पत्रकारभन्दा पत्रकारिताबाट जीविकोपार्जन गरेको मान्छे

जिन्दगीमा मान्छेको कतिवटा परिचय बन्छ ? अथवा मान्छेको जिन्दगीमा संयोगको भूमिका कति हुन्छ ? यस्ता केही प्रश्न भूतपूर्व पत्रकार भोगीराज चाम्लिङलाई सोध्दा गज्जब उत्तर आउन सक्छ ।
उनका बनिएका परिचय भत्किँदै गएका छन्, नयाँ परिचयले स्थान ग्रहण गरिरहेका छन् । एकबारको जिन्दगीमा आफूले आफ्नै परिचय बनाउने र भत्काउने गरिरहँदोरहेछ भन्ने एउटा उदाहरण हुन्– चाम्लिङ ।
खासमा भोगीराज चाम्लिङ पत्रकार बन्न काठमाडौं छिरेका थिएनन् । त्यसबखत खोटाङ जिल्लाकै दुर्गम र पछाडि परेको ठाउँका रूपमा चिनिएको हलेसीबाट दुई दिन पैदल हिँडेर कटारी झरेर रात्रिबस चढेर पत्रकार बन्न काठमाडौं आएका थिएनन् । उनमा अर्थशास्त्री बन्ने ठूलो रहर थियो । किनभने उनी दिक्तेल बहुमुखी क्याम्पसमा स्नात्तक पढ्दा दुईपटक ‘फेल’ भएका थिए, नेपाली (खस) साहित्य एकैपटकमा उत्तीर्ण भएका थिए । ‘हैट ! कस्तो अर्थशास्त्रमा फेल भएको म’ भन्ने भएपछि उनले अलि ध्यान दिएर अर्थशास्त्र पढे । ‘अर्थ’ (धन) को ‘शास्त्र’ न पर्यो पढ्दै जाँदा उनलाई रस बस्यो । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गर्न २०५६ मा काठमाडौं हान्निए ।
तर, कस्तो परिदियो भने त्रिभुवन विश्वविद्यालयमा भर्ना गर्ने समय सकिइसकेको थियो । अहिलेजत्तिको चिनजानका आफन्त भए त उनले भनसुन गरेरै भए पनि भर्ना गर्थे होलान् । तर, पहिलोपटक काठमाडौं आएका उनले त्यस्तो कहाँबाट गर्न सक्नु ? एक वर्ष के त्यसै बस्नु बरु साहित्य भए पनि पढ्छु भनेर ‘नेपाली’ भनिने खससाहित्य पढ्न सुरु गरे । यही संयोग नै उनी पत्रकार बन्ने बिन्दु बन्न पुग्यो ।
साहित्यकारको संगतमा परेर उनले जिन्दगीमा केही कविता पनि लेखिटोपले तर आफूलाई कवि ठान्ने आत्मविश्वास उनमा थिएन । बरु उनी साहित्यिक पत्रकारितातिर पो पुगे । र, कवि बाल आवाराको संगतमा मियो मासिक पत्रिकामा जोडिन पुगे । त्यो पत्रिकाका सम्पादक थिए– उत्तरकुमार राई । टीममा थिए– मनोज श्रेष्ठ, बाल आवारा र चाम्लिङ पनि । उनी त्यो पत्रिकामा कुन जिम्मेवारीमा थिए, उनी आफूलाई नै अहिले सम्झना छैन । सम्भवतः सहायक सम्पादक अथवा यस्तै केही थिए । उनलाई त्यो पत्रिकाले पत्रकारिताबारे केही सिकायो । त्यो पत्रिका सायद तीन अंकमात्रै प्रकाशित भयो । व्यवस्थापनको जिम्मेवारीमा रहेका श्रेष्ठले निजी विद्यालय सञ्चालन थालेपछि, त्यो पत्रिकाको सुरुमै ‘असामयिक’ निधन हुन पुग्यो ।
त्यसैबखततिर उनी नेकपा (एकताकेन्द्र) को राजनीतिक विश्लेषणबाट प्रभावित हुन थालेका थिए । उनकै भाषामा भन्दा ‘बन्दुक समाएर युद्धमा होमिने आँटचाहिँ नभाको तर क्रान्तिकारी परिवर्तनका पक्षमा चाहिँ प्रतिबद्ध रहेका’ उनलाई एकताकेन्द्र मन प¥यो । खासमा भिनाजु कुमारसिंह राईका कारण एकताकेन्द्रको खुला मोर्चा अर्थात् जनमोर्चा, नेपालका साहित्यकारसँग उनको उठबस बढिसकेको थियो । निनु चापागाईं, आहुति, मातृका पोखरेललगायतसँग । त्यही सिलसिलामा उनले मातृका पोखरेलमार्फत जनएकता साप्ताहिकमा साहित्यिक पृष्ठ संयोजन गर्ने जिम्मेवारी पाए । त्यही थियो उनको पत्रकारिताको औपचारिक थालनी । त्यहाँ उनले लामै समय काम गरे । सम्भवतः आठ/दस वर्षै काम गरे । कति काम गरे उनलाई पनि यकिन तिथिमिति सम्झना छैन । उनलाई सम्झना नहुने र सम्झना राख्न अल्छी लाग्ने कुरा तिथिमिति हो जो ।
जनएकता साप्ताहिकमा काम गर्दागर्दै प्रकाश राई, राजेश चाम्लिङ र तिलक चाम्लिङसँग हल बाँधिएर मियो मासिक चलाए । यो समूहले ढलिसकेको मियो पुनः व्युँताएको थियो । सम्पादक थिए– उनै भोगीराज चाम्लिङ । पाँच अंक निस्कियो, त्यसपछि त्यो मासिक पत्रिकाको पनि ‘असामयिक’ निधन भयो । अलि वैचारिक पत्रिकाका रूपमा प्रकाशन भइरहेको त्यो पत्रिकाप्रति आशाको नजरले हेर्न थालिएको थियो । राजेश चाम्लिङको दमदार खोजी रिपोर्टिङले पत्रिकालाई छोटै समयमा उचाइ दिँदै थियो । तर, आर्थिक व्यवस्थापनमा कमजोर हुनाका कारण त्यो पत्रिकाको पनि ‘असामयिक’ निधन नै भयो । तर, त्यो यस्तो प्लेटफर्म बन्न पुग्यो कि राजेश चाम्लिङ अहिले गोरखापात्र दैनिकमा सहसम्पादक छन्, तिलक चाम्लिङ सितिमी मासिक सम्पादक छन् र गज्जबको कुरा मातृभाषा पत्रकारिता गरिरहेका छन् । प्रकाश राई मियोका कारण केही लाख रुपैयाँ आर्थिक घाटामा परे पनि उनको लेखन माझ्ने ठाउँ मियो नै बन्न पुगेको थियो । बरु भोगीराज चाम्लिङ स्वयम्चाहिँ भूतपूर्व पत्रकार हुन पुगेका छन् ।
तर, मियो मासिक उनका लागि पनि फड्को मार्ने ‘फोरम’ बन्न पुग्यो । मियो बन्द भए पनि मियोकै कारण उनी नेपालको नामुद अन्तक्र्रियात्मक वैचारिक पत्रिका मूल्यांकन मासिकमा कार्यकारी सम्पादकको जिम्मेवारीमा नियुक्त हुन पुगे । मियोमा गरेको वैचारिक पत्रकारितालाई निखार्ने काम त्यहीं भयो । खासमा मूल्यांकनबाट बनेको परिचयले नै उनलाई पत्रकारका रूपमा चिनायो । मूल्यांककनमा काम नगरेको भए उनलाई हामीले भूतपूर्व पत्रकारका रूपमा धेरै चिन्ने थिएनौं । त्यसैले भोगीराज चाम्लिङको आँखाबाट हेर्दा ‘जय जय मूल्यांकन ।’
मूल्यांकन मासिकपछि उनले कार्यकारी सम्पादक नै भएर इसमता डटकममा पनि एक/डेढ वर्ष काम गरे । त्यो जागिर पनि छोडेर उनी अहिले मुन्दुम, इतिहास, संस्कृति र दर्शनको अध्ययनमा लगाइरहेका छन् ।
अहिले उनी आफू स्वयंलाई एक भूतपूर्व पत्रकारका रूपमा चिनाउन चाहन्छन् । उनको परिचय अहिले इतिहास, संस्कृति अध्येयताका रूपमा बन्दै गइरहेको छ । त्यसमा पनि मुन्दुमविद्का रूपमा उनलाई चिन्ने, चिनाउनेक्रम सुरु भएको छ । पत्रकारका रूपमा भन्दा यो काममा उनी आफूलाई सहज ठानिरहेका छन्, आनन्दित पनि देखिन्छन् । कहिले पहाडको कुन गाउँ पुगिराखेका हुन्छन्, कहिले तराईको कुन गाउँ पुगिराखेका हुन्छन् । विशेषतः मुन्दुमलाई तथ्यहरूका आधारमा केलाएर किरातीहरूको प्राग्इतिहास र दार्शनिकताको विश्लेषणमा उनले केही नयाँ काम पनि गरेका छन् । गफगाफमा उनी आफैंलाई यसरी उडाउँछन्, ‘म खासमा पत्रकारभन्दा पनि पत्रकारिताबाट जीविकोपार्जन गरेको मान्छे हुँ । संगत, संयोग र बाध्यताले पत्रकार हुन पुगें । मलाई मज्जाचाहिँ अहिले गरिरहेको अनुसन्धानको काममा छ ।’ हल्का रमाइलो गर्दै उनी थप भन्छन्, ‘खासमा म अनुसन्धानका लागि जन्मेको रहेछु । यसअघि आफ्नै रुचि र प्रतिभा नचिनेर अरू–अरूतिर भौंतारिएछु ।’ जय अनुसन्धान ।
एउटा कुरा चाहिँ पक्का हो, संयोगवश खस साहित्य नपढेर अर्थशास्त्र नै पढ्न पाएको भए अहिलेको भोगीराज चाम्लिङलाई हामीले एक भूतपूर्व पत्रकारका रूपमा चिन्ने थिएनौं । संयोगवश खस साहित्य नपढेको भए उनलाई हामीले संस्कृति र इतिहासका अध्येयताका रूपमा पनि पाउने थिएनौं । जिन्दगी भन्नु बालकृष्ण समले भनेझैं नियमित आकस्मिकता नै रहेछ हैन त भोगीराज चाम्लिङज्यू ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार