मेरी आमा : आमाको हाँसो मेरो खुसीको स्रोत

सरिता राई

आमा शब्द साँच्चै प्यारो लाग्छ । आमाविनाको संसार कल्पना गर्नसम्म सक्दिनँ । मेरी आमा ५७औं वसन्तमा हिँडिरहनुभएको छ । उहाँ परिवारमात्रै नभएर, समाजका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।

मेरी आमा पेसाले शिक्षिका हुनुहुन्छ । उहाँले बरबोट प्राथमिक विद्यालय तिङ्ला प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । तात्कालिक तिङ्ला गाउँ विकास समिति सोलुखुम्बुबाट एसएलसी पास गर्ने पहिलो राई महिला हुनुहुन्छ । चार सन्तानकी आमाले जागिरे जीवनसमेत बेहोर्नुपरेकाले सन्तानको रेखदेख गर्नेक्रममा धेरै दुःख झेल्नुपरेको थियो ।

शालीन स्वभाव, दुःखमा समेत नआत्तिने भएकाले आफ्नो परिवार र पेसालाई सँगसँगै अगाडि बढाउन सफल हुनुभयो ।
फराकिलो सोच भएकाले हामीलाई पढाइका साथै राम्रो संस्कार दिनुभयो । अध्ययनका अलावा खेलकुद, गायन, नृत्य आदि–इत्यादि सिकाउन पछि पर्नुभएन । अहिले पनि समाजका अगुवा, सल्लाहकार, पेसाप्रति वफादार, परिवारको प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँ विभिन्न संघ–संस्थासहित राष्ट्रिय शिक्षक संगठनमा आबद्ध हुनुहुन्छ ।

व्यस्तताको बाबजुद समय मिलाएर नयाँ प्रविधिसँग खेल्नुहुन्छ । नयाँ प्रविधिसँग रमाउनुहुन्छ । आमाबारे लेखिरहँदा कल्पनामा डुब्न बाध्य छु– आमासँग सधैं बस्न पाए कति जाती हुन्थ्यो होला । आमासँग सधैं बस्न नपाए पनि मेरी आमा हाँसिरहेको देख्न पाऊँ । उहाँको हाँसो नै मेरो खुसी हो । अनि आमा हजुरको खुसी पनि मेरो नै त हो नि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार