भएको छ । यसको प्रभाव र उपलब्धि अहिलेसम्म देखिन्छ । कहिलेकाहीं ‘फिल्ड’ पुग्दा सम्बन्धित गाउँठाउँका दाजुभाइ तथा हितैषीले धन्यवाद दिन्छन् । ‘कतिपयले ज्यान जोगाउन सहयोग गरिदिनुभयो भन्छन् त कतिले साहसी पत्रकारको उपमा दिन्छन्,’ उनले बुझाइ छ, ‘मेरो सम्पत्ति भनेको त्यत्ति हो ।’
दुई दशक पत्रकारितामा खर्चेका उनका पदचाप पछ्याउने थुप्रै छन् । ‘अझै दुई दशक पत्रकारितामै रम्ने मेरो चाहना छ,’ उनले प्रतिबद्धता जनाए, ‘पत्रकारितालाई अझ सशक्त बनाउने मेरो संकल्प कायमै छ ।’
पत्रकार डम्बरसिं राईको संकल्प पूरा गर्न दिलीप खत्री, दमन राई, रामधन राई, केदार मगर, सूर्य तामाङ, हरिबोल आचार्यलगायतका थुप्रै पत्रकार खोटाङमा जन्मिसकेका छन् । खोटाङलाई कार्यक्षेत्र बनाएर हिजोआज काठमाडौंमा जमेका सइन्द्र राई, इन्द्र आचार्य, रत्न आचार्य (सुनसरी) खोटाङकै उत्पादन हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार