‘म सहिद हुँदा पार्टीलाई धेरै क्षति हुन्छ’

राजुविक्रम चाम्लिङ

देशले रगत मागे, मलाई बलि चढाउनू

रुँदिनन् मेरी आमा उनी नेपालीकी छोरी

इतिहासमा सहिदहरूले बलिदान गरेका कारण नै बाँच्नेले सहज तरिकाले सास फेर्न पाएका छन् । विश्वको महान् क्रान्तिहरूमात्र होइन, नेपालको परिवर्तनमा तिनै योद्धाहरूले गरेको क्रान्ति र बलिदानले हामी नेपाली भनेर गौरवानुभूति गर्न पाएका हौं । जहानियाँ राणा शासन अन्त्य गर्न सुरु गरेको चार सहिदहरूको निरन्तरता २००७ को क्रान्ति, २०४६ को जनआन्दोलनपछि केही परिवर्तन भए । त्यतिमात्र काफी थिएन । अँध्यारोमा बाँचिरहेका नेपालीलाई उज्यालोमै बाँच्नुपर्छ भन्नेर व्युँझाउने चेतना दसवर्षे सशस्त्र जनयुद्धले गर्यो । त्यसैगरी २०६२/०६३ को जनआन्दोलन सफल भयो । नेपालको इतिहासमा सबै क्रान्ति र आन्दोलनको उत्तिकै महत्वपूर्ण स्थान छ । तर पनि नेपालको इतिहासमा दसवर्षे जनयुद्धले नै विश्वमा नेपालको परिवर्तनका लागि रक्तिम साँझ भनेर चिनिएको छ ।

जनयुद्धमा बलिदान गर्न सफल योद्धामध्ये एक हुन्– रीतबहादुर खड्का क. प्रताप । गौरीशंकर गाउँपालिका–२ (साबिकको जुबु गाविस) दोलखामा २०२८ भदौ १० मा जन्मेका क. प्रतापले ०५९ असार २ गते रौतहतको पिपरामा शहादत पाएका थिए । इमानदार र पार्टीको जिम्मेवारप्रति दृढ स्वभावका उनी पूर्वी जिल्लाको नेतृत्वमध्ये सक्षम र सफल थिए । उनलाई जनयुद्धकालीन चम्किला ताराका रूपमा चिनिन्छ । उनले चम्किला रातो तारा पुस्तक नै लेखेर संघर्षको लाइन भौतिकमात्र होइन, बौद्धिक योगदान पुर्याए । उनको तस्बिरमा सम्मानस्वरूप शहादतप्राप्त १६औं वर्षगाँठमा नेपाल कम्युनिस्ट पार्टीले पेरिसडाँडामा माल्यार्पण गर्दै सम्मान गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माल्यार्पण गरेपछि पार्टीसम्बद्ध कार्यकर्ताले समेत सम्मान गरेका थिए ।

तत्कालीन सहपाठी जनयुद्धमा दुस्मनको गोलीबाट बच्न सफल भई पार्टीमा निरन्तर लागिराखेका सुमन लामा ‘सौजन्य’ ले विगतका यथार्थ कोट्याए । ०५८ मा क. प्रताप पार्टी केन्द्रीय समितिमा रहेर जनताको घरदैलो जनअभियानक्रममा जनसेनाका रूपमा विभिन्न स्थानमा पटक–पटक सँगै लडेका थिए । ०५८ मा सोलुको सल्लेरी आक्रमण गर्दा क. प्रताप पूर्वी अस्थायी बटालियन ३ नम्बर कम्पनी खोटाङ र भोजपुरको इन्चार्ज थिए । त्यसताका पूर्व बढ्नेक्रममा ओखलढुंगाको पात्ले पुग्दै गर्दा तत्कालीन शाही सेनाको एम्बुसमा पर्दा उनले दौडेर ज्यान जोगाएका थिए । त्यतिबेला उनले विवाह गरेको १५ दिनमात्र भएको थियो ।
‘उनकी श्रीमती क. इन्दिरा जनयुद्धमा हिँडेको त्यति नै दिन भएको थियो । क. इन्दिरा केही परै रहेको समयमा क. प्रतीकले लिएर आउनुभयो,’ सुमन लामाले सुनाए, ‘सो समय क. इन्दिराले क. प्रतीकलाई भन्नुभयो– बन्दुक पडकेपछि श्रीमती, परिवार कसैको माया नहुँदोरहेछ । लगत्तै क. प्रतापले जवाफ दिनुभयो– क्रान्तिमा तिमी सहिद हुँदा पार्टीलाई कम असर पर्न सक्छ तर म सहिद हुँदा पार्टीलाई धेरै क्षति हुन सक्छ ।’

वास्तवमा सफल नेतृत्वविना क्रान्ति सफल हुँदैन । यसकारण समय र परिस्थितिअनुसार समयसँग चल्नुपर्छ । त्यही समय एम्बुसका कारण आधा कम्पनी कुइभीरतिर र आधा पूर्वतिर छरपस्ट भए । केही समयपश्चात् पूर्व गएको कम्पनीको समूहलाई बोलाएर १ र ३ कम्पनीको संयुक्त फौजी प्रशिक्षण कार्य गरेर सालेवाबाट अन्तिम प्रशिक्षण दिएर छुटेका थिए । भारतमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठक सकेर फर्कंदै गर्दा तात्कालिक शाही सेनाको घेरामा परी रीतबहादुर खड्काले रौतहतको पिपरामा शहादत प्राप्त गरे ।
स्मरण रहोस् समाज र राष्ट्र परिवर्तन खातिर बलिदान आफैंमा महान् हो । तर, सहिदको रगतले मागेको परिवर्तन बिर्सेर नेतृत्वले सहिदको अपमान गरे निश्चय त्यो समाज र राष्ट्रले होइन, ऊ आफैं आत्मग्लानिको सिकार हुनुपर्नेछ । सहिदको रगत, सहिदको मूल्यांकन एक मिनेट मौनधारणमा र सहिद स्तम्भमा मात्रै होइन, आमनेपालीले सहिदको सम्मान गर्नुपर्छ । अन्यथा क. प्रतापले अढाई करोड नेपालीका छोराछोरी हुँदाहुँदै आफैंले देशले रगत मागे, मलाई बलि चढाउनू, रुँदिनन् मेरी आमा उनी नेपालीकी छोरी भनेर सारेको पाइलाको कुनै अर्थ रहँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार