शैक्षिक सुधारका लागि शिक्षासेवी सौका सुझाव

असल चरित्र

साल्तेम्मा (दुर्छिम) खोटाङ । जापानको ओसाका युनिभर्सिटीअन्तर्गत अर्थशास्त्र विषयमा अध्ययनरत हिरोकी सौ डेढ महिना युमी स्कुलमा बसे । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडा खोटाङमा रहेको युमी स्कुलमा रहँदा शिक्षाप्रेमी सौले नेपालको आधारभूत तथा निजी विद्यालयको अध्ययन गरे ।
सन् १९९७ जुन २८ मा जापानको कोबेमा जन्मेका २२ वर्षीय हिरोकीलाई नेपाल आइरहनुका कारण सोधियो । युमी स्कुलमा भेटिएका उनले प्रस्ट्याए, ‘नेपालको शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी अध्ययन गर्न यहाँसम्म आइपुगेको हुँ ।’
‘आजभन्दा ठ्याक्कै दुई वर्षअघि नेपालका आधारभूत विद्यालय निरीक्षण गर्नेक्रममा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–६ मा रहेको पञ्चकन्या आधारभूत विद्यालयसम्म पुगेको थिएँ,’ नेपाली बोल्न सिकिरहेका उनी दुई वर्षअघि फर्के, ‘पञ्चकन्या आधारभूत विद्यालयका शिक्षक समयमा स्कुल जाँदैनथे । मन लागेको बेला पढाउँथे नत्र घर फर्कन्थे । विद्यार्थीले पनि पढ्नमा चासो दिँदैनथे । हाजिरी कापी हेर्दा गयलमात्रै देखिन्थ्योे । समयमा नपढेपछि परीक्षामा चिट चोर्दारहेछन् ।’
‘यसरी एक विद्यालय र एक विद्यार्थीका लागि मात्रै होइन,’ उनले चिन्ता व्यक्त गरे, ‘त्यसो नभएर समग्र मुलुकको शैक्षिक गुणस्तरीयता र विद्यार्थीको समुन्नत भविष्यमा गहिरो असर पु¥याउँछ ।’
जापानी शिक्षाप्रेमी पाँच कक्षासम्म अंग्रेजी माध्ययमा पढाइ हुने युमी स्कुलसम्म आइपुग्नका कारण त्यत्तिकै रोचक छ । ‘धुलिखेलको पञ्चकन्या विद्यालयको वास्तविकता देखेपछि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीको गतिविधि र भविष्य सम्झँदा दुःख लाग्यो,’ उनले थपे, ‘जापान फर्केपछि इन्टरनेटबाट नेपालका विभिन्न शैक्षिक संघ–संस्थाको पठनपाठन र गतिविधिबारे सर्च गर्न थालें । त्यहीक्रममा युमी स्कुल भेटें । गतिविधि बुझ्दा युमीप्रति आकर्षित भएँ । स्कुलको संस्थापक शरद राई (जापान) सँगको सम्पर्कबाट यहाँसम्म आइपुगेको हुँ ।’
नेपालको शैक्षिक व्यवस्थापनसम्बन्धी हिरोकी सौको बुझाइ छ, ‘नेपालको समग्र शैक्षिक क्षेत्रमा एकैपटक परिवर्तन ल्याउन सकिँदैन । स्थानीय स्तरबाटै सकारात्मक अनि नौलो पद्धतिसाथ प्रयास गरेको खण्डमा नेपालको शिक्षा पद्धति र शैक्षिक व्यवस्थापनमा गुणस्तरीयता ल्याउन सकिन्छ ।’ साथसाथै दैनिक पाठ्ययोजना, वार्षिक कार्ययोजनालगायत शैक्षिक परिवर्तन ल्याउन सक्ने योजना बनाउनुपर्छ । त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै लैजान सकिन्छ । त्यसको मूल्यांकन र समीक्षा गर्दै त्यसलाई अझ विकास गर्न प्रयास गर्नुपर्छ । यस्तो पद्धति लागू गर्न सकेमा नेपालको शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने उनको ठम्याइ छ ।
शैक्षिक क्षेत्रमा सुधार ल्याउन अभिभावक, छिमेकी, वडा, गाउँपालिका, नगरपालिका र शैक्षिक संघ–संस्थाको उत्तिकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । ‘अभिभावकले आफ्ना छोराछोरीको पढाइ कस्तो चल्दै छ, उनीहरू विद्यालय गइरहेका छन् छैनन् ? विद्यालयमा बुझिरहनुपर्छ,’ उनले जोडे, ‘विद्यालय नगएमा पठाउन सहयोग गर्नुपर्छ । सम्बन्धित विद्यालयका छिमेकी, वडा, गाउँपालिका, नगरपालिका वा शैक्षिक संघ–संस्थाले विद्यालयसम्बद्धले गरिरहेको काम हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिने गर्नुपर्छ । त्यसो गर्ने बानी बसाले शिक्षामा परिवर्तन ल्याउन मद्दत पुग्छ ।’
कुराकानीको पुछारमा हिरोकी सौले सुनाए, ‘त्यस्तै किसिमको भूमिका र मद्दतले युमी स्कुल चलिरहेको पाएँ । मैले पनि आफ्नो तर्फबाट युमी स्कुललाई सहयोग गरिरहने वाचा गरेको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार