मातृभाषा पत्रकारिताले छोएको दिल

‘भाषिक ज्ञान भनेको ठूलो योग्यता रहेछ,’ किरात राई पत्रकार संघ सचिव रीता राराहाङले खुसी व्यक्त गरिन्, ‘बान्तवा भाषासम्बन्धी राम्रो ज्ञान थियो । त्यही योग्यताले डोरिँदै आज पत्रकारको परिचय बनाएकी छु ।’
पत्रकार राराहाङले पत्रकार बन्छु भन्ने कल्पनासमेत गरेकी थिइनन् । बान्तवा भाषाको गोष्ठी धाउँदाधाउँदै, एफएम रेडियोमा बान्तवा भाषाको कार्यक्रम सञ्चालन गर्दागर्दै उनले पत्रकारका रूपमा फराकिलो परिचय बनाएकी हुन् । बान्तवा भाषाकै कार्यक्रम सञ्चालकका रूपमा उनकोे पत्रकारिता यात्रा सुरु भयो ।
भाषामा दख्खल भएकै कारण संवत् २०६४ मा इलामबाट सञ्चालित नेपाल वाणी एफएममा पहिलोपटक कार्यक्रम उत्पादक तथा सञ्चालकको जिम्मेवारी पाएकी उनले त्यसपछि रेडियो फिक्कल, फिक्कल इलाम र इलाम एफएम इलाममा समेत भाषासम्बन्धी कार्यक्रम सञ्चालकको भूमिका निर्वाह गरिन् । लामो समय इलामको विभिन्न एफएम रेडियोमा भाषिक कार्यक्रम सञ्चालकका रूपमा अनुभव सँगालेकी उनले काठमाडौं पसेपछि समेत गोर्खा एफएममा भाषिक कार्यक्रम चलाइन् । ‘हरेक ठाउँमा मेरा लागि भाषा मूलबाटो बन्यो,’ उनले गर्व गरिन्, ‘यत्तिका समय भाषासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा भाषाले साँच्चै आत्मीयता दिँदोरहेछ । मातृभाषा पत्रकारिताले दिमाग होइन दिल छुँदोरहेछ ।’
पत्रकारिता यसै पनि चूनौतीपूर्ण मानिन्छ । त्यसमा पनि मातृभाषा पत्रकारिता गर्नेको बेग्लै चुनौती छन् । अनेकौं आरोह–अवरोहबीच यात्रा जारी छ । इन्डिजिनियस टेलिभिजनसँग सम्बद्ध उनको एफएमदेखि टेलिभिजनसम्मको यात्रा त्यत्तिकै रोमाञ्चक छ ।

इन्डिजिनियस टेलिभिजनमा ‘आन खिम आन यङ’ कार्यक्रम सञ्चालक उनको आवाजको तरंगदेखि काँचको पर्दासम्म आइपुग्दा आफैंलाई परिपक्व ठानेकी छन् । ‘मातृभाषाको कार्यक्रम सञ्चालनका सुरुवाती दिनमा दन्किरहेको ज्वालामा जानी–जानी हामफाल्न पो गएकीझैं हुँ कि जस्तो लागेको उनले सुनाइन् । सीमित स्रोत, साधन र श्रोता भएपछि त्यस्तो लाग्नु अस्वाभाविक होइन । ‘कैयौंपटक आफैंले आफैंलाई प्रश्न गरेकी थिएँ,’ उनले सुनाइन्, ‘के म एक्काइसौं शताब्दीको विश्वव्यापीकरण दुनियाँमा ठीक त गरिरहेकी छु । तत्काल चित्त बुझाउँथें । अरूले जेसुकै भनुन् । आफ्नो काम अनि जिम्मेवारी भुल्नुहुन्न बिर्सन्नुहुन्न ।’
धेरैले अयोग्य देखेको यो क्षेत्र नै उनका लागि ठूलो योग्यता बन्यो । उनी भाषाका कारण समुदायमा मात्र होइन, हरेक ठाउँ चिनिएकी छन् । उनको परिचय बनेको छ भने त्यो भाषाका कारण नै बनेको हो । उनको कहीं योगदान देखिन्छ भने त्यो भाषाकै कारण बनेको देखिन्छ । उनीसँग भाषिक ज्ञान थियो । त्यही भएर उनले काम खोज्नुपरेन । कामले उनलाई खोजेको छ । उनी रेडियोदेखि टेलिभिजनसम्म, गाउँको मझेरीदेखि सहरको भव्य मञ्च/रंगमञ्चहरूमा भाषाकै कारण उभिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार