अभिभावकको अभिभारा

तेजकुमार राई

सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भन्ने विषयमा बारम्बार बहस चलिरहेको अवस्थामा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनसम्बद्ध प्रतिनिधि र विद्यालयसँग सरोकारवालाले समस्यामात्र देखाउने तर समाधानको उपाय सुझाएको पाइँदैन । समस्याले समाधानसमेत ल्याएको हुन्छ । समस्या समाधान गर्न प्रयासमात्रै गर्ने हो भने समस्या थपिनुका साटो कम हुँदै जान्छ ।
हिजोआजका विद्यार्थीका औंला पढाइभन्दा पनि इमेल, इन्टरनेटमा सल्बलाइरहेको देखिन्छ । विद्यालयमा निश्चित समय पठनपाठनमा बिते पनि बाँकी समय अलिकति घरायसी काम, अलिकति मोबाइल (सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, इमो र भाइबरमा चासो राख्ने एक अध्ययनले देखाएको छ) प्रयोगले पठनपाठनमा अवरोध गरेको प्रस्ट छ ।
समयको माग र आधुनिक जमानामा यत्तिको परिवर्तन हुनुलाई अनौठो मानिँदैन । तर, आधुनिकताको नाममा सञ्चारको दुरुपयोग गर्नु पक्कै पनि समयको क्षति र जीवनको बर्बादी हो कि भन्ने लाग्छ । सामुदायिक विद्यालयको शिक्षामा साँच्चिकै परिवर्तन गर्ने हो भने विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध हुन आवश्यक छ । त्यसमध्ये हाम्रा अभिभावक केही निष्क्रिय भएका पो हुन् कि भन्ने मेरो व्यक्तिगत बुझाइ हो । हलेसी तुवाचुङ नगरपालिकामा मात्र होइन, अन्य सामुदायिक विद्यालयका अभिभावकको दूरदृष्टिवाला छैनन् ।
निजी विद्यालयदेखि सरकारी विद्यालयसम्म मैले बटुलेको अनुभवमा यस्तै–यस्तै क्रिया र प्रतिक्रिया पाएँ । सिरहा जिल्लाको सगरमाथा माध्यमिक विद्यालय मिर्चैयामा निजी विद्यालयमा करिब तीन वर्ष अध्यापन गरें । सो विद्यालयमा सालिन्दा चारपटक परीक्षा हुन्थ्यो । सबै परीक्षार्थीका उपलब्धि, विवरण र उत्तरपुस्तिका अभिभावकसमक्ष घरमै पठाइन्थ्यो । त्यतिमात्र होइन, धेरै विद्यार्थीका बुवाआमा (जो टाढा रहनुहुन्छ) ले समेत विषय शिक्षकसँग आफ्ना छोराछोरीका कक्षाकोठामा रहँदाको बानी–व्यहोरा र सिकाइ क्रियाकलाप टेलिफोनमार्फत ‘अपडेट’ लिन्थे । विद्यालय नजिक–नजिकका अभिभावक भने आफ्ना छोराछोरीका पढाइबारे जानकारी लिन दिनहुँजसो विद्यालय आउँथे । सम्बन्धित अभिभावकले आफ्ना छोराछोरी कुन विषयमा कस्ता छन् ? किन कमजोर भयो ? कसरी सुधार गर्न सकिन्छ ? भनेर परामर्श लिन्थे । उनीहरूले विषयगत शिक्षकसँग पनि सुझाव माग्थे ।
सामुदायिक विद्यालयका अभिभावकसमेत निजी विद्यालयका अभिभावकजस्तै जिज्ञासु हुने हो भने सम्बन्धित अभिभावकले आफ्ना छोराछोरी एसईईमा फेल पो हुने हो कि भनेर चिन्ता लिनुपर्दैनथ्यो । एउटै घरमा सरकारी र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी छन् भने स्वभावैले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पुस्तक बोक्ने झोला किनिदिने, विद्यालय पोसाक सफा गरिदिने, जुत्ता र टाइमात्रै होइन, टिफिन टाइममा खाजानास्ता व्यवस्था हुन्छ । त्यतिमात्रै होइन, गृहकार्य छ कि छैन भनेर सोधीखोजी गर्ने र चासो राख्ने गर्नाले लगानीअनुसारको प्रतिफल प्राप्त हुन्छ । लगानीविनाको फल आस गरेर हुँदैन ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी (अझ नजिक विद्यालय छ भने) लाई भाइबहिनी हेर्न र भुल्याउन विद्यालयमै पठाउने, आफूभन्दा ठूला दाजुदिदीको पुरानो–पुरानो कापी, कलम बोकेर विद्यालय जाऊ भन्ने अनि समयमा विद्यालय नपठाउने आदि कारणले सम्बन्धित विद्यार्थीको भविष्य अस्तव्यस्त बन्दै जान्छ । अर्काेतर्फ निजी विद्यालयमा जम्मा नर्सरी, एलकेजी, युकेजी पार गरेपछि मात्र कक्षा १ मा भर्ना गरिने र कक्षा १० अर्थात् एसईईमा १३ वर्ष अध्ययन गरेपछि एसईईमा संलग्न हुने तर सरकारी विद्यालयमा १० वर्षमा एसईई पार लाग्ने भएकाले पनि नतिजामा अन्तर पर्न गएको हुन सक्छ । त्यसमाथि गाउँठाउँको परिवेशमा खालि विद्यार्थीको प्रगति विवरण कक्षा १० लाई मात्रै मान्ने, आधारभुत तहलाई उपेक्षा गर्ने परिपाटी र सरकारी शिक्षक–शिक्षिकाले पढाउँदैनन् भन्ने गलत मानसिकताले समस्यामाथि समस्या निम्तिने गरेका छन् ।
सामुदायिक विद्यालयका शिक्षकले पढायो वा पढाएनन् सोही कामको अनुगमन र मूल्यांकन गर्ने अभिभावकको प्रतिनिधि विद्यालय व्यवस्थापन समिति हो । यसका साथसाथै जननिर्वाचित प्रतिनिधिलाई विद्यालयमा पदेन सदस्यका रूपमा व्यवस्था गरिएको छ । यसरी शिक्षा क्षेत्रलाई कसिलो बनाउन उहाँहरूमात्र होइन, अब सबै अभिभावक, बुद्धिजीवी र विद्यालयसँग सरोकार राख्ने सरोकारवाला लाग्नुपर्ने बेला भइसकेको छ । सबै अभिभावकले आ–आफ्ना छोराछोरीको गृहकार्यबारे सोधपुछ गर्ने अनि कुन शिक्षकले कुन–कुन विषय पढाउनुभयो भनेर दैनिकजसो बुभm्ने र समय–समयमा विद्यालय पुगी अनुगमन गरिदिने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा गुणात्मक सुधार हुनेछ । यसरी अपेक्षा गरिएका नतिजालाई बेलामै सुधार गरी असम्भवलाई सम्भव बनाउन सकिन्छ । तर, खालि हाम्रो नराम्रो बानी भनेको अरूलाई दोष थुपार्ने र आफू अलग रहने प्रवृति चिर्नु नै राम्रो र अन्तिम विकल्प हुन सक्छ । यस सन्दर्भमा शिक्षकले मात्र राम्रो गर्छ, गल्ती नै गर्दैन भन्ने होइन ।
होला, हामीभित्र पनि विविध समस्या छन् । तर, खोज्न र पहिचान गर्न सक्नुपर्छ । पहिचानविनाको समस्या दर्शाएर कहिल्यै समधान हुन सक्दैसक्दैन । त्यसका लागि पूर्ण रूपमा हाम्रा अभिभावकको साथ र सहयोगको खाँचो छ । यसरी सबैको साथ र सहयोग मिल्ने हो भने सामुदायिक विद्यालयको शिक्षामा चाँडै कायापलट हुनेछ । असम्भवलाई पनि सम्भवमा बदल्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार