सेकेन्ड लेफ्टिनेन्ट बन्ने रहर अधुरै

दीपेन्द्र राई

‘एउटै चिट्ठी लिएर पत्रकार बालकृष्ण बस्नेत र म कान्तिपुर पब्लिकेसन्स पुग्यौं,’ पत्रकार गणेश राईले सुनाए, ‘संवत् २०५७ कात्तिक २४ गते इन्टर्नसिपका लागि कान्तिपुर पुगेका थियौं । सोही वर्षको फागुनदेखि म भक्तपुर र बस्नेत ललितपुर संवाददाता हुनुभयो ।’
नेपाल प्रेस इन्स्टिचयुट (एनपीआई) बाट इन्टर्नसिपका लागि कान्तिपुर पुगेका पत्रकार राई अहिलेसम्म त्यहीं कार्यरत छन् । ‘पत्रकारिता तालिम रमाइलोगरी सकियो । तालिम अवधि त्यत्तिकै रसिलो बन्यो,’ उनले अतीत सम्झे, ‘सुरु–सुरुमा आफूले लेखेको समाचारले कान्तिपुरमा राम्रै ठाउँ पायो । तर, ७५ जिल्लामा संवाददाता राखिएपछि समाचार प्रकाशन कम हुन थाल्यो । कतिपय समाचार त्यत्तिकै मरेका पनि छन् । त्यसो भएपछि स्ट्रिन्जरलाई गाह्रो हुने नै भयो ।’
त्यतिबेला एक समाचार प्रकाशित भएबापत दुई सय रुपैयाँ पाइन्थ्यो । फोटोको एक सय रुपैयाँ तोकिएको थियो । भक्तपुर संवाददाता उनले सुरुमा मासिक ५/६ हजारसम्म बनाउँथे । दिनभरि खोजेर समाचार तयार पारे पनि छापिएन भने त्यो दिनको पारिश्रमिक पाइने कुरै भएन ।
लेख्दै जाँदा मासिक १८ हजार रुपैयाँसम्म पारिश्रमिक सूचीमा चढ्यो । यो ०६० सालतिरको कुरा हो । त्यतिबेला समाचार सम्पादक नारायण वाग्ले थिए । ‘गणेशजीले सम्पादकभन्दा धेरै तलब थाप्ने ?,’ समाचार सम्पादक वाग्लेले आफूलाई सोधेको प्रसंग कोट्याउँदै उनले थपे, ‘पारिश्रमिक सूचीमा १८ हजार उल्लेख भए पनि ११ हजार रुपैयाँमात्रै सदर गरियो । १७ हजारसम्मलाई सदर गरिन्थ्यो । १८ हजार पुगेपछि काटिदिन्थे ।’
किरात राई पत्रकार संघ संस्थापक अध्यक्ष राईले चार वर्षसम्म भक्तपुर संवाददाता भएर काम गरे । उनको बसाइ ललितपुर, कार्यक्षेत्र भक्तपुर, कार्यालय काठमाडौंमा थियो । सवारीसाधन नभए पनि जाँगर थियो । दैनिक तीन जिल्लाको यात्रा तय गर्नुपथ्र्यो । ‘फलस्वरूप एकै दिन तीन समाचार कान्तिपुरका विभिन्न पेजमा बाइलाइनमै प्रकाशित हुन्थे/भएका थिए । यो ०५८ तिरकै कुरा हो,’ उनले विगत सुनाए, ‘कहिलेकाहीं महिना दिनसम्म समाचार प्रकाशित हुँदैनथे । र पनि, हिम्मत हारिनँ । तर, आलेख, व्यंग्य लेखिरहें । त्यतिबेला म धेरै सक्रिय भएको कतिपयलाई मन नपरेकाले पनि समाचार छापिएनन् ।’

समय बित्दै गयो । अवस्था परिवर्तन भयो । भक्तपुरका गाउँ–गाउँ पुगेर समाचार संकलन गर्ने उनको कार्यक्षेत्र काठमाडौं तोकियो । उनले लेखेका समाचार प्राथमिकतासाथ छापिन थाले । बाइलाइनमा समाचार प्रकाशित हुनु भनेको सम्बन्धित पत्रकारको मिहिनेतको कदर हुनु हो ।
इन्टर्नसिपबाट कान्तिपुर दैनिक प्रवेश गरेका उनी भक्तपुर संवाददाता हुँदै अहिले वरिष्ठ उपसम्पादकको भूमिकामा छन् । उनको भूमिका भरलाग्दो, रहरलाग्दो र लोभलाग्दो छ । पत्रकार गणेश राईले अहिलेको भूमिकासम्म आइपुग्दा संघर्षका थुप्रै पापड बेलेका छन् । साहित्यिक पत्रकारिताबाट सुरु पत्रकारिता यात्राले निरन्तरता पाएकै छ । देखेको सपना सबै पूरा हुन्छन् भन्ने छैन । सेकेन्ड लेफ्टिनेन्ट बन्ने उनको रहर अधुरै रह्यो । सेकेन्ड लेफ्टिनेन्टजत्तिको इज्जत पत्रकारिताबाट पाएकै छन् । आफूलाई पत्रकारिता, साहित्य, संंस्कृतिमा समर्पण गरेका छन् । यसैमा सन्तुष्ट छन् । सन्तोषभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन ।
‘लिब्जुभुम्जु त्रैमासिक ०४९ साउन १५ गते दर्ता भयो । दर्ता भएको वर्ष दिनसम्म पत्रिका प्रकाशन भएन,’ वाम्बुले, नेपाली र अंग्रेजी गरी तीन भाषामा छापिने अनुमति पाएको उल्लेख गर्दै उनले थपे, ‘०५० सालदेखि लिब्जुभुम्जु प्रकाशन सुरु गर्यौं ।’ लिब्जुभुम्जुका कार्यकारी सम्पादक उनलाई पत्रिकाको दर्ताप्राप्त आकार थाहा थिएन । निश्चित पेज हुन्छ भन्ने भेउ पाएका थिएनन् । लिब्जुभुम्जुका संस्थापक सम्पादक तात्कालिक सांसद लघुधन राई । तात्कालिक सांसद राई उनका माइला काका हुन् । १६ पेजमा प्रकाशित पत्रिका बिग्रनसम्म बिग्रेपछि काकाले झफारे । उनले सम्पादककै आलेख काटेर अधुरो बनाइदिए । मुनामदनजत्रो हुनुपर्ने लिब्जुभुम्जु त्योभन्दा सानो आकारमा प्रकाशित भयो । अर्को अंकदेखि दर्ताप्राप्त आकारमै लिब्जुभुम्जु प्रकाशित हुन थाल्यो । उनलाई राष्ट्रगान लेखक व्याकुल माइला, वसन्त राई (किरात राई पत्रकार संघ, संस्थागत सचिव) ले साथ दिए ।
लिब्जुभुम्जुले उनलाई पत्रकार बनायो । मातृभाषा पत्रकारिताले टिक्ने ऊर्जा दियो । दिइरहेको छ । २५ वर्षदेखि लिब्जुभुम्जु पत्रिका प्रकाशन निरन्तर छ । नेपाल प्रेस इन्स्टिच्युटमा दसमहिने पत्रकारिता तालिम गर्दा (०५६ मा) समेत उनी शिक्षण पेसामै थिए । त्यसअघि (०४७ देखि ४९ सम्म) भवन विभागमा मुखियाको जागिर खाए । भवन विभागको जागिर सकिएपछि गोश्वारा हुलाक सुन्धारामा जोडिए । गोश्वारा हुलाकमा १६ महिना जागिर खाए । त्यसपछि ललितपुरको मानभवनमा ०५२ देखि ५३ सम्म प्याराडाइज मःमः पसल खोले । मःमः पसल राम्रै चल्यो । तर, उनले पसलमा भनेजस्तो समय दिन नसकेपछि बेचिदिए ।
पत्रकारकै भूमिकामा कोरिया, युके, चीन, भारत पुगेका पत्रकार राईले शिक्षा पत्रकारितामा राष्ट्रिय पुरस्कार पाएका थिए । किरात राई यायोक्खाले समेत पुरस्कृत गरेको थियो । अरू थुप्रै मान–सम्मान पाएका छन् । उनी भानु–मोती पुरस्कार (०५६ बाट) पुरस्कृत भएका छन् । उनको वाम्बुले राई भाषामा निबन्धसंग्रह, कवितासंग्रह, वाम्बुले राई मातृभाषाका केही प्रतिभा र केही सिर्जना तथा बीस किराती गरी चार पुस्तकसमेत प्रकाशित छन् ।

पत्रकार राईका बुवाले मैले ४ कक्षासम्म पढ्न पाएँ, तैंले धेरै पढ्नुपर्छ भनेका थिए । बुवाले भनेजस्तै पढे । तर, बुवाले उनको प्रगति देख्न पाएनन् । धेरै पढ्नुपर्छ भन्ने बुवाले उनलाई लाहुरे बन्न सुझाए । काठमाडौं हिँड्ने केही दिनअघि बुवाले लाहुरे बन्न सुझाएका थिए । बुवाले गल्लावालकहाँ नाम लेख्न जा भने । धेरै पढ्नुपर्छ भन्ने बुवाले नै त्यसो भनेपछि एसएलसीमात्रै गरेका उनलाई रिस उठ्नु अस्वाभाविक थिएन । यो ०४७ सालको कुरा हो । बुवाले भनेपछि उनले नाम लेखाउन गल्लावालकहाँ पुगे । उनले जानाजान छाती नपुर्याउन अभिनय गरे । लाहुरे बन्न छाती बाधक बन्यो । त्यतिबेला त्यस्तो अभिनय नगरेका भए गणेश राई पत्रकारितामा हुँदैनथे । बुवाले लाहुरे बन्न कसरी सुझाए होलान् भनेर उनलाई त्यतिबेलै खुल्दुली लागेको थियो । आमाको अनुरोधमा बुवाले उनलाई लाहुरे बन्न भनेका रहेछन् भनेर केही समयअघि मात्रै आमाले जानकारी गराएपछि उनी तीनछक परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार