सात पास गरेका लाहुरे इन्सपेक्टरबाट अवकाश

‘किशोरावस्था छँदै गोर्खा भर्तीका लागि रिक्रुट छनोट गर्दै गल्ला गाउँ पसे । कसैले यो कुरा मलाई पनि सुनाइदिए । मैले पनि भिडिहालौँ न त, लागिहालिन्छ कि भनेर छनोट प्रक्रियामा सामेल भएँ । नभन्दै गल्लाले सजिलै पास गराइदिए,’ भर्ती लाग्दाको स्मरण गर्दै लीलबहादुर थापाले भने । पाल्पा, बौघागुम्बाबाट गल्ला र त्यहाँबाटै एआरओ पास गरें । अनि उनको यात्रा तय भयो, नेपालदेखि सिंगापुरसम्मको । जतिबेला उनी १८ वर्षका थिए ।

‘दुई सयजना भिडेकोमा ७३ जना छानियौं,’ थापा भन्छन्, ‘त्यसमध्ये पनि २२ जनामात्र भर्ती हुनुपर्ने थियो ।’ त्यतिबेला गोर्खा भर्तीको रोचक प्रसंगबारे उनले भने, ‘गल्ला पढेलेखेका हुँदैनथे । ‘पर्वते’ भन्ने म्यागेजिनमा लेखिएको एउटा शब्द भन्न जाने भर्ती लागिन्थ्यो ।’ कसरी त ? ‘त्यो म्याग्जिनमा कम्पनीको छोटकरी सीओपी लेखिएको हुन्थ्यो । जसले त्यसलाई कम्पनी भन्न सक्ने पास र सीओवाई भन्ने फेल हुन्थे ।’ त्यसो त धेरै पढेलेखेका व्यक्तिलाई भर्ती गरिँदैनथ्यो । भर्ती हुन सात कक्षाको प्रमाणपत्र भए पुग्थ्यो । आठ कक्षासम्म पढेका थापाले भर्ती हुनलाई एक कक्षा घटाएर ७ कक्षाको प्रमाणपत्र पेस गरे । पल्टनमा भने एसएलसी तहसम्म पढेकालाई थप ५० डलर भत्ता दिने गरेको उनले सुनाए ।

भर्तीसम्बन्धी अर्काे थप रोचक कुराकानीमा उनले भने, ‘रिक्रुट छनोट गर्दा अहिलेको जस्तो फित्ताले नापिदैनथ्यो । गल्लाले टेक्ने बाँसको लठ्ठीले नै उचाइ नाप्ने गर्थे । लठ्ठी बराबर भयो भने पास, होचो भयो भने फेल ।’ भर्ती हुँदा उनको नागरिकता, पासपोर्ट केही थिएन । नागरिकता, पासपोर्ट सबै भर्ती भएपछि उनीहरूले नै बनाइदिएको उनले प्रस्ट पारे ।

‘दुई सयजना भिडेकोमा ७३ जना छानियौं,’ थापा भन्छन्, ‘त्यसमध्ये पनि २२ जनामात्र भर्ती हुनुपर्ने थियो ।’ त्यतिबेला गोर्खा भर्तीको रोचक प्रसंगबारे उनले भने, ‘गल्ला पढेलेखेका हुँदैनथे । ‘पर्वते’ भन्ने म्यागेजिनमा लेखिएको एउटा शब्द भन्न जाने भर्ती लागिन्थ्यो ।’

‘भर्ती भएका सबैलाई हङकङको लाहुरे भनिन्थ्यो त्यतिबेला । थापालाई पनि हङकङ नै जान्छु भन्ने लागेको थियो । तर, छानेर सिंगापुर पुलिसमा पठाइदिए । त्यतिबेला हङकङ जान पाएको भए हुन्थ्यो भन्ने लागे पनि बुझ्दै जाँदा सिंगापुर पनि ठिकै लाग्यो,’ उनी भन्छन्, ‘किनकि सिंगापुरमा गोर्खालीलाई दिइने तलब, सेवासुविधा राम्रै रहेछ ।’ सिंगापुर गोर्खालीले फ्यामिली लैजान पाउने, उचित रासनपानी र आवासका साथै छोराछोरीलाई पढाउन पाउने व्यवस्था छ ।’  सिंगापुर पुलिसमा करिब २८ वर्ष सेवा गरी इन्सपेक्टरमा अवकाश लिएका थापाले पल्टनमा १९० जना सिंगापुर–गोर्खा (कम्पनीतहका) लाई कमान्ड गर्थे । सिंगापुर प्रहरीेले सेनाको समेत ट्रेनिङ लिनुपर्छ ।

सिंगापुर गोर्खाको मुख्य ड्युटी सुन राख्ने बैंक, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका भीआईपीको क्वार्टर सुरक्षाको सुरक्षा गर्नु हो । त्यस्तै, सिंगापुरमा हुने महत्वपूर्ण इभेन्टमा सुरक्षा जिम्मेवारी पनि उनीहरूकै हुने गर्छ । थापा नोकरीमै छँदा गल्ला भएर नेपाल फर्के । पूर्वाञ्चलमा गल्ला भएर जाँदा खाएको तीते र तोङ्बाको स्वाद अझै भुल्न नसकेको उनी बताउँछन् । सिंगापुर पुलिसमा हाल करिब दुई हजार गोर्खाली कार्यरत छन् ।

पेन्सन आएपछि थापा विभिन्न सामाजिक संघ–संस्था र वेल्फेयरसम्बन्धी काममा क्रियाशील छन् । हाल उनी ‘सिंगापुर गोर्खा पेन्सन एसोसियसन’ मा आबद्ध रहेर वेल्फेयरसम्बन्धी काम गर्दै आएका छन् । यसरी काम गर्नेक्रममा केही सिंगापुर गोर्खाका विधुवालाई समेत पेन्सन दिलाउन उनी सफल भएका छन् । व्यापार व्यावसाय गर्ने सोचसाथ उनले बुटवलमा खाद्यान्न सप्लायर पसल सञ्चालनमा ल्याएका छन् । उनी एक श्रीमती, एक छोरा र एक छोरीसहित काठमाडौंको खड्काभद्रकालीमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार