काँग्रेसको घरमा उपचार गर्न नजाने बडहरे स्वास्थ्यचौकीका अहेब ‘ट्रयाक’ मा


दुर्छिम (खोटाङ) । कार्यालय समयमा स्वास्थ्यचौकीमा रहनुपर्ने अहेब शिवनारायण साह हलेसी जाँदै थिए । आफ्नो सुमो गाडी आफैंले गुडाउँदै हलेसी जाँदै गरेको हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले दुर्छिमको छापडाँडामा दिउँसो १२ः३० बजे देखे । नगरप्रमुख राईलाई देखेपछि बडहरे स्वास्थ्यचौकीका अहेब साह गाडीबाटै मुसुक्क मुस्कुराए ।

अहेब साहको गाडी अगाडि बढ्यो । नगरप्रमुख राईले इलाका प्रहरी कार्यालय हलेसीमा सिकायत गरे । हलेसी पुग्नसाथ उनी समातिए । एक्कासि समातिएपछि उनी तीनछक परे । गाडी गुडाइरहेका उनी समातिएपछि हलेसी बजारवासी आश्चर्यमा परे । सुरक्षाकर्मीले पक्राउ गर्नुका कारण जानकारी गराउँदै उनलाई कष्टडीमा हाले । कार्यालय समयमा सेवाग्राहीको सेवामा जुट्नुपर्ने उनले गाडी चलाउँदै हिँडेपछि पक्राउ परेका थिए ।

पाँच/सात घन्टा कष्टडीमा बसेपछि रिहा भए पनि नानीदेखि लागेको उनको बानी हटेको थिएन । ‘उनी काँग्रेसको घरमा उपचार गर्न जान चाहँदैनथे,’ हलेसी–तुवाचुङ नगरपालिकाका जिम्मेवार भूमिकामा रहेका जनप्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मन नपरेको मान्छेको घरमा उपचार गर्न जान पटक्कै मान्दैनथे । स्वास्थ्यकर्मी भएपछि त्यस्तो गर्न सुहाउँदैन नि ।’

हलेसी–तुवाचुङ नगरपालिका–४ बडहरेमा घरसमेत ठड्याइसकेका साहले मिल, किराना पसल र मेडिकल सञ्चालन गरेका छन् । उनले चर्को मूल्यमा औषधि बेच्ने गरेको नगरपालिकामै उजुरी परेको थियो । स्वास्थ्यचौकीमा औषधि भए पो औषधोपचार गर्नु भन्दै आफैं भौंतारिन्थे । स्वास्थ्यचौकीमा कार्यरत एक कर्मचारीले सुनाए, ‘नगरपालिकाले औषधि पठाउँदैन, नपठाएपछि केले औषधोपचार गर्ने ? औषधि नपठाउने नगरपालिकामा ताला लगाइदिनुपर्छ ।’ उनी सधैं भौंतारिएपछि जनप्रतिनिधिलगायत स्थानीयको उपस्थितिमा स्वास्थ्यचौकीको स्टोर हेर्दा औषधि नै औषधि भेटियो ।

मन नपरेकाको घरमा उपचार गर्न नजाने भएपछि उनीविरुद्ध नगरपालिकामा उजुरी पर्यो । नगरले जिल्ला जनस्वास्थ्य कार्यालयमा सिकायत गर्यो । ‘जिल्ला जनस्वास्थ्य कार्यालयबाट डा. रामबहादुर केसी हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम झरे,’ बडहरे स्वास्थ्यचौकी संयोजक रामकुमार भगतले भने, ‘अहेब साहलाई नगरपालिका झिकाइयो । डा. केसी सम्मिलित छलफलपछि अहेब साहले विगतमा गरेको गल्तीको आत्मालोचना गर्दै आउँदा दिनमा त्यसो नगर्ने प्रतिबद्धता जनाए ।’
प्रतिबद्धता जनाएपछि पहिलेजस्तो गुनासो नआएको संयोजक भगतले सुनाए ।

यस विषयमा थप जानकारी लिन पटक–पटक सम्पर्क गर्दासमेत बडहरे स्वास्थ्यचौकी अहेब शिवनारायण साहसँग सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार