पाँच वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना

मनोज दाहाल

विराटनगर । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकका रूपमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई निजी क्षेत्रको सहकार्यमा आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याउने उसको लक्ष्य छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा यस क्षेत्रको पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिएको छ ।
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्यअनुरूप यहाँको प्रदेश सरकारले काम गरिरहेको छ । सन् २०१८ मा प्रचार–प्रसार, सन् २०१९ मा पर्यटन महोत्सव वर्ष र सन् २०२०–२२ को अवधिमा पर्यटन पूर्वाधार निर्माण गरी आगामी पाँच वर्षभित्र यस क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुरूप पर्यटक आवागमन वृद्धि गर्न फुङलिङ–पाथीभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूर्यकुण्डमा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ ।
यसैगरी, फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, अन्तुडाँडा–मंगलबारे माइपोखरीलगायतका स्थलमा केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने भएको छ ।
पर्यटन उद्योगमा निजी क्षेत्र तथा युवा वर्गलाई आकर्षित गर्न सरकारले तालिम आयोजना र सहुलियत दरमा ऋण उपलब्ध गराउनेछ ।
संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थल स्तरोन्नति गरी छिमेकी मुलुक भारतको पट्ना, कोलकाता, नयाँदिल्ली तथा बंगलादेशको ढाकासम्म उडान सुरु गरी विदेशी पर्यटकलाई यस क्षेत्रमा भित्र्याउने प्रदेश सरकारको योजना छ । भारतको पश्चिम बंगाल र विहार क्षेत्रका पर्यटकलाई आकर्षण गर्न निकट भविष्यमै विराटनगरबाट हिमशिखर अवलोकन उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने तयारी भइरहेको छ ।

भारतीय तथा बंगलादेशी पर्यटकलाई लक्ष्य गरी यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय स्थल र सिमसार क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले अंगीकार गरेको छ ।
धरान, उदयपुर, धनकुटा, पाँचथर र तेह्रथुम विमानस्थल निर्माणकार्यलाई प्रदेश सरकारले आफ्नो नीति र कार्यक्रममा समावेश गरेको छ । विराटनगरलाई मुकाम बनाई बर्जुताल, कोसीटप्पु, तालतलैया इटहरी, रामधुनी, वराहक्षेत्र, विष्णुपादुका, बूढासुब्बा, पिण्डेश्वरी क्षेत्रलाई वराह–विजयपुर सर्किट तथा हलेसी, छिन्ताङ, वराहपोखरी, साल्पापोखरी, मनकामना, सिद्धकाली, माइपोखरी, माङ्सेबुङ, सिटौली, लब्रेकुटी र पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटका रूपमा विकास गरी प्रवद्र्धन गरिने भएको छ ।
सगरमाथा, मकालु वरुण तथा कञ्चनजंघा राष्ट्रिय निकुञ्ज, इलामको फिक्कल, कन्याम, श्रीअन्तु, धनकुटाको नमस्ते झरना, भेडेटार, नाम्जे, राजारानीताल, भोजपुरको ट्याम्के मैयुङ, मिक्लाजुङ, तीनजुुरे–मिल्के–जलजले, विराट राजाको दरबार, किरात राजाको दरबार (हतुवागढी, विजयपुर, हिलिहाङ), गोलमाराजा गोलमारानी, नाग छाँगा, सांखामचुली, धनपालथान, सुनावर्षी, तुवाचुङजस्ता प्रदेशको मुख्य पर्यटकीय गन्तव्यस्थलको विकासका लागि निजी क्षेत्रको सहयोगमा आवश्यक पूर्वाधार निर्माण गरी लक्ष्यअनुसार काम सम्पन्न गरिएको छ ।
इटहरीको तालतलैया क्षेत्र, सन्दकपुर, बेलबारीको बेतिनी ताल, झापाको जामुनखाडी क्षेत्र, केचनाकवल, संखुवासभाको सभापोखरी, गुफापोखरी, भोजपुरको ट्याम्के मैयुङ र ओखलढुंगाको सोलु पत्तालेमा पूर्वाधारसहित विभिन्न पर्यटकीय सर्किटको नेटवर्किङ गरी स्थानीय निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । सिटौली, लब्रेकुटी, माङ्सेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । चतरा–सुनकोसीमा जलमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
इलामको सन्दकपुर र पाँचथरको राँकेबाट कञ्चनजंघा बेसक्याम्पसम्म र चतरा–वराहक्षेत्र भोजपुरको हतुवागढी, किरात दरबार सांखामचुली, ट्याम्के मैयुङ, हाँसपोखरी, साल्पा सिलिचुङ हँुदै सगरमाथा र मकालु बेसक्याम्पसम्मको सर्किटलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थले तीनजुरे मिल्के जलजले क्षेत्रलाई लालीगुराँसको राजधानी घोषणा गर्दै त्यहाँको जैविक विविधता संरक्षणमा जोड दिइनेछ ।
‘युवकद्वारा युवामैत्री पर्यटक सेवा’ भन्ने नारासाथ मेची, कोसी र सगरमाथा क्षेत्रका १०० वटा समुदायमा होमस्टे विकास गर्ने सरकारको लक्ष्य छ ।
अरूण, तमोर, दूधकोसी र सुनकोसी नदीमा जलयात्राको विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ भने प्रदेशभित्र साहसिक पर्यटक, प्याराग्लाइडिङ, ¥याफ्टिङ, क्यानोनिङ, बन्जी जम्प र रक क्लाइम्बिङका लागि पनि सम्भाव्यता अध्ययन गरिनेछ ।
पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ८९ करोड बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार