समृद्ध हलेसी तुवाचुङ नगरपालिका बनाउन २७ ‘स’

सयन्द्र राई

दुर्छिम, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले समृद्ध नगरपालिका बनाउने २७ ‘स’ अवधारणा अघिसारेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार समृद्ध नगरपालिका बनाउन ‘संघीयताको गर्भअनुसार प्रशासनिक कर्म’ गर्न कर्मचारीलाई सुझाएका छन् । प्रशासनिक कामलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन सदाचारिता, समन्वय, सहकार्य, सहयोग, संवाद, समयको पालन र समन्वय त्यत्तिकै महत्वपूर्ण मानिन्छ ।

यसैगरी, सेवाग्राहीलाई सप्रेम व्यवहार, सद्भाव, सक्रियता, सम्मान, समाजप्रति जवाफदेही, सहभागितामूलक निर्णय कार्यान्वयन र अनुगमन अपरिहार्य मानिने उनको बुझाइ छ । उनले थपे, ‘सञ्चार, संवेग नियन्त्रण, सतर्क, समान व्यवहार, सकारात्मक सोच र व्यवहार सम्बन्धको विकास र विस्तार गर्न सके नगरलाई जुरुक्कै उठाउन सकिन्छ । त्यसका लागि सपना पूरा गर्न प्रतिबद्ध, सञ्जालीकरण, सत्कर्म, सत्य, सचेतनाको सेवा, सक्षमता, सल्लाह÷परामर्श र सहअस्तित्व अपरिहार्य ठानिन्छ ।

२७ ‘स’ कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारीलाई मुस्कानसहितको व्यवहार गर्ने आग्रह गरेका छन् । ‘सबैभन्दा सस्तो र महँगो भनेकै मुस्कान हो,’ उनले नगरपालिकाका कर्मचारीलाई सुझाए, ‘त्यसैले मुस्कानसहितको काम गर्नुहोस् ।’

समृद्ध नगर बनाउन २७ ‘स’ को परिकल्पना गर्न जति सजिलो छ, कार्यान्वयनका लागि पनि त्यति नै सजिलो छ । ‘इच्छाशक्ति भए पुग्छ । कार्यान्वयनमा पनि त्यत्तिकै सजिलो छ । किनकि दिननेले आफैं जल्नुपर्छ,’ उनको भनाइ छ, ‘म स्वयम् र सबै कर्मचारीले प्रतिबद्ध र कटिबद्ध भई २७ ‘स’ पूरा गर्न लागिपर्नेछौं । नयाँ काम थालिएकाले समस्या आयो भन्दैमा आत्तिन नहुने उनले बताए ।

‘२७ ‘स’ लाई व्यावहारिक बनाउन संयम बन्नुपर्छ । धैयवान् हुनुपर्छ,’ उनको ठम्याइ छ, ‘मस्तिष्कमा आइस, मनमा माया र मुखमा चिनीसहित कार्यान्वयन गर्न सकिन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले अघिसारेका २७ ‘स’

–संघीयताको गर्भअनुसार प्रशासनिक कर्म

–सदाचारिता

–समन्वय

–सहकार्य

–सहयोग

–संवाद

–समयको पालन

–सेवाग्राहीलाई सप्रेम व्यवहार

–सद्भाव

–सक्रियता

–सम्मान

–समाजप्रति जवाफदेही

–सहभागितामूलक निर्णय कार्यान्वयन र अनुगमन

–सञ्चार

–संवेग नियन्त्रण

–सतर्क

–समान व्यवहार

–सकारात्मक सोच र व्यवहार

–सम्बन्ध विकास र विस्तार

–सपना पूरा गर्न प्रतिबद्ध

–सञ्जालीकरण

–सत्कर्म

–सत्य

–सचेतनाका सेवा

–सक्षमता

–सल्लाह–परामर्श

–सहअस्तित्व

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार