थुक्पामा नुनमात्रै हालेर खाएको त्यो क्षण

छिन्ताङ । साबिक छिन्ताङ गाउँ विकास समिति सहिदभूमि गाउँपालिकामा पर्छ । पत्रकार सिद्धराज राईको बाल्यकाल र किशोर अवस्था गाउँमै बित्यो । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि संवत् २०५४ मा धनकुटा बहुमुखी क्याम्पस भर्ना भए । घरबाट क्याम्पस धाउन सम्भव थिएन । डेरा बसेर पढ्नुपर्ने बाध्यता थियो । धनकुटा बजारको श्रीवानीमा डेरा बस्ने निश्चित भयो । त्यहाँ उनीभन्दा अग्रज कुलप्रसाद राई पनि डेरा बस्थे । कुलप्रसाद पढाइसँगै विद्यार्थी राजनीति र पत्रकारिता गर्थे । सिद्धराज राई र कुलप्रसाद राईको विद्यालय तहदेखि नै मित्रता थियो ।
विद्यालयतहदेखिको सम्बन्ध धनकुटा बजार पुगेपछि पुनः नवीकरण भयो । कुलप्रसाद र सिद्धराजको मित्रता झाँगियो । उनलाई पनि कुलप्रसादले निर्वाह गरेको भूमिकाजस्तै क्याम्पसको पढाइसँगै विद्यार्थी राजनीति र पत्रकारिता गर्ने रहर जाग्यो । संगत गुनाको फल भन्ने प्रचलित नेपाली उखानजस्तै एक दिन उनले कुलप्रसादलाई पत्रकारिता गर्ने रहर व्यक्त गरे । समाचार लेख्न सिकाउन अनुरोध गरे । कुलप्रसादले सुरुमा चासो दिएनन् । ‘धेरैपटक भनेपछि उनले लेखेर फ्याक्स गरेको समाचार पढ्न दिए । समाचार लेख्ने तरिका त पढियो । तर, कुन पत्रिकामा लेख्ने टुंगो थिएन । ०५४ फागुनतिर जस्तो लाग्छ,’ पत्रकार सिद्धराज राईले विगत कोट्याए, ‘धरानबाट प्रकाशित न्युज टाइम्स साप्ताहिकको चर्चा थियो । राजकुमार दिक्पाल सम्पादक छन् भन्थे । दिक्पालसँग मेरो चिनजान थिएन । त्यो पत्रिकामा समाचार लेख्ने जिम्मेवारी कुलप्रसादलाई नै दिइएको रहेछ । न्युज टाइम्समा मलाई समाचार लेख्ने अवसर दिनुपर्यो भनेपछि कुलप्रसादले म राजकुमार दिक्पालसँग कुरा गर्दिन्छु भन्नुभयो । नभन्दै दिक्पाल र कुलप्रसादबीच टेलिफोनवार्ता भयो । मैले न्युज टाइम्समा समाचार लेख्न अनुमति पाएँ ।’
परीक्षाको घडी सुरु भयो । रिपोर्टिङक्रममा कुलप्रसादकै पछि लाग्नुको विकल्प थिएन । ‘एउटा डायरी र कलम बोकेर हिँड्न थालें,’ उनले सुनाए, ‘मैले लेखेको समाचार न्युज टाइम्समा छापिन थाल्यो । पत्रिकाको ग्राहक बनाउने अभियान थियो । ग्राहक पनि बनाएँ । केहीले पैसा दिए । केहीले दिएनन् । उठेको पैसा कुलप्रसादलाई बुझाउनुपथ्र्यो । मैले बुझाएको हिसाब पाइनँ भनेर राजकुमार दिक्पालले भन्नुहुन्थ्यो ।’

न्युज टाइम्सबाट पत्रकारिता थालेका उनी ०५५ मा काठमाडौंको नवआवाज साप्ताहिकमा जोडिए । पार्टीको पक्षपोषण गर्ने पत्रिकामा काम गर्नुपर्ने भएकाले उनी नवआवाजमा जोडिएका थिए । त्यतिबेला शिव ढकाल, भरतराज पोखरेल र भूपराज खड्कासँग चिनजान भयो । धनकुटाबाटै समदृष्टि साप्ताहिकमा काम गर्दा दीपक पाण्डे र निरोधराज जोशीसँग चिनजान भयो । काठमाडौमा सबैभन्दा पहिले चिनेका व्यक्ति पाण्डे र जोशी थिए । उनले शम्भु श्रेष्ठ सम्पादक रहेको दृष्टि साप्ताहिकमा समेत समाचार लेखे । ‘साप्ताहिक पत्रिकामा काम गर्दा पत्रकारिताको संघर्षको दिन थियो । राजनीतिक दलको पक्षमा अन्य दललाई होच्याएर लेख्ने चलन थियो,’ उनले नढाँटी भने, ‘त्यतिबेलाको समाचार हेर्दा मलाई कताकता असजिलो लाग्छ ।’
त्यतिबेला समाचार लेख्दा पारिश्रमिक पाइँदैनथ्यो । विज्ञापनको ५० प्रतिशत उठाएर लिनुपथ्र्यो । ‘दसैं र नयाँ वर्षमा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिबाट शुभकामना विज्ञापन उठाउँथें,’ उनले संघर्षका दिन सम्झे, ‘त्यसले धनकुटा बसेर भात खान ठूलो सहयोग गर्यो । तर, मौसमी विज्ञापन भएकाले अरूबेला संकट पथ्र्यो । गोजीमा पैसा हुँदैनथ्यो । पसलमा कसैले पत्याउँदैनथे । केही रात भोकै बसें । केही रात थुक्पामा नुनमात्रै हालेर खाएँ ।’ सुरु–सुरुमा घरबाट अड्कलेर पठाइएको पैसाले जसोतसो महिना धान्नुपथ्र्यो । सुविधा कटौती भएपछि भोकै बस्नुपर्ने बाध्यता आइलाग्यो ।
नेपाल समाचारपत्र दैनिकका लागि तेह्रथुम संवाददाता खाली भयो । यो ०५६ सालतिरको कुरा हो । उनले निवेदन र समाचारको नमुना कुरियर गरेर पठाए । चार दिनपछि कुरियर गरेर पठाएको समाचार छापियो । ‘त्यसपछि सुरु भयोे व्यावसायिक पत्रकारिता । तेह्रथुमबाट समाचार लेख्न थालेपछि त्यहीं बसेर पत्रकारिता गर्न चुनौती थियो,’ उनले थपे, ‘६ महिनाजति तेह्रथुम बसेर काम गरें । भात खाएको र कोठाभाडा तिर्न नसकेर सबै सामान छाडेर धनकुटा फर्कें । घर जान्छु भनेर धनकुटा झरे पनि तेह्रथुम फर्किनँ । धनकुटा नजिक रहेका तेह्रथुमका गाउँठाउँ र धनकुटाका फिचर समाचार लेख्दै गएँ । त्यसपछि धनकुटाबाट लेख्ने अनुमति पाएँ ।’
नेपाल समाचारपत्रमा काम थालेको ६ महिनाको पारिश्रमिकले तेह्रथुममा गएर कोठाभाडा र होटलमा खाना खाएको ४ हजार ७ सय रुपैयाँ इमानदारपूर्वक बुझाए । त्यसपछि ओढ्ने ओछ्याउने बोकेर धनकुटा फर्के । ढिलै भए पनि पैसा बुझाउँदा होटल सञ्चालक दिदीले धन्यवाद दिएको उनले अझै बिर्सेका छैनन् । भात खाएर पैसा नतिरी हिँड्नेको दिदीसँग लामो सूची रहेछ ।
धनकुटाबाट पत्रकारिता गर्न केही सहज भयो । धरानबाट चरम आर्थिक संकट झेलेर धनकुटा फर्केका राजकुमार दिक्पालसँग संगत भयो । दिक्पाल जिल्ला विकास समितिको सामुदायिक विकास रेडियो कार्यक्रम चलाउँथे । ‘त्यो कार्यक्रम ०६५ फागुनदेखि ०७३ असार मसान्तसम्म मैले चलाएँ,’ उनले जोडे, ‘उहाँले मलाई लिएर गाउँ लैजानुहुन्थ्यो । रिपोर्टिङ गर्ने र लेख्ने सीप सिकाउनुभयो । पत्रकारिता गर्ने इच्छाशक्ति भएकालाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान राजकुमार दाइबाटै पाएँ । पत्रकारिता गर्छु भन्नेलाई म पनि सहयोग गर्ने र सञ्चारमध्यम खोज्न सघाइदिन्छु ।’ समाचार लेख्न र रिपोर्टिङ गर्नसमेत सिकाउने उनी आफूले गरेको सहयोगप्रति गौरवान्वित छन् । त्यस्तै भाइबहिनीको एक समूह धनकुटामा हुर्केेकोमा उनी दंग छन् ।
त्यसताका मासिक तीनदेखि पाँच हजार कमाउनु सामान्य होइन । त्यतिले खान बस्नलाई मज्जाले पुग्थ्यो । ०६४ मा नागरिक दैनिक प्रकाशन हुन थालेपछि उनले नेपाल समाचारपत्र छाडे । १० वर्षदेखि नागरिक दैनिकमा सम्बद्ध उनी धरानबाट प्रकाशित मर्निङपोस्टमा समेत रिपोर्टिङ गर्थे । फोटोसहितको समाचालाई २५ र समाचारलाई १० रुपैयाँ दिइन्थ्यो । मर्निङपोस्टबाट एक हजार पाँच सयसम्म हात पार्थे । त्यतिले कोठा भाडा तिर्न र दाल तरकारी किन्न पुग्थ्यो ।

‘दुई दशकको पत्रकारिता यात्रामा थुप्रै अवसर र चुनौती आए । त्यसलाई मैले सहजै स्वीकार गरेको छु,’ उनी भन्छन्, ‘०५५ मा नेपाल पत्रकार महासंघ धनकुटाले गरेको पत्रकारिता तालिम लिएको थिएँ । ०६३ मा खोज पत्रकारिता केन्द्रबाट १२ हप्ते पत्रकारिता पाठशाला पढ्ने अवसर पाएँ । त्यही पढाइले समाचार र समाजप्रति सोच्ने शक्ति र हेर्ने दृष्टिमा परिवर्तन गरायो ।’ द्वन्द्व पत्रकारितासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम लिएका उनलाई त्यतिबेला तालिमको सहजकर्ता बनाइएको थियो । यसबीचमा उनले दुई दर्जनभन्दा बढी तालिम लिए ।
पत्रकार सिद्धराज राई ०६८ मा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यमा निर्वाचित भए । साबिक पूर्वाञ्चल विकास क्षेत्रबाट प्रेस चौतारीले उनलाई टिकट दिनुपथ्र्यो । संगठनभित्रको गुटले उनलाई टिकट दिएन । ‘मसँग पैसा थिएन । मलाई साथ दिने साथी थिए । तर, नेता थिएनन्,’ उनले खुसी व्यक्त गरे, ‘टिकट नदिएपछि मैले विद्रोह गरें । बागी उम्मेदवार बनें । संगठनभित्रका धेरै दाइ र साथीहरूले साथ दिए । मैले चुनाव जितें । त्यो विजय मेरो जीवनको ऐतिहासिक बनेको थियो ।’
बागी उम्मेदवार निर्वाचित भएपछि उनलाई संगठनले कारबाही गर्यो । तर, उनले पत्रकारितालाई निरन्तरता दिए । महासंघमा उनले गरेको काम, संगठनलाई बचाउन खेलेको भूमिकाले ६ महिनाको कारबाही तीन महिनामै फुकुवा भयो । उनी ०६४ मै प्रेस चौतारी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसअघि दुई कार्यकाल प्रेस चौतारी धनकुटा जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेका थिए ।
पत्रकारिता भनेजस्तो र सोचेजस्तो सजिलो छैन । तर, राम्रो काम गर्नेका लागि सम्भावना र अवसर पनि छ । दुःखदेखि भाग्नेले पत्रकारिता गर्न सम्भव छैन । क्षमता र सीप भएकाले पत्रकारिता गरेर बाँच्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार