अरूणमा फाल्दिने तात्कालिक माओवादीको धम्की


पूर्वपत्रकार राजधन कुलुङले २०५७ को अन्तिम महिनाबाट एक गैरसरकारी संस्था (गैसस) को कर्मचारीका रूपमा सार्वजनिक जीवन सुरु गरे । गैसस र तिनका कर्मचारीलाई माओवादीले राम्रो मान्दैनथे । जहाँ भेट्यो त्यहीं गाली गर्थे । ०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति निर्मम थिएनन् ।
संकटकाल घोषणासँगै तात्कालिक सरकारले माओवादीमात्र होइन, उनीहरूप्रति सद्भाव राख्नेमाथि कडा नीति बनायो । धेरैले अनाहकमा राज्यपक्षबाट ज्यान गुमाए । यातना पाए । गाउँघरमा महासंकट नै झेल्नुपर्यो । ‘त्यो समय संखुवासभाको विकट गाउँ पावाखोला थिएँ । दुर्गम गाउँ भएकाले संकटकालको प्रभाव थिएन,’ उनले सुनाए, ‘अहिलेजस्तो मोबाइल थिएन । मंसिर १४ गते त्यहाँबाट खाँदबारीतिर लागें । नुम बजार पुग्दा संकटकालकोे प्रभाव अनुभूति भयो । आत्मसमर्पण गर्न स्थानीय लाम लागेर सदरमुकाम गइरहेका थिए ।’ आत्मसमर्पण नगरे घर–घर पुगेर सेनाले समात्ने हल्ला व्यापक रहेछ । आत्मसमर्पण गर्नेको लस्करले बाटो र बास पाउन मुस्किल थियो । त्यो दृश्य कथामा पढेको भारत–पाकिस्तान विभाजनपछि सिमाना पार गर्ने हिन्दु तथा मुस्लिमको भीडजस्तै लाग्थ्यो ।
सरकारको अन्धाधुन्ध दमनले विद्रोह मौलायो । सरकारजस्तै माओवादी संकटकालसँगै कठोर बने । गैसस र उनीहरूलाई प्रश्न उठाउने तारो बने । माओवादीले गाउँ खाली गर्दै सबैलाई काम गर्न रोक लगाउन थाले । जताबाट आएको उतै नफर्के राम्रो नहुने चेतावनी दिन्थे । ‘त्यस्तो थर्काइ माओवादीबाट दर्जनौंपटक मैले पनि पाएँ,’ उनले कहालिलाग्दो अतीत सम्झे, ‘गोविन्द गिरीलाई जस्तै अरूणमा फाल्दिन्छौं भन्थे । जिल्ला वन कार्यालय, संखुवासभाका वनरक्षक गिरीलाई माओवादीले सरकारीपक्षको जासुस गरेको आरोपमा हातखुट्टा बाँधेर फ्याक्सिन्दा पुलबाट ०५९ जेठमा जिउँदै अरूण नदीमा फालेका थिए ।’
संवत् ०५९ असार अन्तिम साता उनी र उनले काम गर्ने संस्थाका कार्यक्रम संयोजकलाई माओवादीले अपहरण गरेर अनकन्टार गाउँमा राखे । केरकारपछि कार्यक्रम रोक्ने चेतावनीसहित मुक्त गरे ।
सरकारी पक्ष पनि गैससलाई शंकाको दृष्टि हेर्थे । माओवादीसँग मिलेर गाउँमा काम गरेको उनीहरूले आरोप लगाउँथे । तसर्थ, सेना तथा प्रहरीले गैससका कर्मचारीबारे गोप्य जानकारी लिइरहन्थे । मानसिक यातना दिन्थे । उनलेसमेत त्यस्तो दुव्र्यवहार झेले । खाँदबारीमा रहेको उनको डेरामा सेनाले खानतलासी ग¥यो । तल्लो तहका गैससकर्मी दुईतिरको चेपुवामा थिए । धेरैलाई ‘डिप्रेसन’ भएको थियो ।
सदरमुकामवरिपरि काम गर्नेलाई समस्या धेरै थिएन । तर, उनीजस्ता ग्रामीण क्षेत्रमा काम गर्नेलाई अप्ठ्यारो थियो । उनले द्वन्द्वताका साबिक हटिया, पावाखोला, नुम, मत्स्यपोखरी, दिदिङ, बाह्रबिसे, सभापोखरी, जलजला, सिद्धपोखरी, सिद्धकाली, नुनढाकी, मावादिन, मादीरामबेनी, मादीमूलखर्क, तामाफोकलगायत गाविसमा काम गरेका थिए । उल्लिखित क्षेत्र सबैभन्दा संवेदशील मानिन्थ्यो ।
जताततै अँध्यारो छाएको बेला थोरै भए पनि आशाको सन्देश लिएर गाउँगाउँमा पुग्ने गैसस कर्मचारी थिए । उनीहरू भोलि अवश्य राम्रो हुनेछ भनेर जनतालाई सपना देखाइरहन्थे । चौतर्फी चुनौती थियो । ‘बोल्न मन लाग्थ्यो । आफ्ना विचार धक फुकाएर राख्न मन लाग्थ्यो,’ उनको भनाइ थियो, ‘पीडा पोख्न मन लाग्थ्यो । विचार राख्न सजिलो थिएन । सार्वजनिक अभिव्यक्ति दिउँ सरकार र विद्रोहीपक्षको तारो बन्नुपथ्र्याे । सकेसम्म जोखिमबाट बच्दै काम गर्नु वा जागिर त्याग्नुको विकल्प थिएन ।’
वास्तवमै अत्यासलाग्दो समय थियो । सबै दलसम्बद्ध नेता सातो हराएको मान्छेजस्ता देखिन्थे । तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र दरबारमा बुझाइसकेका थिए । माओवादीको विद्रोह र ज्ञानेन्द्र शाहको तानाशाह उत्कर्षमा थियो । ‘मलगायत गैससमा काम गर्ने युवा पीडा पोख्ने चौतारी खोजीमा तड्पिएका थियौं,’ उनले वास्तविकता सार्वजनिक गरे, ‘दुवै पक्षले दिएको ताड्ना र मनका तरंग बिसाउने विकल्प खोजीमा थिएँ । एउटा यस्तो थलो निर्माण गर्न सकियोस्, जुन साँच्चै उन्मुक्तिको प्रतीक बनोस् । त्यसमा स्वतन्त्र मानिसका, स्वतन्त्र र उन्मुक्त विचार राख्न पाइयोस् । कहीं कसैको नियन्त्रण नहोस् भन्ने कल्पना गर्थें ।’
तर, कसरी ?
अन्ततः उनी पत्रिका प्रकाशन गर्ने सोचमा पुगे । केही साथीसँग छलफल गरे । सबै उत्साहित भए । पत्रिका प्रकाशन हुने भयो । ०६२ मंसिरमा हाम्रो स्वाभिमान मासिक नामक म्यागेजिन जिल्ला प्रशासन कार्यालय संखुवासभामा दर्ता गरी पहिलो अंक प्रकाशित भयो ।
‘म गैससमा काम गरिरहेको मान्छे । एकाएक पत्रिका प्रकाशन गर्ने आँट गरें,’ उनले भने, ‘पत्रिका प्रकाशनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान थिएन । जब काम थालियो, अनि थाहा हुँदै गयो । यो काम त महाभारत नै रहेछ । म अन्जानमै पत्रकार भनिएँ ।’ पत्रिका प्रकाशित गर्ने भनेपछि त्यसमा केही छापिन पर्यो। छाप्नलाई लेख्नैप¥यो । बाध्यताले लेख्न सिके । उनलाई पत्रकारिताप्रति रस भिज्दै गयो । दुःखको कुरा स्वाभिमान मासिक चार अंकपछि बन्द भयो ।
दोस्रो जनआन्दोलन सफलतासँगै माओवादी शान्तिपूर्ण राजनीतिमा आए । ०६३ चैतबाट उनले मकालु सन्देश साप्ताहिकको सम्पादकको भूमिका निर्वाह गरे । मासिक पत्रिका निकाल्दाको अनुभवले साप्ताहिक पत्रिकामा काम दियो । ‘पत्रकारितामै जीवन बिताउँला भनेर छँदाखाँदाको जागिर छाडेको थिएँ । तर, जिन्दगी सोचेजस्तो सरल नहुने रहेछ,’ राजधन कुलुङको स्वीकारोक्ति थियो, ‘तीन वर्ष मकालु सन्देश साप्ताहिकको सम्पादक भएर काम गरें । त्यसबीचमा काठमाडौंबाट प्रकाशित सञ्चारमाध्यमको प्रतिनिधिका रूपमा पनि काम गरें । म्यागेजिनमा लेखें । नयाँ पत्रिकाले काठमाडौंमै बसेर काम गर्न पनि बोलायो ।’
‘चार वर्षको सक्रिय पत्रकारिताले मजस्तो गुण भएको प्राणीले पत्रकारिता गरेरै खान गाह्रो रहेछ,’  उनको ठम्याइ थियो, ‘सामान्यतः मोफसलमा पत्रकारिता गरेर जीवन धान्न या पैसा कमाउन अरू नै गुण चाहिने रहेछ ।’ म, श्रीमती र बालबच्चा भएको मानिसलाई पत्रिकाले दिने केही हजार तलबले काठमाडौंमा बाँचुला लागेन । ‘मैले पत्रकारिता गरिखानु थिएन । नयाँ अफर अस्वीकार गरी काठमाडौं गइनँ,’ उनले प्रस्ट्याए, ‘जिन्दगी पाल्नैपर्यो । पार्टटाइमका रूपमा पत्रकारिता गर्दै गैससकै कर्मचारी भएर सोलुखुम्बुको दुर्गम गाउँतिर लागें । उमेर उकालो लाग्दै गर्दा गैसस पनि असुरक्षित र शोषक लाग्न थाल्यो ।’
तीन वर्ष ६ महिना सोलुखुम्बु बसाइपछि लोकसेवा आयोग परीक्षा उत्तीर्ण गरी निजामती कर्मचारी बन्न पुगेका उनलाई पत्रकारितामा उस्तै रुचि छ । तर, लेख्न भने सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार