कलमजीवी कुम्भराज


‘तिमी पत्रकार भएर के गर्यौ ? पत्रकार भनेको त रवि लामिछानेजस्तो हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा स्कुलेका सहपाठीले भने, ‘रविजस्तो पत्रकारले मात्र सच्चा पत्रकारिता गरिरहेको छ ।’ यति सुनेपछि उनले सहापाठीसँग वादविवाद गर्न रुचाएनन् । तैपनि गफ गर्नेक्रममा लामै प्रस्टीकरण दिनुपर्यो । उनले आफैंसँग प्रतिप्रश्न गरे, ‘साँच्चै मैले पत्रकारिता गरेर के पाएँ । के गुमाएँ ?’
स्कुले सहपाठीले नयाँघरको तस्बिर फेसबुकमा पोस्ट गरे । घर भव्य देखिन्थ्यो । उनले त्यत्तिको घरको कल्पना जीवनमा गरेकै थिएनन् । भविष्यमा के हुन्छ भन्न सक्दैनन् । तीन महिनाअघि अर्का साथी ‘स्कार्पियो’ चढेर उनलाई भेट्न आए । खाजा खाएको पैसा उनले तिरे । जाबो खाजा खाको पैसा त म तिरिहाल्छु नि यार भन्दै सहपाठी रिसाए । पत्रकार कुम्भराज राईले भने, ‘खाजै खाको पैसा त म पनि तिरिहाल्छु नि ।’
स्कुलेजीवनका साथीहरूको आर्थिक प्रगति देख्दा उनलाई बेलाबेलामा गलत बाटो रोजें कि भन्ने लाग्थ्यो । पछिल्लो समय भ्रमबाट मुक्त भइसकेका छन् । ‘आफैंप्रति गर्व गर्न थालेको छु,’ पत्रकार राईले सुनाए, ‘म जे छु र जे गरिरहेको छु, यसैबाट सन्तुष्ट छु । पत्रकारिता गरेर मैले के गरें भन्ने मूल्यांकन गर्ने समय भइसकेको छैन ।’ केही दशक वा शताब्दीपछि समाजले पक्कै मूल्यांकन गर्ला । उनी ठोकुवा गर्छन्, ‘मैले क्षमताले जति सकेको छु, म आफू र मेरो परिवारका लागि मात्र नभएर समाजका लागि पनि गरिरहेको छु ।’
सानैदेखि उनको अक्षर राम्रो थियो । कक्षाका गुरुहरू उनको अक्षरको प्रशंसा गर्थे । गाउँमा भित्तेपत्रिका प्रकाशन गर्ने चलन थियो । उनकै एक दाजु पत्रिकाका सम्पादक थिए । एसएलसी पास गरेर सहरतिर लागे । ‘ठ्याक्कै बिर्सिए पनि मैले आठ/नौ कक्षा पढ्दादेखि हस्तलिखित भित्तेपत्रिका ‘सुनगाभा’ सम्पादन गर्थें,’ उनले जानकारी गराए, ‘लेख–रचना संकलन गर्ने, पाँच÷दस रुपैयाँ उठाउने र साइनपेन, ड्रइङ पेपर किनेर आकर्षक अक्षरमा रंगीन पत्रिका बनाएर गाउँको चोकमा रहेको सूचना पाटीमा पत्रिका टाँस्ने गरिन्थ्यो ।’
जानी नजानी उनले पत्रकारिता सुरु गरिसकेका थिए । उनका ठुल्दाइ वसन्त राई पनि पत्रकारिता गर्थे । दाइले लेखेका लेख र समाचार प्रकाशित भएको पत्रिका उनी बेलाबेला पढ्थे । संगीतकर्मी र रेडियोकर्मी बन्ने रुचि थियो । समयक्रमसँगै रुचि परिवर्तन हुँदै गए । अन्ततः उनी पत्रकारितामा लागे । सबैले चिन्ने र ठूलो मान्छे बन्ने सानैदेखिको रहर अझै पूरा भएको छैन ।
काठमाडौंमै आईए पढे । कहिले मजदुरी, कहिले सहकारीको ‘मार्केटिङ’ गर्दै आइए पास गरे । संवत् २०६२/०६३ को जनआन्दोलनमा राजाविरोधी नारा लगाउँदै राजधानीका सडक र कुनाकुनासम्म बेस्सरी कुदे । जनआन्दोलनपछि उनी गाउँ कटारी फर्के । कटारी फर्केपछि पहिलेदेखि कविता, मुक्तक, गजल, हाइकू, लघुकथा, कथा र नाटक लेख्ने अभ्यास गरिरहेका थिए । त्यतिखेर युवामञ्च, सैनिक आवाज, मधुपर्क, साप्ताहिकजस्ता पत्रिकामा फुटकर रचना छापिन्थे । उनको उपनाम ‘उदयपुरे ठूलोकान्छा’ थियो ।
कटारी फर्केपछि ‘स्पन्दन’ नामक साहित्यिक लघुपत्रिका प्रकाशन थाले । त्यतिखेरसम्म कटारीकै रंगकर्मी कृष्ण साह ‘यात्री’हरूले सुरु गरेको हवाई पत्रिका प्रकाशन गर्ने प्रचलन थियो । उनले त्यसलाई केही परिमार्जित गर्दै ठूलो आकारको लघुपत्रिका प्रकाशन गरेका थिए । पत्रिका पट्याउँदा खामको आकार हुन्थ्यो र प्राप्त गर्नेको नाम लेखेर लेखक तथा परिचित पाठकलाई पठाउँथे । धेरै अंक प्रकाशन नभए पनि स्केचसहित प्रकाशन हुने त्यो पत्रिका केही सर्जकले अत्यन्तै मन पराए ।
त्यही समय धनुषराजु राईहरूले कटारीमा साप्ताहिक पत्रिका प्रकाशन गुर्न लागेको खबर थाहा भयो । ‘मेरा सहपाठी हीरालाल अधिकारी दनुवारसमेत पत्रिका प्रकाशन टिममा रहेछन्,’ उनले अतीत सम्झे, ‘मैले पनि पत्रिकामा समाचार लेख्छु भनें । त्यसपछि एक दिन पत्रिका सम्पादन समूहकै बालकृष्ण घिमिरे (दुर्घटनामा परेर बितेका) ले पत्रिकाबारे आधारभूत अभिमुखीकरण तालिम दिनुभयो । त्यसपछि सुरु भयो अखबारी पत्रकारिताको सुरुवात ।’ साप्ताहिक रूपमा प्रकाशित ‘वेग’ कटारीकै पहिलो साप्ताहिक पत्रिका थियो ।
मधेस आन्दोलन चर्केको बेला पत्रिका छाप्न मधेसीजस्तै बनेर हीरालालसँगै साइकलमा लहान पुगेर फर्केको उनले बिर्सेका छैनन् । साइकलमा लहान पुगेर कटारी फर्कंदा एक सय पचास किलोमिटरभन्दा बढी साइकल यात्रा गर्नुपथ्र्यो । फर्केपछि साइकलको सिटले दुखाएको कारण उनी साता दिनसम्म कुर्सीमा सिधा बस्न सक्दैनथे ।
‘पत्रिकामा आफ्नो बाइलाइन समाचार छापिएकोमा मख्ख पर्थें,’ उनले थपे, ‘पत्रिकाले तलब दिन्छ भन्ने त कल्पनै थिएन । व्यवस्थापन समूहले सीमितलाई त्यतिखेर सीडीएमए मोबाइल वितरण गरेको थियो । मलगायत केहीलाई छुटाइयो ।’ बिस्तारै पत्रिका प्रकाशन समूहभित्र आन्तरिक कलह सुरु भयो । सम्पादक नै पत्रकारिताबारे अनभिज्ञ हुँदा कहिलेकाहीं संवाददाता मारमा पर्थे ।

त्यसपछि पत्रकार कुम्भराज राईले सहोदर दाइ वसन्त राईसँगको सम्पर्क माध्यमबाट हिमाल, नेपाल, आजको शिक्षा, दृष्टि साप्ताहिकमा ‘फ्रिल्यान्सर’ का रूपमा समाचार लेख्न थाले । त्यतिखेर कान्तिपुर पब्लिकेसनबाट बाहिरिएरका एउटा समूहले नागरिक दैनिक प्रकाशनमा ल्याए । कान्तिपुरमा पत्रकार आवश्यक परेको खबर गणेश राई
(किरात राई पत्रकार संघ संस्थापक अध्यक्ष) ले सुनाए । उनले उदयपुर संवाददाता हुन इच्छुक हुँदै आवेदन दिए ।
अन्ततः उनलाई ओखलढुंगा संवाददाताको भूमिका निर्वाहका लागि आग्रह गरियो । ०६५ माघ २५ गते उनी ओखलढुंगा संवाददाता भएर कान्तिपुर प्रवेश गरे । नियुक्ति भने महिना दिनपछि मात्र दिइयो । ‘ओखलढुंगालाई कार्यक्षेत्र बनाएको दस वर्ष पुग्नै लागिसकेको छ,’ उनले गर्व गरे, ‘कान्तिपुरले केही समयअघि उपसम्पादकमा बढुवा गरेको छ ।’ यसबीचमा अनेक संघर्षका कथा समेटिएका छन् । खोतलखातल गर्ने हो भने सानोसानो किताब बन्छ । मूल थातथलो ओखलढुंगाको उँबु भए पनि उनी उदयपुरको कटारीमै जन्मे हुर्के । उनले सोलुखुम्बुको सगरमाथा आधारशिविरसम्म पटक–पटक पुगेर रिपोर्टिङ गरिसकेका छन् ।
कान्तिपुरका वरिष्ठ उपसम्पादक गणेश राई, सहोदर दाइ वसन्त राई, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, डम्बरकृष्ण श्रेष्ठ, त्यतिबेला दृष्टि साप्ताहिकमा कार्यरत दीपक सापकोटा, नेपाल साप्ताहिकका पेशल आचार्य, युवामञ्चका तत्कालीन सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले पत्रकारितामा प्रवेश गर्न उनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले सहयोग गरे ।
‘पत्रकारितामा पनि अन्य क्षेत्रमा झैं मोफसललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन,’ उनले खुसी व्यक्त गरे, ‘तर, पहिलेभन्दा विभेद कम हुँदै गएको छ ।’ राजधानी बसेर लेख्ने पत्रकार राष्ट्रिय र जिल्लामा बसेर लेख्ने स्थानीय हुने सोच कतिपयमा अझै रहेको उनले दुःखेसो पोखे । जहाँ बसेर लेखे पनि पत्रकार पत्रकार नै हुन् । उसले लेखेका विषयवस्तु र मुद्दा अन्तर्राष्ट्रिय हुन सक्छ । ऊ कुन ठाउँमा बसेर लेखिरहेको छ भन्ने विषयले महत्व राख्दैन ।
‘अवसरको खोजी र प्रतिस्पर्धाका लागि खारिन राजधानीमै बसेर लेख्ने रहर पटक–पटक जागेकै हो,’ उनले खुलस्त पारे, ‘तर, सोचेजस्तो अवसर पाइएन । त्यसो भन्दैमा जिल्लामा असन्तुष्ट भएको पटक्कै होइन । अब त यतिविघ्न जिल्लाको लत बसिसक्यो कि राजधानी बस्न पनि सकिँदैनजस्तो लाग्छ ।’ पत्रकारिता पहिलेको जस्तो छैन । प्रविधिले संसार साँघुरिँदै गएको छ । उनी ओखलढुंगामै बसेर बेलाबेलामा मकवानपुर, पोखरा, वीरगन्ज, सोलुखुम्बु, इलाम, झापादेखि उदयपुरसम्मका फिचर स्टोरी लेख्छन् । ‘प्रविधिको माध्यमबाट सूचना लिन र त्यसलाई आकर्षक रूपले प्रस्तुत गर्न सक्दा आफू कार्यरत संस्थाले प्राथमिकता दिन्छ,’ उनको बुझाइ छ, ‘त्यसका लागि राजधानी बस्नैपर्छ भन्ने सोच गलत पुष्टि भइसकेको छ ।’
गाउँघरका कतिपय समाचार लेख्दा त्यसले तत्काल पारेको प्रभावको खनिखोस्री साध्य छैन । कतिलाई समाचारले पुनर्जीवन दिएको थियो । कतिले न्याय पाए । लेखिसाध्य छैन । ‘हजारौं समाचार लेखियो,’ उनको भनाइ छ, ‘पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्त आत्मसात् गर्दै पत्रकारिता गर्दा बेग्लै आनन्द अनूभूति हुँदोरहेछ । न त मलाई रवि लामिछानेजस्तै बन्ने भूत नै चढेको छ ।’

समाचार लेखेर जसोतसो परिवार धान्न पुगेको छ । ‘यसबाट कमाउने अपेक्षा गरेको छैन,’ उनको ठम्याइ छ, ‘किनभने यो व्यवसाय होइन । मैले करोडौँ लगानी गरेर कुनै व्यवसाय गरेको भए पो लाभको अपेक्षा गर्नु ।’ समाचार लेख्ने भोक मेटिएको छैन । भोक जहिलेसम्म मेटिँदैन तबसम्म समाचार लेखिरहने उनको धोको छ । अखबारी लेखनले साहित्य लेखन ओझेल परेको छ । त्यसलाई पनि निरन्तरता दिने कोसिस गर्दै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार