पोखराबाट गेटपास नपाएपछि पत्रकारिता

सन्दीप राई

सर्लक्क मिलेको ज्यान । चौडा छाती । गतिलो उचाइ । तेज दिमाग । त्यस्ता किरातीको छोरोले गल्लावालको आँगन नपुगेको कमै होलान् । लाहुरे सपना पूरा हुनु नहुनु बेग्लै कुरा । तर, उमेर पुगेको ज्यानवाला किरातीले एक/दुईपटक छाती नपाएकै हुन्छन् । लाहुरे शान, समाजले दिने लोभलाग्दो सम्मान, लाहुरे सहर धरानका युवालाई नछुने कुरै भएन । त्यसको अपवाद बन्न सकेनन्– पत्रकार भीषण राई ।
एसएलसीमा प्रथम श्रेणीमा पास गरेर हात्तीसार क्याम्पसमा आईएस्सी भर्ना भएसँगै सुरु भयो लाहुरे सपनाको ‘म्याराथन’ । लाहुरे बन्ने सपनामा पत्रकार राईले के मात्रै गरेनन् । उज्यालो नहुँदै धरानको फन्को मार्थे । पिटी परेड त सामान्य भयो । धरान बजारबाट हजारौं केजीको बालुवा डोकोमा हालेर बुद्धिकर्णको दरबारसम्म पुर्याए ।
एकपटक होइन, दुईपटक होइन, धरानबाट गेटपास पाएर तीन–तीनपटक पोखरासम्म पुगे । तर, खै के–के नमिलेर हो अन्तिम गेट छिचोल्न सकेनन् । यसरी लाहुरे सपनाको म्याराथन सदाका लागि पूर्णविराम लाग्यो । तीनपटकसम्म पोखरा पुग्दासमेत गेटपास नपाएपछि जीवनले कोल्टो फे¥यो । जीवनयात्राको वक्ररेखाले अन्ततः पत्रकार बनायो । आज पनि कामको सिलसिलामा पोखरा पुग्दा, त्यतिबेला बिहानबिहानै तालवाराही मन्दिरसम्म पुगेर लाहुरे बन्न प्रार्थना गरेको बिर्सेका छैनन् ।
देख्दादेख्दैको सपना टुटेपछि वैरागी हुनु अस्वाभाविक होइन । बिन्दास भएर धरान बजार चहार्न थाले । मन बहलाउन गीत–संगीतमा रमाउन थाले । धराने युवाको एउटा समूह नै बन्यो । क्लबको नाम जुराए ‘होराइजन’ । ०५८/०५९ तिर क्लबले धरानआसपासका सहरमा राम्रै चर्चा पायो । उनी समूहको लिड गिटारिस्ट र भोकलिस्ट थिए । धरान र चताराका विभिन्न कार्यक्रममा कन्दरा र नेपथ्य व्यान्डका गीत घन्काउँथे । उनीहरूले आफैं पनि गीत ‘कम्पोज’ गरे । प्रसंशक बढ्दै थिए ।
सँगै बस्ने ठूलीआमाको छोरा कृष्ण राई पत्रकार थिए । बसाइ सँगै भए पनि संसार फरक–फरक थियो । ‘संगत गुनको फल’ भनेझैं उनलाई पनि पत्रकारितामोहले तान्न थाल्यो । दाइसँगै रिपोर्टिङमा हिड्न थाले । समाचार लेख्ने मेसो चाल पाए । धरानबाट प्रकाशित मर्निङ टाइम्समा समाचार लेख्न सुरु गरे । ‘फूलको संगतले कीरा पनि फूलसँगै मन्दिर पुग्छन्,’ उनी भन्छन्, ‘म पनि संगतले पत्रकारिताको दुनियाँमा आइपुगें ।’
लाहुरे बन्ने धुनमा छुटेका पढाइलाई निरन्तरता दिए । बचेको समय अध्यापनमा लगाए । ०६३ बाट कान्तिपुर साप्ताहिकमा धरानबाट रिपोर्टिङ गर्न थाले । पत्रकारिताको परिचय फराकिलो बन्दै गयो । साप्ताहिकसँग जोडिएपछि पूर्वका शिक्षा र मनोरञ्जनसँग सम्बन्धित किस्सा, गसिप र अनेकन् प्रसंग रिपोर्टिङ गरे । त्यही समय पत्रकारको हक–हितका लागि गठित संगठनमध्ये किरात राई पत्रकार संघमा आबद्ध भए ।
पत्रकारिता भनेको के हो ? यसको दायित्व के हुन् ? भन्ने बुझ्न थाले, तब तालिम, गोष्ठी र अभ्यासका भरमा चलेको पत्रकारिताप्रति चित्त बुझेन । सम्बन्धित विषयमा प्राज्ञिक बन्नैपर्छ भन्ने लाग्यो । पत्रकारितामै उच्च शिक्षाका लागि काठमाडौं पसे । कान्तिपुर सिटी कलेजमा भर्ना भए । धरान हुँदै जोडिएको कान्तिपुर साप्ताहिकमै काम सुरु गरे ।
नौलो परिवेश, नयाँ समाज, नयाँ संस्कृति । काठमाडौंको बसाइका सुरुवाती दिनहरू निकै कठिन थिए । सुगाले त गोपीकृष्ण काउ भन्छ । आखिर मान्छे न हो । बिस्तारै काठमाडौंको परिवेशमा मन रमाउन थाल्यो । पढाइ, काम, साथीभाइसँगको भेटघाटले तीव्रता पायो । सांगठनिक काममा व्यस्त हुन थाले । कार्यक्षेत्र मनोरञ्जन भएपछि त्यही क्षेत्रका साथीसंगत बढे । एक समय उनका साथीहरूले प्रत्येक रात भीषण राई दरबारमार्ग र ठमेलतिरको डिस्कोमा भेटिन्छन् भन्ने किस्सा बनाए । डिजे, डिजेइङ र क्लबबारे लेख्ने भएकाले त्यो भनाइ सत्य थियो । तर, उनी सामान्य समाजले सोच्नेजस्तो क्लबतिर बरालिएका थिएनन् । तिनै रातहरूमा अध्ययन, अनुसन्धान र सँगालेको अनुभवका आधारमा उनले ‘हामी डिजे’ भन्ने पुस्तक लेखे । नेपालमा डिजेसम्बन्धी अनुसन्धान गरेर लेखिएको पहिलो पुस्तक त्यही हो । अनुसन्धानबाट पुस्तक तयार भएपछि साथीभाइको किस्सा बन्द भयो ।
संवत् ०६९ मा पत्रकारितामा स्नातकोत्तर पूरा भयो । स्नातकोत्तर पूरासँगै पत्रकारिता अध्यापनमा लागे । किरात राई पत्रकार संघ पूर्वकेन्द्रीय अध्यक्षको अध्यापन जारी छ । ।
नयाँ र सिर्जनात्मक काम गर्न रुचाउने राईले ‘वाइफाइ लभ’ भन्ने फोटो उपन्याससमेत लेखेका छन् । उपन्यास पहिलो फोटो उपन्यास भएको दाबी गरिएको छ । नयाँ काम र पत्रकारिताका कारणमात्र होइन, व्यक्तित्वका कारण उनी साथीभाइमाझ सधंै चर्चामा हुन्छन् । उनको जीवनशैली सामान्य लेखक/पत्रकारको भन्दा फरक छ । पत्रकारितासँगै उनी पछिल्लो समय फिल्मी क्षेत्रमा व्यस्त छन् । उनको ‘पहिचान’ नामक वृत्तचित्र सार्वजनिक भइसकेको छ । सहायक निर्देशकको अनुभव सँगालेपछि उनको डेब्यु निर्देशन रहेको फिल्म ‘पुरानो बुलेट’ जेठबाट छायांकन हुँदै छ ।
तीनपटक पोखरा पुगेर लाहुरे बन्न नसकेको असफल लाहुरेको कथा धेरैका लागि उदाहारणीय बन्न सक्छ । त्यसताका पोखराबाट रुँदैरुँदै धरान फर्केका उनी हिजोआज लाहुरे नभएकोमै खुसी छन् । भन्छन्, ‘त्यो बेला एकखालको सपना थियो । म लाहुरे भएको भए मेरो परिवारमात्रै खुसी हुन्थ्यो । लाहुरे भएको भए समुदाय र देशलाई सकेको योगदान गर्न सकिँदैनथ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार