भैँसीलाई भत्ता !


म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भँैसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी गाई भैँसीको स्याहारसुसार र आहारामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउन पशु आहारा सुत्केरी भत्ता वितरण थालिएको हो ।
१९ भैंसीपालक किसानलाई यस वर्ष तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिका पशुसेवा शाखाप्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए ।
कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० किसानलाई सुत्केरी भैंसीको आहाराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।
यसैगरी, मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक किसानलाई एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएका हुन् ।
कुहुँका योगेन्द जुक्जाली, अर्मनधाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न १५ हजारका दरले अनुदान पाएका थिए ।
मंगला गाउँपालिका–४ मा बुकेनी व्यावसायिक उन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैंचो कार्यक्रम सुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैंयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ ।
पचासजना आबद्ध समितिअन्तर्गत १०/१० जनाका दरले पाँच समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि १५ हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप १० हजार अनुदान पाएका छन् । प्रतिकिसान तीनवटाका दरले बाख्रा खरिद गर्न नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम किसालाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिनुभयो । खोर मर्मतका लागि थप पाँच हजार रुपैयाँका दरले दुई लाख पाँच हजार वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार