बलशाली बाला


एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् । उच्च शिक्षा अध्ययनका लागि एक झोला रहर बोकेर काठमाडौं झरेकी उनलाई कुन विषय पढ्ने भन्नेसमेत थाहा थिएन ।
बुवा माओ राई काठमाडौं थिए । बुवा भएपछि काठमाडौंमा त्यति गाह्रो भएन । ‘तैंले पत्रकारिता विषय लिएर आरआर क्याम्पसमा पढ्नुपर्छ,’ काठमाडौं झरेकै दिन बुवाले भन्नुभएको प्रसंग कोट्याउँदै बालाचन्द्र थुलुङले वास्तविकता सुनाइन्, ‘के हो पत्रकारिता भनेको ? मैले उत्सुकतासहित बुवालाई सोधेकी थिएँ ।’
पत्रकारिता पढेर पत्रकार बन्नुपर्छ भनेर बुवाले सुझाएपछि पत्रकार थुलुङलाई ‘पत्रकार’ शब्दले कौतूहल जगायो । ‘क्याम्पस गएँ । पढाइ अगाडि बढिसकेको रहेछ,’ उनले सम्झिन्, ‘साथीहरूसँग नोट मागेर सारें । पुस्तक खासै थिएन । भएका पनि विदेशी लेखकले लेखेको अंग्रेजी भाषाको मात्रै । बुझ्नै गाह्रो ।’ कार्यक्षेत्र पुगेर प्रयोगात्मक अभ्यास बढी गर्नुपथ्र्यो ।
दसैं–तिहारको एकमहिने बिदामा एकैपटक पाँचवटा ‘एसाइनमेन’ दिँदा टाउको नदुख्ने कुरै भएन । ‘समूहमा साथी–साथीबीच सहयोग गरागर गथ्र्यौं,’ उनले विगत कोट्याइन्, ‘एक्लाएक्लै गर्नुपर्दा के लेख्ने ? कसरी लेख्ने ? भनेर दाँतबाट पसिना निस्कन्थ्यो ।’
अध्ययन अगाडि बढ्दै गयो । ‘इन्टर्नसिप’ अनिवार्य जानुपर्ने पथ्र्यो । त्यतिबेला इन्टर्नसिपका लागि उनी जुन सञ्चारमाध्यममा पुगिन्, त्यहाँ कार्यरत पत्रकारले सहयोग गरे । लेख्न सिकाए । सिक्दै गएपछि पत्रकारिता रमाइलो लाग्न थाल्यो ।

आरआर क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर तहसम्म अध्ययन गरिन् । पढाइसँगै जागिरले निरन्तरता पायो । सन् २००२ बाट अन्नपूर्णपोस्ट दैनिक प्रकाशित हुन थाल्यो । उनले सन् २००२ देखि २०११ सम्म अन्नपूर्णपोस्टमा काम गरिन् । नौ वर्ष एउटै दैनिक पत्रिकामा संवाददाताको भूमिका निर्वाह गर्दा नाम, दाम, इज्जत, सम्मान पाउँदा कम्ती खुसी छैनन् ।
सन् २०१० मा अन्नपूर्णपोस्ट दैनिकको प्रतिनिधित्व गर्दै भारतको नयाँदिल्लीमा रहेको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट डेभलपमेन्ट जर्नालिजममा डिप्लोमा कोर्स गरेकी उनको कर्मघर कोरिया बन्न पुग्यो । ‘कोरिया आइपुगे पनि आफूले जानेको सीप सदुपयोग गर्न सकिने रहेछ,’ उनले खुसी व्यक्त गरिन्, ‘कोरियामा समेत पत्रकारिताबाट टाढिएको छैन । साथीहरूसँगको सहकार्यमा फोनिज कोरिया डट नेट सञ्चालन गरेर पत्रकारितालाई निरन्तरता दिँदै आएकी छु ।’
नेपालमा रहँदा झन्डै एक दशक व्यावसायिक पत्रकारिता गरेकी उनी दिन–रात समाचारका लागि सूचना तथा जानकारी खोज्ने र समाचार लेख्नमै व्यस्त रहिन् । त्यस अर्थमा कोरियाको पत्रकारिता सजिलो छ । भनिन्, ‘कोरियाको पत्रकारिता मन लागेको बेला लेख्ने । अझ भनौं सोखिन पत्रकारिताजस्तै भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार