संस्कृतिविद् सत्यमोहन जोशीको सम्झनामा महाकवि देवकोटा

दीपेन्द्र राई

‘त्यहाँ पुगेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भेटघाट भयो,’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अतीत सम्झे, ‘१० वर्षमै कविता लेख्न थालेका महाकवि देवकोटासँग भेट्दा आफूले लेखेको कविता मैले सुनाएँ । कति राम्रो भन्दै उनले प्रोत्साहन दिए ।’

त्यतिबेला वाङ्मय शताब्दी पुरुष जोशी त्रि–चन्द्र क्याम्पस घन्टाघर काठमाडौंमा पढ्थे । बीच–बीचमा पढाइ ‘ग्याप’ हुन्थ्यो । त्यसताका घुम्ने ठाउँ थिएन । पढाइ नहुँदा क्याम्पस परिसरमै यताउता टहलिनुको विकल्प थिएन । त्यहीक्रममा उनी एक दिन भाषा अनुवाद परिषद् पुगे ।

त्रि–क्याम्पसको एकातिर मानविकी र अर्कोतिर विज्ञान संकायको पठनपाठन हुन्थ्यो । विज्ञान संकाय भवनमा परिषद्को कार्यालय राख्ने ठाउँ थिएन । ठाउँ नभएपछि क्याम्पसकै पश्चिमपट्टि अर्को भवन थपियो । थपिएको भवनमा भाषा अनुवाद परिषद् कार्यालय स्थापना गरियो । परिषद् कार्यालयमुनि नेपाल भाषा प्रकाशिनी समितिको कार्यालय थियो । समिति अध्यक्षमा बालकृष्ण सम र परिषद्मा पुष्करशमशेर अध्यक्ष थिए । बालकृष्ण सम र पुष्करशमशेर सहोदर दाजुभाइ हुन् । परिषद्मा राष्ट्रकवि माधवप्रसाद घिमिरे, बदरीनाथ भट्टराई र लक्ष्मीप्रसाद देवकोटाले भाषा अनुवादको काम गर्थे । सयभन्दा बढी कृतिका स्रष्टा देवकोटा शाकुन्तल महाकाव्य लेखनका लागि भाषा अनुवाद परिषद्मा जागिरे भएका थिए ।

त्यसपछि ?

‘म पनि बालबालिका लागि हुने कविता भन्छु,’ संस्कृतिविद् जोशीले विगत कोट्याए, ‘तपाईं लेख्नुस् । मैले कापीकलम ठिक्क पारें । खरायोले सिंहलाई इनारमा खसालेको बालकथालाई आधार बनाएर देवकोटाले कविता भन्न थाले । मैले लेख्दै गएँ । उनले बीच–बीचमा लेखिसक्नुभयो भनेर सोध्थे । मैले लेखिसकेको उत्तर दिन्थें । त्यो कविता मैले जोगाउन सकिनँ । सुरक्षित राख्न सकेको भए अहिले कत्रो महत्व हुन्थ्यो ।’

‘थुप्रै महाकाव्य, खण्डकाव्य, कथा, कविता, निबन्ध, उपन्यास, नाटक, समालोचना र गीत लेखेका उनी दानी थिए,’ उनले थपे, ‘उनको हातमा पैसा रहँदैनथ्यो । पैसा हुनासाथ उधारो खाएको तिर्नुपथ्र्यो होला ।’

‘स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक उनले शाकुन्तल महाकाव्य लेखेबापत पारिश्रमिक वा पुरस्कार पाएका रहेछन्,’ जोशीले सुनाए, ‘त्यतिबेला नोटको चलन थिएन । पाँच हजार रुपैयाँको पोको बोकेर उनी एक्लै हिँडिरहेको भेटें । पोको पारिएको त्यत्रो पैसा आफैंले बोकेर हिँडिरहेको उनी त्यत्तिकै खुसी देखिन्थे । शाकुन्तल महाकाव्य पूरा गरेकाले मैले पाएको पैसा भनेर उनले मलाई देखाए ।’

साहित्य सिर्जनामा मानवतावाद र प्रकृतिप्रेम झल्काउने देवकोटाले बोकेका त्यो पैसा कस–कसलाई दिनुपर्ने थियो होला । ‘पानवाला, मासुपसल, चुरोट पसलमा तिर्नु थियो होला,’ उनले अड्कल काटे, ‘पैसा हात परेपछि उधारो खाएको बुझाउँदै ठिक्क भएपछि घर पुग्दा एक पैसा नहुनु अस्वाभाविक होइन ।’

शिक्षा तथा स्वायत्तमन्त्री (२०१६) हुँदा नेपाली भाषा अनिवार्य गराउने देवकोटासँग सम्बन्धित थुप्रै किस्सा छन् । ‘सन्दर्भ राम्रो हुन्छ,’ उनले दुःखेसो व्यक्त गरे, ‘तर, देवकोटासँग सम्बन्धित किस्साबारे कुरा गर्न उपयुक्त लाग्दैन । त्यसले के सन्देश देला र ?’

साहित्यसँगै राजनीतिक सक्रियता, पारिवारिक वियोग र आर्थिक अभावमा पनि उनले एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य, दस दिनमा ‘सुलोचना’ महाकाव्य र तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य लेखेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठान स्थापनार्थ उनको योगदान कम थिएन । तर, त्यही प्रतिष्ठानले उनलाई सम्मान गर्न जानेन । विनाअनुमति विदेश गएको भनेर प्रतिष्ठानले उनले खाइपाइ आएको भत्ता रोकिदिएको जोशीले दुःखेसो पोखे ।

देश–विदेशमा विभिन्न कार्यक्रम गरेर महाकवि देवकोटाको ११०औं जन्मजयन्ती आज  (२०७५ कात्तिक २१) मनाइँदै छ । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा इमानदारी र सोझो थिए,’ २०७६ वैशाख ३० गते सय वर्ष पुग्दै गरेका संस्कृतिविद् सत्यमोहन जोशीले प्रशंसा गरे, ‘देवकोटा अंग्रेजीमा ‘कमान्ड’ भएको व्यक्तित्व हुन् ।’

संवत् १९६६ कात्तिक २७ (कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन) मा काठमाडौंको डिल्लीबजारमा जन्मेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०१६ भदौ २९ मा निधन भएको थियो । देवकोटाको निधन हुनु चार दिनअघि जोशीले देवकोटालाई भेटेका थिए । ‘मैले उनको जीवनको अन्तिम घडीमा देख्दा अनुहारमा छाला र हड्डीमात्रै देखिन्थ्यो । त्यो पनि निख्खुर कालो । उनी त्यसबेला पनि चुरोट खाइरहन्थे ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार