सहृदयी सन्दीप


समय, सभ्यता र प्रविधिको विकाससँगै सूचना आदान–प्रदानमा व्यापक परिवर्तन आएको छ । चीनमा विकसित काठको ब्लक, एक्टा ड्युर्ना, जोहान गुटेनवर्गले आविष्कार गरेको छापाखानादेखि अत्याधुनिक न्यु मिडियासम्म आइपुगेको छ । सूचना प्रविधि विकासले विश्व एउटै सूचना समाजमा रूपान्तरित भएको छ ।
इन्फरमेसन सुपरहाइवेका कारण विश्वका कुनै पनि एउटा कुनामा घटेका घटनाबारे क्षणभरमै हामी अर्को कुनामा थाहा पाउन सक्छौं । प्रविधि विकासका कारण औंलामै संसार अटाएको छ । सूचना प्रविधि यति तीव्र गतिमा विकास भइरहेको छ कि यसले केही समय अगाडिसम्म स्थापित पत्रकारिताको परिभाषा नै बदलिदिएको छ ।
‘सूचना प्रविधिले यति छिटो फड्को मार्यो कि एक/डेढ दशकमात्र अगाडि फर्किएर हेर्दा मात्र पनि हामी छुट्टै युगमा बाँचेको अनुभूति हुन्छ,’ पत्रकार सन्दीप राईले सुनाए, ‘जतिबेला हामी शब्दहरूको रोमाञ्चक खेलमैदान पत्रकारितामा लाग्न सिँगौरी खेलिरहेका थियौं । केही वर्ष अगाडि आफैं हिँडेको बाटो बिरानो लाग्छ ।’
साठीको दशकअघि गाउँघरतिर बाँसमा नाम, ठेगाना, सायरी लेख्ने प्रचलन थियो । मूलबाटो र चौतारीछेउछाका बाँसमा बटुवाले नाम, ठेगाना र सायरी कोर्थे । न पत्रपत्रिका न अहिलेको जस्तो फोन, सामाजिक सञ्जालको सुविधा । ‘बाँसमा कोरिएका सायरी पढेर मनोरञ्जन लिन्थें,’ पत्रकार राईले प्रस्ट्याए, ‘बाँसमा सायरीका साथै विभिन्न नैतिक शिक्षा, भनाइसमेत कोरिएको हुन्थ्यो । कसैले नकोरेका गज्जबको बाँसको आँख्ला एउटा चित्रकारका लागि क्यानभासझैं लाग्थ्यो । त्यतिबेला बाँस एकप्रकारले सञ्चारमाध्यम नै थियो भन्दा पनि हुन्छ ।’
ताप्लेजुङ र आठराई तेह्रथुमेहरू सिक्किम, दार्जिलिङ जाँदा पाँचथर फालेलुङ (सन्दीप राईको गाउँ) भएर आउजाउ गर्थे । फालेलुङ मूलबाटोमा पथ्र्यो । मूलबाटोका बाँसमा कतिपय बटुवाले आफ्ना भावना कोर्थे । कतिले नाम र ठेगानामात्रै कोरेका हुन्थे । ‘कतै–कतै हिन्दी सायरी पनि पढ्न पाइन्थ्यो,’ उनले जानकारी गराए, ‘बाँसमा कोरिएका नाम, ठेगानाकै आधारमा चिट्ठी लेखालेख हुन्थ्यो । कतिको घरबार जोडिन्थे ।’
‘अरूले बाँसमा लेखेको देखेर म पनि लेख्न नक्कल गर्थें । स्कुल जाँदा र फर्कंदा बाँसमा कोर्ने बानी बस्यो,’ उनले विगत सुनाएँ, ‘ताप्लेजुङ पुग्दा मैले बाँसमा नाम, ठेगाना लेखें । दुई महिनापछि ताप्लेजुङबाट मेरो नाममा दुई पत्र आयो ।’
त्यही समय हवाई पत्रिका प्रकाशन प्रचलन व्यापक थियो । आठ/नौ कक्षामा पढ्दा समूह बनाएर उनले पनि हवाई पत्रिका प्रकाशन थाले । पत्रिकामा लघुकथा, कविता, चुट्किला, पत्रमित्रलगायतको स्तम्भ हुन्थे । अहिलेका धेरै स्थापित साहित्यकार, पत्रकार त्यतिबेलाका हवाई पत्रिका सञ्चालक र अभियन्ता थिए । उनकोे नाममा समेत धनगढीदेखि बाग्लुङसम्मबाट प्रकाशित पत्रिका आउँथे ।
‘बाँस र हवाई पत्रिकामा लेख्दालेख्दै अलि–अलि समाचार लेख्न थालें,’ किरात राई पत्रकार संघ सचिवसमेत रहेका सन्दीप राईले भने, ‘गाउँघरको महत्वपूर्ण घटना/दुर्घटनाबारे समाचार लेखेर हुलाकमार्फत मोरङको पथरीबाट प्रकाशित हुने मोफसल साप्ताहिक र सदरमुकाम फिदिमबाट प्रकाशित पाँचथर टाइम्समा पठाउँथें ।’ आफूले लेखेको समाचार फिदिमबाट प्रकाशित पत्रिकामा समयमै प्रकाशित हुन्थ्यो भने मोफसल साप्ताहिकमा त दुई महिनापछि पनि समाचार छापिन्थ्यो ।’ यस्तो सुन्दा जोकोहीलाई अच्मम लाग्नु अस्वाभाविक होइन । आफ्नो बाइलाइनमा गाउँघरको समाचार छापिँदा खुसीको सीमा नहुने उनको भनाइ छ । पत्रिकामा ज–जसको नाम छापिएको हुन्थ्यो, उनीहरूले बक्सिस दिन्थे ।
संवत् २०६१ सालमा एसएलसी परीक्षा दिँदा उनी १७ वर्षका थिए । किताब निकाल्ने हुटहुटी थियो । तर, डिजाइन गर्ने ठाउँ, प्रेसबारे केही थाहा थिएन । मोफसल साप्ताहिकका सम्पादक/प्रकाशक नरेन्द्र राईलाई लामो पत्र लेखे । उनले प्रेससम्म पु¥याइदिने प्रतिउत्तर दिए । एसएलसी परीक्षा सक्नबित्तिकै किताब डिजाइनमा लागे । फिदिममै डिजाइन सकियो । नरेन्द्र राईको सहयोगमा विराटनगरको गजुरमुखी अफसेटबाट उनको पहिलो किताब ‘निसासिएको भावना’ रंगीन कलेबरमा छापियो । किताब प्रकाशितपछि पत्रकारिता र साहित्यिक क्षेत्रमा उनकोे परिचय फराकिलो बन्दै गयो ।
किताब तयार गरिसक्दा नसक्दै एसएलसीको नतिजा आयो । फिदिममा कलेज पढ्ने निधो गरे । ‘कलेजसँगै मेरो औपचारिक पत्रकारिता यात्रा सुरु भयो । सुरुका केही वर्ष मोफसल साप्ताहिककै पाँचथर संवाददाता बनेर काम गरें,’ उनले थपे, ‘त्यतिबेला इमेल, इन्टरनेट सुविधा थिएन । हातले समाचार लेखेर फ्याक्स गर्थें । त्यसयता काठमाडौं र पूर्वका ठूला सहरबाट प्रकाशित केही दैनिकमा पनि संवाददाताको भूमिका निर्वाह गरें ।’ उनले मानवअधिकार संगठन इन्सेकद्वारा सञ्चालित इन्सेक अनलाइनमा समेत पाँचथर प्रतिनिधिका रूपमा तीन वर्ष काम गरे ।
काम गर्दै जाँदा सम्बन्धित विषयमा जानकार हुनुपर्छ भन्ने अनुभूति भयो । एउटा विषयमा दस जोड दुईको अध्ययन सकिसकेका उनले पत्रकारिता पढ्न सुरु गरे । काम गराइ, अध्ययन र अनुभवले ग्रामीण पत्रकारिता प्रवद्र्धन गर्नुपर्छ भन्ने लाग्न थाल्यो । तसर्थ, ०६९ बाट उनकै नेतृत्वमा पब्लिक टाइम्स साप्ताहिक प्रकाशित हुँदै आएको छ । मोफसलमा पत्रिका चलाउनु चानचुने कुरा थिएन । त्यसअघिका पाँचथरका सबै पत्रिका प्रकाशन बन्द भइसकेका थिए । विविध चुनौतीका बाबजुद पत्रिकालाई अगाडि बढायौं । पब्लिक टाइम्स पाँचथरबाटै पहिलोपटक प्रेस काउन्सिल नेपालको ‘ख’ वर्गमा परेको छ । अहिले पनि यो पत्रिका पाँचथरकै ‘लिडिङ’ पत्रिकाका रूपमा प्रकाशित भइरहेको छ ।
पत्रकारितामोह झन्झन् झाँगियो । त्यसैले यसै विषयमा उच्चशिक्षा समेत हासिल गर्ने उद्देश्यले ०६९ को अन्त्यतिर काठमाडौं पसे । कलेज अफ जर्नालिज एन्ड मास कम्युनिकेसन, कलेजमा भर्ना भए । ‘नेपालकै ‘लिडिङ’ मिडिया हाउसमा कार्यरत साथीहरू क्लासमेट भएकाले कक्षाकोठामा सधैं रमाइलो हुन्थ्यो,’ उनले जोडे, ‘यसबीचमा मिडियासम्बन्धी रिसर्चमा संलग्न भएँ । रिसर्चले नेपालका मिडियाको अवस्था, लगानी, श्रमजीवी पत्रकारको अवस्था, मिडिया नीति र अभ्यास नजिकबाट नियाल्ने मौका मिल्यो ।’ अन्तर्राष्ट्रिय पत्रकारको उपस्थितिमा बेलाबेला कलेजमा हुने सेमिनारले मुलुकबाहिरको पत्रकारिताबारे जानकारी लिने मौका मिल्थ्यो । पढाइ सकिएपछि हिजोआज अनलाइन पत्रकारितामा संलग्न उनी पत्रकारको हक–हितका लागि गठित पत्रकारको विभिन्न संगठनमा संलग्न रही संगठित रूपमा नेपालको पत्रकारको समस्या, व्यावसायिक दक्षता, प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धी बहस–पैरवीमा लागिपरेका छन् ।
‘पत्रकारितामा संलग्न भएको समयको हिसाबले यो त्यति लामो समय होइन,’ उनको स्वीकारोक्ति छ, ‘तर, यो समयमा पत्रकारिता क्षेत्रमा भएको विकास र परिवर्तनको हिसाबले हेर्ने हो भने नेपाली पत्रकारिताले काँचुली फेरेको समय हो । हामीले पत्रकारिता सुरु गर्दै गर्दा राज्य र विद्रोही माओवादीको त्रास त थियो नै राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि मिडिया हाउसमा समेत सैनिकले परेड खेलेको थियो ।’
०६२/०६३ को जनआन्दोलनमा मिडियाले खेलेको भूमिका त्यत्तिकै प्रशंसनीय रह्यो । जनआन्दोलनमा एक सञ्चारकर्मीको हिसाबले उनी संलग्न थिए । वैशाख ६ गते राज्यले धरपकड गर्यो । उनी साता दिन थला परे । त्यतिबेला निर्मम पीडा सहनुपरे पनि आज स–सानो योगदानले देश संघीय व्यवस्थामा जाँदा गौरवान्वित छन् ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख छ । सूचना आयोग गठन भयो । मिडिया नीति बनेको छ । नीतिगतसँगै प्रविधिमा व्यापक विकास भएको छ । आज गाउँ–गाउँमा इमेल, इन्टरनेटको पहुँच छ । फ्याक्स मेसिन हेर्न म्युजियम पुग्नुपर्ने अवस्था छ । सयौं अनलाइन मिडिया सञ्चालनमा छन् । योग्य, दक्ष र व्यावसायिक पत्रकार बन्न समयसँगै विकसित प्रविधि पछ्याउनुको विकल्प छैन । ‘यहाँसम्म आइपुग्दा आफैंले हिँडेको बाटो फर्केर हेर्छु,’ उनले सम्झे, ‘मूलबाटोका बाँसले गर्ने कम्युनिकेसन सम्झँदा मन नोस्टाल्जिया हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार