व्यक्तिगत लाभ, अनुचित फाइदाको पछि कुद्नु लाजमर्दो


अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्राविधिक टोलीले संवत् २०७४ चैत १५ र १६ गते मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–हलेसी र हलेसी–बिजुले सडकखण्डको कालोपत्रे गुणस्तर परीक्षण ग¥यो । दुवै सडकखण्डको कालोपत्रे गर्न तयार पारिएका खण्डको ‘डेन्सिटी टेस्ट’ गर्नुका साथै कालोपत्रे गरिसकेका सडकको कालोपत्रे काटेर नमुनाका लागि सिलबन्दी गरेर प्राविधिक टोली फक्र्यो । सडकको गुणस्तरका विषयमा प्रश्न उठेपछि उसले स्थलगत परीक्षण गरेको थियो ।
हलेसी–तुवाचुङ नगरपालिकाले जयराम–हलेसी र हलेसी–बिजुले सडकखण्डको कालोपत्रेको अवस्था प्राविधिकसहित अनुगमन गर्ने भएपछि फागुन २४ गते पत्रकार हरिबोल आचार्यसँगै पत्रकार दमन राई हलेसी–तुवाचुङ नगरपालिका पुगेका थिए । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राई, उपप्रमुख बिमला राईलगायतका टोलीले फागुन २४ देखि २७ गतेसम्म सडक अनुगमन गरेको थियो । अनुगमनक्रममा नगरप्रमुख राईले विभिन्न ठाउँको सडकको कालोपत्रे कोट्याएका थिए । दिक्तेल फर्केपछि पत्रकार राईले लेखेको समाचार नागरिक दैनिकको अनलाइन संस्करणमा ‘मेयरले कालोपत्रे कोट्याएपछि’ शीर्षाकृत समाचार प्रकाशित भयो । राष्ट्रिय गौरवको आयोजना भएकाले हुनुपर्छ, सो समाचार सामाजिक सञ्जालमा आठ हजारले सेयर गरे । अख्तियारको प्राविधिक टोली सडक अनुगमन गर्नुपछाडि त्यही समाचार कारण थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंबाट पठाइएका टोली कालोपत्रे काटेर बिटविन लिएर फक्र्याे । अख्तियारको आफ्नै सिभिल इन्जिनियरिङ ल्याबमा हुने टेस्टले सडक कालोपत्रेमा कमजोरी भए÷नभएको पुस्टि हुनेछ । स्थलगत अध्ययन र परीक्षणमा आएका अख्तियारका इन्जिनियर सन्तोष निरौलाले समाचारकै कारण अनुगमन गर्नुपरेको बताए । अख्तियार टोलीले अनुगमन गर्दा ठेकेदारबीच हल्लीखल्ली मच्चियो ।
ट्युमर बढ्दा मुख बन्द भएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा तेर्सोटोलकी १४ वर्षीया रेविका राईबारे ०७३ वैशाख २१ गते नागरिक दैनिकमा समाचार प्रकाशित भयो । त्यसअघि श्रवण बम्जनको फेसबुकबाट रेविकाको तस्बिर फेलापारेपछि बम्जनकै सहयोगमा उनले रेविकाको परिवारसँग कुराकानी गरी समाचार लेखे । समाचार प्रकाशित भएपछि रेविकालाई स्वदेश–विदेशबाट १३ लाख रुपैयाँ उपचार खर्च जुटेको थियो । ‘मैले लेखेको समाचारका कारण स्वदेशदेखि विदेशसम्म ‘रेविका बचाऊ’ अभियान चल्दा र रेबिकाका लागि सहयोग जुट्दा कम्ती खुसी लागेको छैन,’ पत्रकार राईले खुसी व्यक्त गरे, ‘पत्रकारिता यात्राको दशक पार गर्दा पाएको यही आत्मसन्तुष्टि त हो । पत्रकारितामा लागेयता समाचार लेखेपछि यस्ता आत्मसन्तुष्टि मिलेका कैयौं दृष्टान्त छन् ।’ पत्रकार सबैले यस्तो अनुभव सँगालेको हुनुपर्छ । समाचारका कारण पीडितले न्याय पाओस्, भ्रष्टाचार, अनियमितता रोकियोस्, खराब काममा संलग्नलाई कारबाही होस् । एउटा पत्रकारले कमाउने सम्पत्ति भनेकै आवाजविहीनको विश्वास र माया त हो । जसले सम्बन्धित पत्रकारले यात्रामा निरन्तर अघि बढ्ने ऊर्जा पाउँछन् । समाजमा हुने गलत प्रवृत्तिविरुद्धमा निरन्तर कलम चलाउने र असल कामलाई प्रोत्साहित गर्ने काममा लाग्न पाउँदा त्यत्तिकै उत्प्रेरणा मिल्ने उनको बुझाइ छ ।
स्थानीय तहको निर्वाचनअघि जिल्लामा एउटा सदरमुकाम थियो । सबै कार्यालय सदरमुकाम केन्द्रित थिए । स्थानीय तह कार्यान्वयनका कारण हरेक केन्द्रले सदरमुकामको रूप धारण गर्दै छ । एउटा सदरमुकाम भएको जिल्लामा स्थानीय तहको संख्याअनुसार सदरमुकाम बढेका छन् । जसले भौतिक विकाससँगै पत्रकारिता विकासको सम्भावनाको ढोका खोलेको छ । हरेक स्थानीय तहमा रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चालन गर्न सकिने बाटो खुलेको छ । पत्रकारिताको माध्यमबाट केही गर्छु भन्नेका लागि अवसर पनि छ । हरेक स्थानीय सरकारको गतिविधिलाई ‘वाच’ गर्दै राम्रा कामलाई प्रोत्साहन र खराब कामलाई निरुत्साहित गर्दै समृद्ध स्थानीय तह बनाउने हिस्सेदारी लिने अवसरका अगाडि छौं ।
‘वाटरगेट काण्ड’ लाई दुई पत्रकारले पर्दाफास गरेर अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई पदच्युत गरिएझैं खराब नियतलाई पर्दाफास गर्न सकिन्छ । हो, यही अवसर सदुपयोग गर्दै ‘पत्रकारिताको माध्यमबाट मेरो योगदान यो रह्यो’ भन्ने ठाउँ बनाउन सक्छौं । ‘जीवनमा आत्मसन्तुष्टि पाउन सक्छौँ । यसका लागि हामीले पत्रकारिताको धर्म शिरोपर गर्न चुक्नुहुन्न,’ उनले सुझाए, ‘व्यक्तिगत लाभ, अनुचित फाइदाको पछि कुद्नुहुँदैन । राष्ट्रहितलाई ध्यानमा राखेर कलम चलाउनुपर्छ । हामी सचेत नागरिक बन्न सक्नुपर्छ ।’

हरेक क्षेत्र विकृतिमुक्त छैनन् । यसबाट पत्रकारिता क्षेत्र पनि विमुख छैन । हरेक क्षेत्रमा प्रवेश गर्नेक्रममा विषयविज्ञता प्राप्त गरेको हुनुपर्छ । सामाजिक संघ/संस्थामा विषयविज्ञ भएको आवेदक छानिन्छन् । सरकारी कर्मचारी बन्न लोकसेवा उत्तीर्ण गर्नुपर्छ । अपवादबाहेक पत्रकारिता, यस्तो क्षेत्र बनेको छ, जहाँ प्रवेश गर्न न परीक्षा दिनुपर्छ, न लोकसेवा नै । ‘मभित्र कैयन् कमजोरी होलान्,’ उनको स्वीकारोक्ति छ, ‘दक्षता अभाव होला । यो कुनै क्षेत्रमा काम नलागेपछि लाग्ने पेसाका रूपमा परिचित बन्दै गएको छ । पत्रकारितामा अदक्षमात्र छन् भन्ने होइन । यसभित्र राम्रा जनशक्ति पनि छन् । अझ योग्य व्यक्तिलाई भित्र्याउने बाटो बनाउन सके हाम्रै पेसाको मान, मर्यादा बढ्ने थियो ।’ पत्रकारितालाई गर्विलो बनाउने पत्रकारले नै हो । पत्रकारितालाई आत्मसन्तुष्टिको पेसा बनाउनु प्रत्येक पत्रकारको दायित्व हो ।
बेला–बेलामा पत्रकारको क्षमता मात्र नभएर निष्पक्षतामाथि पनि प्रश्न उठ्ने गरेको छ । मञ्चमै पनि पत्रकारमाथि आग्रह–पूर्वाग्रह राखेको सुनिन्छ । ‘पत्रकारमाथि सोधिने सबै प्रश्न सही भन्दिनँ । तर, केही–केही प्रश्नमा भने आंशिक सत्यता छ । किनकि दलीय विवाद भए, पत्रकारको विवाद हुन्छ,’ उनले थपे, ‘नेताबीचमा भनाभन भए पत्रकारबीचमा भनाभन हुन्छ । चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव पत्रकारलाई लाग्छ । पत्रकार पार्टीको झन्डा बोकेर दौडिन बेर लगाउँदैन्न् ।’ सम्पादकबाट प्रशिक्षित हुनुपर्ने पत्रकार एउटा नेताबाट प्रशिक्षित भएपछि कस्तो समाचार लेखिएला, सहजै अनुमान गर्न सकिन्छ । एउटै तथ्यलाई पत्रकारले फरक–फरक एंगल दिन्छ । एउटाले ‘यसो’ भनेर लेख्छ, अर्कोले ‘होइन यसो पो’ भनेर लेख्छ । समाचारले पाठक/श्रोतामा सूचना होइन, भ्रम छरेको हुन्छ । जिउँदो मान्छेलाई मृत घोषणा गर्छौं, श्रद्धाञ्जली दिन्छौं । अझ च्याउसरी उम्रेका अनलाइन पत्रिकाले झनै बग्रेल्ती समस्या सिर्जना गरेको छ । ‘भनेपछि हामीभित्र पनि समस्या छन् । हाम्रा गतिविधिमा सबैको निगरानी रहन्छ भन्नेमा हामी कम सचेत छौं,’ उनको बुझाइ छ, ‘हुन त सत्य समाचार लेख्ने पत्रकारलाई नै पूर्वाग्रह राखेको, झुटा समाचार लेखेको भनेर उछित्तो काढ्नेको कमी छैन । हामीले ‘अरूले के भन्छ भन्ने होइन, आफ्नो ब्रह्मले के भन्छ त्यो लेख्ने हो । त्यसबाट मात्रै आत्मसन्तुष्टि मिल्छ ।’
गैरव्यावसायिक, झोले र बदमासहरूले पत्रकारिताको मर्म बिगारेका छन् । बदनाम गरिरहेका छन् । विशुद्ध पत्रकारको संगठन नेपाल पत्रकार महासंघ समेत पार्टीको लडाइँ गर्ने थलो बनेको छ । पत्रकार महासंघमा खोजी गर्ने हो भने साँच्चिकै पत्रकार कति होलान् ? घामझैं छर्लंग छ । पत्रकारितामा शुद्धीकरण आवश्यक छ । त्यसो भयो भने मात्र पत्रकारिता गर्व गर्नलायक र सबैभन्दा आकर्षक पेसा बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार