गौरवान्वित गोपाल

दीपेन्द्र राई

 

छँदाखाँदाको जागिर छाडे । तात्कालिक आरएनएसीको जागिर छाडेर काठमाडौंको ३१ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिए । आरएनएसीबाट राजीनामा दिएर जनपक्षीय उम्मेदवार बनेका उनी १७ मतले पराजित भए । यो संवत् २०४२ सालको कुरा हो । वडाध्यक्षमा पराजित भएपछि उनी व्यावसायिक पत्रकारितामै सक्रिय छन् ।
सुरुताका ‘छहरा’ मासिक रूपमा प्रकाशित हुन्थ्यो । त्यही छहरा हिजोआज साप्ताहिक रूपमा प्रकाशित हुन्छ । ०३५ पुस २३ मा दर्ता भएको छहरालाई साप्ताहिकमा परिणत गर्न त्यति सजिलो थिएन । मासिकलाई साप्ताहिकमा दर्ता गर्नै दिएनन् । ‘प्रधानमन्त्री स्व. सूर्यबहादुर थापा केही उदार थिए,’ छहरा साप्ताहिक सम्पादक गोपाल छाङ्छा राईले विगत कोट्याए, ‘प्रधानमन्त्री थापा नेतृत्व सरकारले ०३९ सालमा ३६ वटा पत्रिकालाई एकै दिन दर्ता गरिदियो । त्यसमध्ये छहरा पनि परेको थियो ।’
चार वर्ष मासिक रूपमा प्रकाशित छहरा साप्ताहिक बन्दा सानोतिनो युद्ध जितेको अनुभूति भएको थियो । त्यतिबेला दरबारियाले मात्रै पत्रिका प्रकाशन गर्ने अनुमति पाउँथे । छहराले साप्ताहिक पत्रिकाको मान्यता पाए पनि पत्रिका प्रकाशित गर्न त्यति सजिलो थिएन । ‘तर पनि, पत्रकारितामार्फत जातीय उत्थानका लागि लागिपरें,’ उनले गर्व गरे, ‘लागिपरेकै छु ।’
त्यतिबेला दुर्गाहाङ याक्खा राई, विकासवादी तथा भूगोलविद् डा. गुरुङले नियमित लेख्थे । ‘गुरुङ छहराको मिसनप्रति त्यत्तिकै खुसी भएको सुनाउँथे । विदेशमा रहँदासमेत फोन गरेर पत्रिका प्रकाशित भए नभएको सोध्नुहुन्थ्यो,’ अग्रज पत्रकार राईले सुनाए, ‘समाजशास्त्री डोरबहादुर विष्टले पनि त्यत्तिकै मनपराउनुभएको थियो । विष्टले समेत नियमित लेख्नुहुन्थ्यो ।’ त्यतिमात्रै होइन, डा. स्वामी प्रपन्नाचार्य, प्रा. माणिकलाल श्रेष्ठ, लोकदर्शन बज्राचार्य, एमएस थापामगर, आनन्देव भट्ट, स्व. काजीमान कन्दङ्वाले समेत छहरामा लेखेका थिए ।
प्रकाशन सुरु ०३५ देखि नै छहराले धर्मनिरपेक्षता, जातीय सद्भाव, समानुपातिक प्रतिनिधित्वका विषय प्राथमिकतासाथ उठाउँदै आएको थियो । अहिले पनि उठाइरहेको छ । ०५२ सालदेखि तात्कालिक नेकपा माओवादीले आफूले उठाएको मुद्दा समातेपछि उनलाई पाथीभात खाएजस्तो भयो । आफूले उठाउँदै आएको मुद्दा माओवादी उठान गरेपछि उनी ओझेल परेजस्तो लाग्न सक्छ । तर, इतिहास साक्षी छ । लिखत इतिहास बोलिहाल्छ । उनको स्वीकारोक्ति छ, ‘आदिवासी जनजाति आन्दोलनका लागि छहराले धेर–थोर भूमिका खेलकै हो ।’
‘जातीय मुक्ति नभई हुँदैन भन्ने लाग्थ्यो,’ उनले प्रस्ट्याए, ‘त्यसोभन्दा कम्युनिस्ट, काँग्रेस चाहिँदैन भन्न खोजेको होइन । जातीय मुक्ति आन्दोलनलाई दिलदिमागमा राखेर छहरा प्रकाशन थालेको थिएँ ।’ छहरालाई यहाँसम्म ल्याइपुर्याउन धेरैले सहयोग गरेका छन् । छहरामै लेख्नेहरू स्थापित लेखक भइसकेका छन् । विद्वान् छन् ।
रहरैरहमा थालेको पत्रकारिताले एउटा मिसन पूरा गरेको छ । कतिपय बाँकी छन् । उनी यत्तिमै सन्तुष्ट छैनन् । आफूले उठाएको मुद्दा मुलुकका ठूला दलले राजनीतिक एजेन्डा बनाउँदा उनीजत्तिको खुसी अरू को होलान् र ।
चीन, सिंगापुर, हङकङ, थाइल्यान्ड र भारत पुगेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र भाषिक विकासको मोडेल बुझेका दिग्गज पत्रकार गोपाल छाङ्छा राई जातीय सद्भाव, आमसञ्चार र सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीको निरंकुश शासनशैलीबारे बोल्दा दुई दिन हिरासत बस्नुप¥यो । राजनीतिशास्त्रमा स्नातकोत्तर पत्रकार राईलाई हिरासतमुक्त गर्न सिक्किमका तात्कालिक सञ्चार तथा उद्योगमन्त्री पवन चाम्लिङले सहयोग गरेका थिए ।
मरिचमान सिंह प्रधानमन्त्री हुँदासमेत उनी ६ महिना जेल बसे । भाषा, संस्कार, संस्कृतिको जगेर्ना हुनुपर्छ भनेर छहरामा लेख्दा प्रधानमन्त्री सिंह अनुदार देखिएपछि उनी हनुमानढोका पुग्नुप¥यो । उनले सम्झे, ‘प्रत्येक साता म्याद थप्दै जेलमा कोच्थे । छहराले साम्प्रदायिक सद्भाव बिथोलेको भन्ने उनीहरूको बुझाइ थियो । मुद्दा जितेपछि पाँच हजार धरौटीमा छुटें ।’
६५ वर्षमा पनि त्यत्तिकै सक्रिय पत्रकारिता गरिरहेका उनले भोजपुरमै रहँदा ‘चेतना’ साप्ताहिक मुक्तक लेख्थे । ज्ञानेन्द्र कार्कीको पत्रिकामा मुक्तक प्रकाशित भएपछि पत्रकारितामा पो लाग्नुपर्दोरहेछ भन्ने लाग्यो । ‘काठमाडौं पसेपछि विश्वजित किरातीसँग भेट भयो,’ उनले जानकारी गराए, ‘उहाँ अन्तर्वार्ता, हलचल र न्युलाइट अंग्रेजी पत्रिका सम्पादक हुनुहुन्थ्यो । चिनजानपछि आवतजावत बाक्लै भयो । आत्मीयता बढ्यो । पत्रिका चलाउने प्रेरणा उहाँबाट पाएँ ।’
स्व. घल राई, गोपाल बुढाथोकी, शक्ति लम्साल, देवेन्द्र गौतमका समकालीन उनले ‘ब्राह्मणवादविरुद्ध हाम्रो संघर्ष’ पुस्तक सम्पादन गरेका छन् । ०३२ सालमा कृषि विकास बैंक बरडंगा मोरङ शाखामा स्थायी सहकारी व्यवस्थापकको दुई वर्ष भूमिका निर्वाह गरेपछि काठमाडौं फर्के । ललितपुरको बुङमतीमा रहेको एक निम्नमाध्यमिक विद्यालयमा अध्यापन गरे । तत्कालीन बागमती अञ्चलाधीश मकरबहादुर बान्तवाको सिफारिसमा साझा पसलमा बिक्री सहायकको जागिर खाए । संघर्षै संघर्षको पिरामिड उनी पत्रकारितामै सक्रिय रहेको देख्दा धेरैलाई ईष्र्या लाग्न सक्छ । कतिपयलाई प्रेरणा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार