‘करिअर’ को सबैभन्दा राम्रो ‘स्टोरी’ लेख्न बाँकी

नुनुता राई

सम्बन्धित मानिसको आ–आफ्नै पहिचान हुन्छ । पहिचानलाई कसरी स्थापित गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिमा भर पर्छ । नेपाली पत्रकारितामा ओमआस्था राईको छुट्टै पहिचान छ । राईले विशिष्ट पहिचान बनाउन धेरै मिहिनेत गरे । सामान्य परिवारमा जन्मेका उनी नेपाली पत्रकारितामा परिचित नाम हो ।
‘सानैदेखि पाठ्यक्रमबाहिरका पुस्तक पढ्न रुचाउँथें । घरमा कसैले पत्रिका किनेर ल्याउने चलन थिएन । जे भेट्यो त्यही पढ्थें,’ उनले सुनाए, ‘बाटोमा फालिएका पत्रिकासमेत टिपेर पढ्थें । पत्रिकामा लेखिएका सबै–सबै पढ्थें ।’
कलेज टेकेपछि साहित्य तथा पत्रकारितामा लागेकासँग उनको संगत बढ्यो । उनीहरूको संगतमा कविता वाचन गर्दै हिँड्न थाले । उनले त्यसबेलाको माहोल सम्झे, ‘धरानमा प्रत्येक साता कुनै न कुनै साहित्यिक कार्यक्रम हुन्थ्यो । म पनि पुग्थें । दिनभरि कविता सुन्थें । सुनाउँथें । साँझपख घर फर्कन्थें ।’
समय त्यसरी नै बितिरहेको थियो । साहित्यमा लागेर गुजारा चल्दैथ्यो । उनले धरानबाट प्रकाशित पत्रिकामा काम गर्न थाले । ‘सुरु–सुरुमा सित्तैमा काम गर्थें,’ उनले अतीत सुनाए, ‘त्यसपछि मासिक पाँच सय पाउन थालें ।’ धरान टुडेको ‘न्युज रुम’ मा उनी सबैभन्दा सानो थिए । घोटिएर घाम गर्थे । भन्छन्, ‘पत्रिकाको काम सकिँदा रातको दुई बज्थ्यो । चिसो भुँइमा सुत्नुपथ्र्यो । खाना खाने पैसा हुँदैनथ्यो ।’
त्यसबेला कप्युटरमा समाचार लेख्ने चलन थिएन । सबैले कागजमै समाचार लेख्थे । धरान टुडेपछि विभिन्न स्थानीय पत्रिकामा काम गर्दागर्दै उनी राजधानी दैनिकको संवाददाता भए । सुरुमा राजधानीले राम्रै पैसा दिन्थ्यो । पैसा दिन छाडेपछि उनी फेरि स्थानीय पत्रकारितामा फर्के । त्यसपछि साथीहरूसँग मिलेर धरान टाइम्स निकाल्न थाले ।
त्यहीबेला युवराज घिमिरेले कान्तिपुर सम्पादकबाट राजीनामा दिई समय साप्ताहिक सुरु गरे । राजधानी दैनिकका सम्पादक जीवेन्द्र सिम्खडा समयका कार्यकारी सम्पादक नियुक्त भए । सिंखडाले पूर्वाञ्चल संवाददातामा राईको नाम सिफारिस गरे ।
समयमा काम गर्दागर्दै सम्पादक घिमिरेले राईलाई भारतको चेन्नईमा रहेको एसियन कलेज अफ जर्नालिजममा पत्रकारिता पढ्न पठाए । साउथ एसिया फाउन्डेसनको मदनजित सिंह छात्रवृत्तिमा उनले एक वर्ष छापा पत्रकारिता पढे । राम्रो अंक लिएर नेपाल फर्केका उनी पत्रकारकै भूमिकामा छन् ।
कान्तिपुर पब्लिकेसनबाट बाहिरिएका ज्ञवाली समूहले नागरिक दैनिक प्रकाशन थाले । समय साप्ताहिकको समूह नागरिकमा मिसियो । चेन्नई बस्दा अंग्रेजी पत्रकारिताको चस्का लागेको थियो । उनी रिपब्लिकामा काम गर्न थाले । रिपब्लिकामा काम गर्दागर्दै नेपाली टाइम्सले काम गर्ने अवसर दियो । नेपालमा मात्र नभई, विश्वकै पत्रकारले चिन्ने, मान्ने पत्रकार कुन्द दीक्षितसँग काम गर्ने अवसर उनले गुमाउन चाहेनन् ।
राईले पत्रकारिता गरेको १५ वर्षभन्दा बढी भयो । उनी आफ्नो ‘करिअर’ को सबैभन्दा राम्रो ‘स्टोरी’ लेख्न बाँकी नै रहेको ठान्छन् । भने, ‘म न्युज ब्रेक गर्ने पत्रकार होइन । म स्टोरी टेलिङलाई प्राथमिकता दिन्छु । सामान्य र अरुचिकर विषयलाई पनि सरल र चाखलाग्दोपाराले लेख्न सक्छु । यो नै मेरो विशेषता हो ।’
पत्रकारितामा धेरै मिहिनेत गर्नुपर्ने उनको बुझाइ छ । धेरै पढ्नुपर्ने, अनुसन्धान गर्नुपर्ने तर पैसा भने कम हुने भएकाले यो क्षेत्रमा जोकोही टिक्न नसक्ने उनको भनाइ छ । ‘कहिलेकाहीं त बेकारमै यो क्षेत्रमा आएछुजस्तो लाग्छ,’ ओमआस्था राईले पुछारमा चित्त बुझाए, ‘आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट त कोही पनि छैनन् होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार