सत्यवादी शुभ


क्याम्पसको पहिलो वर्षको पढाइ सकिएपछि शुभ मुकारुङलाई संसारमा आफूजत्तिको पत्रकारिता जान्ने र बुझ्ने अर्को मानिस छैन होला भन्ने लाग्यो । यस्तै सोचिरहेको अवस्थामा एक दिन राजेन्द्र लिङ्देन (शुभको दाइको साथी भएकाले उनी परिचित थिए) सँग भेट भयो । लिङ्देनले मुकारुङलाई के गर्दै छौ ? के पढ्दै छौ ? भनेर सोधे । आफूले पत्रकारिता पढ्दै गरेको शुभले जवाफ दिए । उनले शुभलाई प्रोत्साहित गर्दै भने, ‘लु राम्रो । तिमीलाई अभ्यास पनि हुन्छ । पकेट खर्च पनि पाइन्छ । कुमार यात्रुलाई भेट । मैले भेट्न पठाएको भन ।’
लिङ्देनले यात्रुको फोन नम्बरसमेत दिए । समयानुकूल हुनसाथ शुभले यात्रुलाई फोन गरे । रूपरेखा साप्ताहिक पत्रिकाको कार्यालय शंकरदेव क्याम्पसआसपास थियो । ‘म भर्याङ चढेर एक तलामाथि पुगें,’ उनी विगततिर फर्के, ‘कार्यालय सुनसानजस्तै थियो । दुईजना आ–आफ्नै सुरमा थिए । एकजना पत्रिका मिलाइरहेका । अर्का कुर्सीमा बसेर टेबुलमा पत्रिका पढिरहेका ।’
आफूले सोचेजस्तो कार्यालय थिएन । यताउति हेरे । उनी दोधारमा परे । कुर्सीमा बसेर पत्रिका पढ्दै गरेका व्यक्तिले कसलाई खोज्नुभयो होला भने । कुमार यात्रुलाई भनेपछि प्रश्नकर्ताले नरम स्वरमा भने, ‘आउनुस् बस्नुस् । कुमार यात्रु मै हुँ ।’ उनी छाँगाबाट खसेझैं भए । मनमनै सोचे, ‘हैट कुमार यात्रु, पत्रिकाको सम्पादक ? यस्ता पनि सम्पादक हुन्छन् होला र ? उनले त केही पनि जानेका छैनन् होला ।’
आफूले सोचेजस्तो सम्पादक आफ्नोसामु नपाउँदा उनलाई अचम्म लाग्नु स्वाभाविकै थियो । कुराकानी टुंगिनैलाग्दा यात्रुले शुभलाई भने, ‘तपार्इं पढेर आउनुभएको, म परेर आएको । काम गरौं । तपाईंले जानेको मलाई सिकाउनुस् । मैले जानेको तपार्इंलाई सिकाउँछु ।’ त्यसपछि उनलाई लाग्यो, ‘यो सम्पादकले केही जानेको रहेनछ । त्यसैले मलाई पो सिकाउ भन्न थाल्यो ।’
‘सम्पादकले तोकेको विषयमाथि रिपोर्टिङ गर्ने र आलेख त्यति धेरै लेखिनँ,’ उनले सम्झे, ‘दुई/चार समाचार छापिए होलान् । मन लाग्दामात्रै कार्यालय जान्थें । आफू भित्रभित्रै पत्रकार भइसकेको थिएँ ।’ रूपरेखामा उनको एउटा फोटो फिचर प्रकाशित भयो । फोटो फिचर प्राथमिकतासाथ प्रकाशित भएको थियो । उनी परिपक्व बन्दै गए । सम्पादक कुमार यात्रुको व्यक्तित्व बुझ्न थालेपछि उनी लाजले पानी–पानी भए । फलेको हाँगो कसरी झुक्दो रै’छ भन्ने वास्तविकता थाहा पाए ।
रूपरेखाबाट विमोचन मासिकतिर पुगे । कहिलेकाहीं विमर्श साप्ताहिकतिर धाउँथे । त्यहाँ पेशल पोख्रेल र संकेत कोइराला कार्यरत थिए । विमोचन र विमर्शमा उनको आलेख छापिन्थे । त्यही समय ‘गोर्खा सैनिक आवाज’ नामक मासिक पत्रिका प्रकाशन सुरु भयो । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकद्वारा प्रकाशित गोर्खा सैनिकमा उनी पर्दापछाडि रहेर काम गर्थे । उनले गोर्खा सैनिक आवाजमा व्यावसायिक पत्रकार भएर जागिर खाए । त्यसको अलावा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकामा थोरै आफ्नै र धेरै छद्म नाममा आलेख लेखे ।
‘जब–जब परिपक्व हुँदै गएँ,’ गीतकारसमेत रहेका उनले वास्तविकता सुनाए, ‘आफूले आफैंलाई समीक्षा गरें । ममा असल पत्रकार बन्ने गुण नपाएपछि पत्रकार बन्ने सपना देख्न छाडें । तर पनि साहित्यिक, सांस्कृतिक पत्रकारिताबाट अलग हुन सकिनँ । तर, सक्रिय पत्रकारितामा भने रहिरहन सकिनँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार