‘नो, नो, नो आई फ्रम’ नेपाल

बुद्धवीर बाहिङ

घरमा नेसनल पानासोनिक ५४३ रेडियो थियो । तत्कालीन समयमा रेडियो नेपालबाट प्रसारित पाण्डव सुनुवारको चौतारी कार्यक्रम लोकप्रिय थियो । ‘सुनुवारको कार्यक्रम ध्यानपूर्वक सुन्थ्यौं । सबैको घरमा रेडियो हुँदैनथ्यो,’ पत्रकार गजुरधन राईले भने, ‘हाम्रो घरमा रेडियो भएकाले गाउँभरिका मान्छे आउँथे ।’
चौतारी कार्यक्रम सुन्नेक्रममा हजुरआमाले भन्थिन्, ‘ए कान्छा, यत्रो डब्बाभित्र यति धेरै मान्छे कसरी बोल्न सकेका । कचहरीजस्तो पो गरिरहेका छन् त । यसभित्र यति धेरै मानिस कसरी अटाए ?’ उनले रेडियो प्रसारण प्रक्रियाबारे प्रस्ट्याए पनि हजुरआमाले बुझ्न सकिनन् । हजुरआमाले सोधेको प्रश्नले उनलाई भित्रैदेखि छोयो । त्यसपछि उनले प्रतीज्ञा गरे, ‘आई मस्ट डु समथिङ अन रेडियो ।’
त्यतिबेला गाउँघरमा टेलिभिजन प्रसारण हुँदैनथ्यो । बहुदलीय व्यवस्था पुनःस्थापना भइसकेपछि संवत् २०४८ मा निर्वाचन भयो । निर्वाचनपछि स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । ओखलढुंगाबाट अत्यधिक मत ल्याई स्वः बलबहादुर राई निर्वाचित भए । स्व. राई मन्त्री भएको गजुरधन राईले रेडियोमै सुने ।
‘एसएलसी पास गरिसकेको थिएँ । उच्च शिक्षाका लागि काठमाडौं पसें,’ उनले विगत सम्झे, ‘काठमाडौं पसेपछि आवास तथा भौतिक योजना मन्त्रालय पुगें । मन्त्री बलबहादुर राई थिए । मन्त्री राई भेट्न मन्त्रालय प्रवेश गर्नअघि रेडियो नेपालको साइनबोर्ड देखें । त्यतिबेला गाउँमा रहँदा रेडियो सुनेको सम्झना भयो ।’ गोठाला जाँदा रेडियो नेपालमा अनुरोध संगीत सुनेका उनी मन्त्री राईको पीए रामहरि खतिवडासँग पहिलोपटक रेडियो नेपाल छिरे । रेडियोमा पाण्डव सुनुवारलगायत मान्छे भेटिए ।
पत्रकारिताप्रतिको आकर्षण नजानिदोपाराले बढिरहेको थियो । उनी पत्रकारिता विषय लिएर आरआर क्याम्पसमा भर्ना भए । नेपाल टेलिभिजनमा पुष्पहरि क्याम्पा राई कार्यरत थिए । उनी टेलिभिजन कार्यालय पुगिरहन्थे । टेलिभिजनमा कार्यरतसँग उठबस बाक्लै भयो । ‘०५५ को अन्त्यतिर टेलिभिजनका लागि छैटौं तहका लागि जनशक्ति माग गरिएको सूचना प्रकाशित भयो,’ उनले भने, ‘पुष्पजीले तपार्इं पत्रकारितामा स्नातक गरेको मान्छे फाराम भरिहाल्नुस् त भन्नुभयो । फाराम भरें । टेलिभिजनका लागि स्थायी सेवामा नाम निकालें । ०५६ चैत ९ देखि टेलिभिजनमा जागिर थालें ।’
जागिर थाले पनि कामबारे अनुभव थिएन । टेलिभिजनमा बोल्नुपर्ने भएकाले घरमै अभ्यास गर्थें । टेलिभिजनमा कार्यरत अग्रजले सिकाउँदैनथे । कामबारे अनुभव नहुँदा सुरु–सुरुमा जागिर निल्नु न ओकल्नुभयो । ‘कसरी बोल्ने ? समाचारसँगै भिजुअलको सिन्क्रुनाइजेसन कसरी गराउने ?,’ उनले अतीत कोट्याए, ‘स्ट्रङ न्युजको सुरुवात कसरी गर्ने ? विषयवस्तुलाई रोचक बनाएर जनमानसमा कसरी पुर्याउने भन्ने असाध्यै चुनौती भयो ।’
जागिर थालेको ६ महिनासम्म उनले समाचार लेख्ने मौका पाएनन् । लेख्न लगाइएन पनि । ‘हिजो आजसँग तुलना गर्दा पछिल्लो समय टेलिभिजन प्रवेश गरेकाहरू अत्यन्तै भाग्यमानी ठानेको छु । विभिन्न सेवामा प्रवेश गरेका न्यु कमरलाई मैले धेरै सिकाएको छु ।’
टेलिभिजनको जागिरे भएको ६ महिनापछि संखुवासभा पुगेर रिपोर्टिङ गर्ने अवसर पाए पाए पनि के खिच्ने ? कति खिच्ने ? थाहा नहुँदा उनी र क्यामेरा पर्सन अलमल्ल परे । ‘मलाई ओरियन्टेसन दिइएको थिएन । यसरी गर्नुपर्छ, यो समाचार हो, यसरी लेख्नुपर्छ भन्ने कसैले सिकाएका थिएनन्,’ उनले थपे, ‘तैपनि क्यामेरा पर्सन प्रवोध मल्लसँगको समन्वयमा जानीनजानी खिचियो । अन्तर्वार्ता खिचियो । शिविरको दृश्य खिचियो । अनि आफूलाई स्ट्यान्ड अपका रूपमा फर दी फस्र्ट टाइम स्वास्थ्य शिविरलाई पृष्ठभूमिमा राखेर मैले पिटुसी (पिस टु क्यामेरा) अथवा स्ट्यान्ड अप दिएँ ।’
पाँचदिने शिविरमा धेरै खिचियो । काठमाडौं फर्केपछि समस्या प¥यो । तत्कालीन समाचार प्रमुख रमा सिंहले यसरी लेख्नुस् भनेर सुझाइन् । शिविरलाई केन्द्रित गरेर रिपोर्ट तयार पारे । सेवाग्राही, शिविर आयोजकको भनाइसहित रिपोर्ट तयार पारेर समाचार प्रमुखलाई देखाए । ‘रिपोर्ट तयार पारे पनि आफ्नै आवाजमा रेकर्ड गर्न दिइएन । राईको छोरा उसको अडियो टेस्टिङ गरिएको छैन,’ उनले सुनाए, ‘परीक्षण नगरी राष्ट्रिय प्रसारण माध्ययममा एकैचोटि अनएयरमा कसरी पठाउने भनियो । आई सुड बी टेस्टेड । सातपटक पुनर्लेखनपछि अनएयरका लागि पास भएको रिपोर्टमा आफ्नो आवाज दिन पाइनँ ।’
अनएयरका लागि तयार पारिएको रिपोर्टको स्क्रिप्ट प्रदीप चापागाईंले पढे । संखुवासभामा दिएको स्ट्यान्ड अप काटिँदा नमीठो लागेको उनले सम्झिरहेका छन् । त्यसपछि पनि अडियो टेस्टका लागि उनले धेरै संघर्ष गर्नुप¥यो । ‘अडियो टेस्टका लागि रमा सिंलाई भन्दा पवन श्रेष्ठलाई भन्नू भन्थिन् । पवन श्रेष्ठलाई भन्दा राजु सिलवाल भन्नू भन्थे,’ उनले दुःखेसो पोखे, ‘राजु सिलवाललाई भन्दा राजेन्द्रदेव आचार्यलाई भन्नू भन्थे ।’
१८ वर्षदेखि टेलिभिजनमा कार्यरत गजुरधन राईले आफूलाई स्थापित गर्न संघर्षको पापड बेल्नसम्म बेलेका छन् । ‘यो नेपालको मान्छे होइन । यसको मामाघर चीनको तिब्बततिर हुनुपर्छ,’ उनले रोचक प्रसंग सुनाए, ‘पूर्वप्रधानसेनापति, पूर्वरथी, प्रशासकहरूले मलाई विदेशी मान्छे भन्ठान्छन् ।’
टेलिभिजन प्रवेशताका अचम्मको संयोग परेको थियो । त्यतिबेला मेट्रो भवन (अहिलेको समाचार कक्ष) चीन सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा थियो । उनीजस्तो देखिने चिनियाँ कामदार कामका सिलसिलामा दैनिकजसो सिंहदरबार आउने जाने गर्थे । उनी पनि भर्खरभर्खर जागिरे भएका थिए । सिंहदरबार प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले ‘सो मी योर आइडेन्टी कार्ड’ भन्दा असई र सईले चाइनिजलाई छाडिदेऊ भनेको हिजोजस्तै लाग्छ ।
‘दीपा दिदी दसौं तहमा हुनुहुन्छ । म रिपोर्टिङका लागि एक कार्यक्रममा हिँडेको थिएँ,’ उनले अर्को रोचक प्रसंग बताए, ‘दिदीले श्याम (ड्राइभर) लाई यो चाइनिज मान्छेलाई कहाँ झार्नुपर्ने हो भनिन् ।’
संवत् ०७२ वैशाख १२ गते भूकम्प गयो । उनी बिहानी सत्रमा समाचार पढ्थे । एनटीभी न्युज च्यानल भर्खर सुरु भएको थियो । ११ बजेको समाचार पढिसकेपछि बाहिरिए । गेटमा पुग्दा चराहरू अनौठो आवाजमा कराउँदै आकाशमा उडिरहेको देखे । ‘सिंहदरबारवरिपरिका मानिस सिंहदरबारभित्र छिरे,’ उनले भने, ‘मैले उनीहरूको आवाज लिएँ । त्यहींबाट लाइभ गरें । त्यसपछि स्टुडियो पसेर दुई घन्टा १७ मिनेटसम्म विनास्क्रिप्ट भूकम्पबारे सूचना दिइरहें ।’
वरिष्ठ समाचार सम्पादकका रूपमा कार्यरत राई आदिवासी जनजाति पत्रकार महासंघ
(फोनिज) महासचिव हुन् । फोनिज महासचिव र नेपाल टेलिभिजनको प्रतिनिधित्व गर्दै उनी मलेसिया, इन्डोनेसिया, हाइटी, दोमेनेकान रिपब्लिकन पुगेका छन् । ०६२/०६३ को जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणमा टेलिभिजनको प्रतिनिधित्व गर्दै उनी पनि भारत पुगेका थिए । त्यतिबेला भारतीय राष्ट्रिपति एपीजे अब्दुल कलाम थिए । ‘राष्ट्रपति र कोइरालाबीच भेटघाट थियो । हामीलाई पहिल्यै राष्ट्रपति भवनमा प्रवेश गराइयो । विशिष्ट कक्षमा रिपोर्टर, क्यामेरा पर्सन बसिरहेका थियौं । हाम्रै अगाडिबाट आएका राष्ट्रपति एपीजे अब्दुल कलामले मलाई आप चीनका आद्मी हे भने ।’ नो, नो, नो आई फ्रम नेपाल, आई वर्क एट नेपाल टेलिभिजन, हु इज द नेसनल आउटले भन्दा कलामले उनलाई अँगालो हाले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार