चुनाव हारे पनि गाउँमै

असल चरित्र

स्थानीय तह निर्वाचनमा निर्वाचित हलेसी तुवाचुङ नगरपालिकाका कतिपय जनप्रतिनिधिलाई व्यर्थमै निर्वाचित भइएछजस्तो लागिरहेको छ । तर, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी रूपेन्द्रकुमार राई निर्वाचनमा पराजित भए पनि वडावासीको सेवामा सक्दो सहयोग गर्न लागिपरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ वडाध्यक्षमा चार मतले पराजित राई गाउँमै भेटिइन्छन् । समस्या परें भन्नेलाई सकेको सहयोग गरेकै छन् । ‘राजनीति भनेको समाजसेवा हो,’ हलेसी बजारमा भेटिएका नेता राईले सुनाए, ‘समाजसेवामा लागेपछि सेवा गर्न कन्जुस गर्न हुँदैन । त्यसैले अप्ठ्यारामा परेकालाई सहयोग गर्ने प्रयासरत छु ।’

वडाका कतिपय जनप्रतिनिधि विश्वासिलोलाई कार्यवहाक दिएर काठमाडौंतिर रमाइरहेका बेला स्थानीय तह निर्वाचनमा पराजितले वडावासीको सेवामा गाउँमै भेटिनुलाई सामान्य मान्न सकिँदैन । तरुण दल खोटाङ कोषाध्यक्षसमेत रहेका राईले जालसाजी गरेर जग्गा बेचिदिए भनेर बिलौना गरेकालाई न्याय दिन खरो उत्रेका भेटिन्छन् भने बिरामी परेकालाई आफ्नै निजी सवारीसाधनमा बोकेर रातारात काठमाडौं पु¥याउन अल्छी गर्दैनन् ।

त्यस्ता समस्यामा परेका वडावासीले सहयोग पाउँदा गुन बिर्सने कुरै भएन । ‘गुन लागोस् भनेर सहयोग गरेको होइन,’ नेता राईले तर्क गरे, ‘यो त मेरो सामाजिक उत्तरदायित्व हो नि । निर्वाचनमा मलाई मतदान गर्ने हुन् कि नहुन् । मेरो कर्तव्य भनेको सकेको सहयोग गर्ने हो ।’

कति राम्रो विचार । स–साना उपलब्धिमा खुसी हुने नेपालीले निःस्वार्थ सहयोग पाउनु भनेको पलासको फूलमा सुगन्ध भेटिएजस्तै हो । वडामात्रै होइन, नगरका युवा उद्यमीलाई ‘गर्ने हामीले नै हो है’ भन्दै ऊर्जा दिइरहेका हुन्छन् । उनले ऊर्जामात्रै नभएर युवा उद्यमीलाई नगरबाट अनुदानका लागि पहलसमेत गरिदिएका छन् । कतिपयले अनुदान पाएर लोभलाग्दो व्यवसायसमेत गर्दै आएका छन् ।

‘नगरवासीको प्रगति देख्दा खुसी लाग्छ,’ उनले गर्व गरे, ‘सम्बन्धितको प्रगतिमा मेरो पनि सहयोग टाढैबाट फुलेको देख्दा उनीहरूभन्दा म धेरै खुसी छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार