नेपाली शिक्षकको मूल्य कम भए पनि मान बढी

शिवशरण ज्ञवाली

हो, म नेपाली शिक्षक । नेपाली भएकोमा गर्व पो गर्नुपर्ने हो । तर, मेरो अवस्था पनि विकसित र शक्तिशाली मुलुकको छत्रछायाँमा परेर हीन महसुुस गरिरहेका हाम्राजस्ता कमजोर देशका नागरिकको जस्तै बनेको छ । अहिलेको उत्तरआधुनिक प्रविधिको जन्जालमा जेलिएको जमानामा नेपाली पनि कहीं विषय हो र जस्तो अरूलाई होइन, आफैंलाई लाग्दोरहेछ । कहिलेकाहीं अनौठो पनि लाग्छ, ‘अझ नेपाली भाषाका पन्डाहरू विषयभित्रको भावार्थ छाडी ह्रस्व र दीर्घको घनचक्करमा फन्फनिएको देख्दा । नेपाली विषयको शिक्षकको नाताले आफूले पनि थोरै चासो राख्नुपर्ने हो जस्तो पनि लाग्छ । त्यस्तो जडसूत्रवादी सिद्धान्तको कहिले वल्लो र कहिले पल्लोकिनारमा लाग्ने प्रयत्नमा समय व्यर्थ गर्नुभन्दा नयाँ ज्ञान तथा विचार खोजीमा लगाउनु बेस लाग्छ आफैंलाई । म त्यसको खोजीमा लाग्छु, ह्रस्व–दीर्घको घनचक्कर ती पन्डाहरूलाई नै छाडेर ।’
नेपाली शिक्षकलाई गँवार, नजान्ने, लद्दु भन्ने सहकर्मी बु्रजुकको हिंस्रक चरित्र देख्दा मलाई कहिलेकाहीं अनौठो लाग्छ । ती बु्रजुकहरू आफूलाई निकै जान्ने सम्झन्छन् र आफूलाई लम्काउँछन्, लेखनाथ पौड्यालले भनेजस्तै मै खाऊँ, मै लाऊँ, सुख–सयल वा मोज म गरूँ भन्दै चारैतिर । कम्तीमा मैले त्यसरी पन्जा फिँजाउन त परेको छैन भनेर सन्तोष मान्छु । तर, के गर्ने ती बुजु्रकहरू मलाई मान्छे गन्दैनन् । भनिदिन्छन्, ‘सजिलै आ, नेपाली शिक्षक ।’ हुन त हो म नजान्ने आजबाट होइन । सानैदेखि नै हो । यो समाज यस्तो छ कि पढाइमा कमजोर हुनु सारा संसार कमजोर हुनु हो भन्ने ठान्छ । सायद अंग्रेजी र छिमेकी भारतमा अंग्रेज शासनले छाडेको प्रभावको बाछिटा पनि नेपालसम्मै आइपुगेकाले होला । हो, म पढ्न कमजोर थिएँ । त्यही कमजोर भएर मैले जीवनमा फेलको पनि अनुभूति गरेको छु । मैले सधैं यही कारण आफूलाई ती फेल हुनुहरूको पक्षमा उभ्याउने पनि गरेको छु । म ती शिक्षाका मसिहासँग सोध्न चाहन्छु– ३२ ल्याएर उत्तीर्ण हुने र ३१ ल्याए अनुत्तीर्ण हुने तिम्रो शैक्षिक मापदण्ड कुन कालका भगवान्ले राखिदिएका हुन् ? भनेर । आफूलाई सर्वज्ञाता सम्झने शिक्षकले थप्पड पनि लगाए नजान्ने नाममा । हली पनि भने । तिनलाई उत्साह अर्थात् प्रेरणा दिनुपर्छ सिक्नका लागि भन्ने कहिल्यै चेतना भएन । तापनि जे पढाए राम्रै पढाए र त मैले पढें । यस्तै लाग्छ ।
त्यसो त एसएलसी भन्ने जन्तु पास गरेपछि म पढ्नका लागि बुटवल झरें । झर्ने दिन निकै पानी परेको थियो । पानीलाई शुभसंकेत पनि मानिन्छ । नभन्दै त्यस्तै भयो, त्यहाँ मलाई नजान्ने भन्ने समाज थिएन । कोही कसैको अंकुश थिएन । स्वतन्त्रता थियो । क्याम्पसमा कसले के पढ्छ, कसैलाई थाहा हुने कुरै भएन । मैले सिक्दै थिएँ, नयाँ साथीसँग गर्ने व्यवहार, समस्या पर्दा सल्टाउने उपाय, बाटोमा हिँड्दा पालन गर्नुपर्ने नियम आदि–आदि । यी मैले पढेर सिकेको थिइनँ । स्वज्ञानबाट सिकेको थिएँ । मैले पहिलोपटक साइकल पनि त्यहीं सिकेको थिएँ । कति आनन्दित थिएँ, साइकल चलाउँदा । कहाँको त्यो सिकाइ कहाँको किताबको सिकाइ । आकाश, जमिनको अन्तर थियो । आफूले पढ्ने कक्षाकोठा र विषय थाहा पाउँदा परीक्षा नै आइसकेछ । तापनि आन्नदपूर्वक नै सिकेको थिएँ । मैले प्रेमप्रणय पनि त्यही सिकें । रमाइलो कुरा त के थियो भने चिन्दै नचिनेको एक सुन्दर युवतीले परीक्षामा एक घन्टामा उत्तरपुस्तिका बुझाएर निस्केपछि मैले पनि बुझाइदिएको थिएँ । तर, बाहिर निस्कँदा ती कता लागिन्, थाहा पनि भएन र फेरि कहिल्यै भेट पनि भएन । आज सम्झँदा रमाइलो अनुभूति हुन्छ । परीक्षामा फेल भए पनि मैले त्यहाँ धेरै कुरा सिकेको थिएँ ।
जसरी मेरो पढाइको स्तर माथि–माथि जाँदै थियो, मेरो सहरी यात्रा पनि बढ्दै गइरहेको थियो । स्नातक पढ्न म पहिलोपटक काठमाडौं पुगेको थिएँ । गाडीको ताँती र तलको सुन्दर नदी हेर्दै म काठमाडौं पुगेको थिएँ । त्यसपछि भने मलाई पढाइमा पछाडि फर्कनुपरेन । तर, जान्ने विषय पढ्नेहरूको हिंस्रक आक्रमणबाट भने म मुक्त हुन सकिनँ । तर, ज्ञान र चेतना खोजीमा म लागिरहें । त्यो खोजीले नै मलाई ज्ञान पनि दियो र नैतिक मूल्य सिकायो । पढ्नका लागि विश्वविद्यालय छिर्दै गर्दा मैले वाचा गरेको थिएँ– अढाई वर्ष पढुन्जेल म कुनै राजनीतिक दलको वादरूपी चस्मा लगाएर कसैसँग व्यवहार गर्ने छैन, विश्वविद्यालयले आफ्नो खर्चमा आयोजना गर्ने स्वागत र बिदाइ, भोजमा भाग लिने छैन, बिहेवारी गर्दा दाइजो दिने लिने छैन र मेरा गाउँका दलित, जसलाई आजसम्म गर्दै आएको तिमी शब्द प्रयोग गर्ने छैन । विश्वविद्यालयबाट बाहिरिँदा मैले यिनै कुरा सिकेको थिएँ । आज पनि मेरो परिवारले दाइजो दिनुपरे पनि ५० रुपैयाँ दिन्छ, चाहे त्यो छोरी, भान्जी आदि जोसुकै किन नहोस् । हामीले परिवारका पछिल्ला सबैजसो बिहे पनि दाइजोरहित ५० रुपैयाँकै मूल्य मान्यतामा गरिएको छ । समाजका यस्ता नियम तोड्न निकै कठिन रहेछ । तापनि हाम्रो घरबाट भएका पछिल्ला छ, बिहे यही प्रकृतिमा गरियो । हिजोसम्म तिमी भनेका ती दलित आमाबुवालाई कसरी तपाईं भन्ने होला । मलाई ठूलो चुनौती बनेको थियो । विश्वविद्यालयको कक्षाको अन्तिमतिर संविधानसभा निर्वाचन भयो । त्यही निर्वाचनलाई मैले यस्तो परिवर्तनको ऐतिहासिक दिन ठानें, त्यही दिनदेखि आजसम्म मैले ती दलित आमाबुवालाई तपाईं भनेर सम्बोधन गर्न सिकें । वादरूपी चस्मा नलगाएका कारणले विश्वविद्यालयमा म स्वतन्त्र रूपमा निर्वाचन पनि लडेको थिएँ ।
स्नातकोत्तर नेपाली भएकाले मलाई पुनः नजान्ने भन्ने क्रम भने जागिरे जीवनमा पनि रोकिएन । जाबो नेपाली त हो नि के पढाउनुपर्छ भन्ने हिंसा त्यहाँ पनि बेहोर्नुप¥यो । आज पनि कताकता बेहोरिरहेको छु । तापनि म केमा सन्तुष्ट छु भने हामी नेपालीलाई चाहे पढ्दा होस्, चाहे पढाउँदा पाठ्यक्रमले थिच्दोरहेनछ । त्यसैले हामीलाई समाज, कला, संस्कृति, साहित्य आदि–आदि थप अध्ययन गर्ने अवसर प्राप्त हुँदोरहेछ, जुन अरू पढ्नेले पाउँदा रहेनछन् । उनीहरूले त शब्दका अर्थ खोज्न डिक्सनरी पल्टाउँदापल्टाउँदै फुर्सदै पाउँदा रहेनछ बिचराहरू । तर, हामीलाई त्यो बाध्यता हुँदोरहेनछ । लेखन, सम्पादनको फराकिलो फाँट पनि हाम्रै हुँदोरहेछ । रमाइलो त के भने ती जान्नेहरूलाई भन्दा नेपाली शिक्षकलाई बढी खोजिँदोरहेछ । चिट्ठी वा निवेदन लेख्न होस्, कविता, निबन्ध, गीत, नृत्य प्रतियोगिताको निर्णायक बस्न होस् वा कुनै पुस्तकको शुद्धाशुद्धि हेर्न नेपाली शिक्षक नै सर्वज्ञाता भएर उभिनुपर्दाेरहेछ । नेपाली शिक्षकको मूल्य कम भए पनि मान बढी हुँदोरहेछ । अन्त्यमा जान्ने छु भन्ने अहंकारीलाई एक शैक्षिक पत्रिकाबाट उद्धृत गर्दै वैदिक आचार्य सान्दीपनिका यी उक्ति पढ्न आग्रह गर्छु, ‘अहंकार सत्ताको होस् या सामथ्र्यको, सम्पत्तिको होस् या सौन्दर्यको, ज्ञानको होस् या कृतिको, उत्तिकै हानिकारक हुन्छ । त्यसमध्ये ज्ञानको अहंकारचाहिँ सबैभन्दा घातक हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार