पत्रकारले भेदभाव गर्न मिल्दैन

बिमला राई

हलेसी तुवाचुङ नगरपालिका खोटाङबाट पहिलोपटक प्रकाशित तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहका अध्यक्ष एवम् तुवाचुङ साप्ताहिक सम्पादक दीपेन्द्र राईज्यू । यस कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, वडासदस्यज्यू, नेकपाका श्रद्धेय नेता हरिश्चन्द्र गिरीज्यू, इलाका प्रहरी कार्यालय हलेसी प्रमुखज्यू, पत्रकारद्वय हरिबोल आचार्य र केदार लाफाज्यू र उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार गर्दछु ।

मैले धेरै कुरा बोल्नुपर्छ जस्तो लाग्दैन । हलेसी तुवाचुङ नगरपालिकाले गरेको काम आफ्नै नगरपालिकाबाट प्रकाशित पत्रिकामा प्राथमिकता पाउनेछ भन्नेमा ढुक्क छु । चाहे हामीले नगरपालिकामा गरेको सकारात्मक काम होस् वा अन्य जुनसुकै गतिविधि आमजनतामाझ मौखिक रूपमा भनिरहनुपर्ने अवस्था अन्त्य हुनेछ । हामीले गरेको जुनसुकै गतिविधि आमजनतामाफ पुर्याउन तुवाचुङ साप्ताहिक गतिलो माध्यम बन्नेछ । म तुवाचुङ साप्ताहिक पत्रिकासम्बद्ध सबैलाई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

विकास सूचना, सञ्चार र प्रविधिमैत्री हुनुपर्छ । यसबारे हामी जानकार छौं । यद्यपि, यसलाई अधिकतम प्रयोग गर्न सकिरहेका छैनौं । इलाका प्रहरी कार्यालय हलेसी प्रमुखज्यूले आमसञ्चारको प्रभाव, खतरा र उपयोगिताबारे बोलिसक्नुभएको छ । म त्यतातिर जान्न । पत्रकार हरिबोल आचार्यज्यूले तुवाचुङ साप्ताहिक नगरपालिकाबाट प्रकाशित मुलुककै पहिलो पत्रिका हुन सक्छ भन्नुभएको छ । उहाँले त्यसो भन्दा झन् प्रफुल्लित भएकी छु । सबैलाई पहिलो हुन मन लाग्छ । तर, समय आउनुपर्दोरहेछ । सबै पक्ष मिल्नुपर्दोरहेछ । आज यो अवस्थामा ल्याउनका लागि पत्रकार दीपेन्द्र राई, सयन्द्र राईज्यू र उहाँहरूको टिमले यो काम थाल्नुभएको छ । जसको ऐतिहासिक दिनका रूपमा आज चिनिने अवसर दिनुभएको छ । यस अर्थमा उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु ।

संविधानतः हामीलाई स्थानीय सरकारले २२ अधिकार प्रदान गरेको छ । जसअन्तर्गत यो पनि एउटा पक्ष–क्षेत्रमा हामीले काम गर्नुपर्ने थियो । तुवाचुङलाई जीवन्त राख्न नगरपालिकाले सकेको, स्रोतले धान्न सक्ने तरिकाले सहयोग प्रयत्न गर्नेछौं । तुवाचुङमात्रै होइन, जहाँसुकै ठाउँबाट प्रकाशित सञ्चारमाध्यमलाई समेत स–सम्मान सँगै लैजाने प्रयत्न गर्नेछौं । हामी सबैको साझा बन्ने प्रयत्न गर्दै छौं । तुवाचुङको नाम जोडेर पत्रिका प्रकाशनमा आएपछि हामीले गरेका सकारात्मक काम र विविभ गतिविधि प्रकाशन हुने नै छ ।

हामी कहिलेकाहीं निराशा नै निराशा र शंकैशंकाबीच उभिएका हुन्छौं । हिँडेका हुन्छौं । त्यस्तो अवस्थामा ठूलो उपलब्धि प्राप्त गर्न सकिँदैन । तुवाचुङ साप्ताहिक त्यस्तो धरमर हुनुहुँदैन । पत्रिकाको स्तरीतयालाई दृष्टिगत गर्दै दुई वक्ताले चिन्ता गर्नुभएको छ । मचाहिँ सम्मान व्यक्त गर्छु । कसैले राम्रो काम थाल्यो भने त्यसको निरन्तरता के होला भनेर हामी शंका व्यक्त गर्छौं । समस्या आउला कि भनेर चिन्तित हुन्छौं । यो मानवीय स्वभाव नै हो । कसैले थालेको कामले निरन्तरता पाउँदैन त्यसको एउटै कारण ‘वेल प्लान’ नहुनु हो । योजनकारले प्रभावकारी योजनामात्रै बनायो भने कामै नथाली ८० प्रतिशत काम कार्यान्वयन आइसकेको हुन्छ भनेर हामीले बुझ्ने गर्छौं । दीपेन्द्र राई हलेसी तुवाचुङ नगरपालिकावासी हुनुहुन्छ । उहाँ लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ । उहाँ र उहाँको टिमले लामो समयदेखि योजना बनाएर साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । पत्रिकाको स्तर र गुणस्तर घट्छ भनेर मैले सोचेकीसम्म छैन । र, घट्नु पनि हुँदैन भनेर त्रिधार्मिक नगरीको उपप्रमुखको हैसियतले अनुरोध गर्छु । चिन्ता व्यक्त गर्नुहुने वक्ताको चिन्ता निराशामा परिणत नहोस् । यसले गुणस्तर र दिगोपन कायम राखोस् । शुभकामना दिन्छु ।

नेकपा नेता हरिश्चन्द्र गिरीले भन्नुभएजस्तै पत्रिकामा प्रकाशित खुराक सर्वपक्षीय र निष्पक्ष ढंगले जनतामाझ आऊन् । आउँछ भन्नेमा म ढुक्क छु । अरूले विभेद गर्न सक्छ तर पत्रकारले त्यसो गर्न मिल्दैन । त्यस्तो अभ्यास हुनुहुँदैन भनेर यहाँहरूमाझ अनुरोध गर्छु ।

आजदेखि प्रकाशनमा आएको पत्रिकाले हलेसी तुवाचुङ नगरपालिकालाई केन्द्रित गर्नुहुनेछ । नामअनुसारको काम हुनेछ भन्नेमा त्यत्तिकै विश्वस्त छु । हामीले गर्न लागिरहेको राम्रो कामको यहाँहरूले बढवा दिनुहुनेछ । अञ्जानमा गलत काम गर्न बाध्य भयौं भने त्यसको खबरदारी गरिदिनुहुनेछ । जनताले सञ्चारमाध्यमबाटै आफूले पाउने अधिकार र गुमाएका अधिकारबारे सुुसूचित हुने अवसर पाउँछन् । तुवाचुङले त्यो भूमिका निर्वाह गर्ने नै छ ।

म पनि कहिलेकाहीं निराश हुन्छु । हलेसी तुवाचुङ नगरपालिकाको पहिलो सम्भावना के हो भनेर कसैले सोधेमा स्थानीयले पर्यटन भन्नुहुन्छ होला । यहाँको सबैभन्दा कठिन अवस्था के हो भनेर सोध्दा खानेपानी भन्नुहोला । म दुवै भनाइसँग सहमत छैन । पहिलो समस्या भनेको त युवाविहीन नगरपालिका हो । आजको मितिसम्म यस नगरपालिकाबाट १ हजार ७ सय ३६ जना वैदेशिक रोजगारीमा गएका छन् । नगरपालिकामा आएको ससर्त वा निसर्त अनुदान होस्, केन्द्रीय वा प्रदेश सरकारबाट आएको बजेट ४४ करोड बढी छ । त्यसमध्ये ६० लाख आन्तरिक राजस्व प्रक्षेपण गरेका छौं । त्यसो भएकाले मात्रै ४० करोडको बजेट नगरपालिकाले नीति बनाएर नगरसभामा पेस गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका १ हजार ७ सय ३६ जनाले सालिन्दा ४३ करोड ६० लाख बराबर रेमिट्यान्स पठाउने गरेका छन् । स्थानीय सरकारले परिचालन गर्ने स्रोत, साधन र १ हजार ७ सय ३६ जनाले पठाउने रेमिट्यान्स तुलना गर्दा दुःख लागेको छ । सत्यता चाल पाएपछि नगरपालिका कुन अवस्थामा रहेछ भनेर दुःख लाग्नु स्वाभाविकै हो । वैदेशिक रोजगारीमा गएकाले पठाएका रेमिट्यान्स कहाँ र कसरी सदुपयोग भइरहेको छ भनेर छलफल गर्नैपर्ने भएको छ । हामीले छलफल थालिसकेका छौं । यस कार्यक्रमका सञ्चालकले भन्दै हुनुहुन्थ्यो– हलेसी पर्यटनका लागि त्रिधार्मिक स्थल हो । यहाँ अफसिजनमा दैनिक पाँच सयदेखि एक हजारजना तीर्थालुले दर्शन गर्ने गर्छन् तर सिजनमा दैनिक पाँचदेखि ६ हजारजनाले दर्शन गर्दै आएका छन् ।

मैले भन्ने गरेकी छु– हामीले लगाएको कपडाको आयु दुईदेखि पाँच वर्षसम्मको हुन सक्छ तर हामीले खाने खानेकुरा एकपटक खाएपछि वर्ष दिनसम्म खान्न भन्न मिल्दैन । त्यसैले हाम्रो प्राथमिकता कृषि, पशुपालन, युवा स्वरोजगारमा हुनुपर्छ । वैदेशिक रोजगारीमा गएकालाई फर्काउने वातावरण बनाउनुपर्छ । यही सम्भावनाको खोजीमा तुवाचुङ साप्ताहिकले सहयोग गर्नेछ भन्नेमा ढुक्क छु । हामीसँग चुनौतीमात्रै होइन, सम्भावना पनि त्यत्तिकै छन् । सम्भावनाको कुरा, विकास निर्माणलाई सरलीकृत तरिकामा यहाँहरूको कलम चल्ने नै छ । यस मामिलामा जबसम्म कलम चलाइदिनुहुँदैन तबसम्म हाम्रो मानसिकता परिवर्तन हुँदैन । हाम्रो मानसिकता बाटो खन्ने, पुल बनाउनमै केन्द्रित छ । त्यसले मात्रै सन्तुलित विकास हुन सक्दैन । युवा सडकमा हिँड्ने क्षमता राख्ने हैसियत बनाउन जरुरी छ ।

 

आज एउटी आमा एक्लै घर सम्हाल्छिन् । टेलिफोनको भरमा एक छोराछोरी वा बुहारीले आमा सन्चै हुनुहुन्छ भन्दा आमाले जबरजस्ती ठीक छु भने पनि उनको मन–मस्तिष्क स्वस्थ र सन्तुलित छ भन्न सकिँदैन । उसलाई ‘केयरिङ’ गर्ने मानिस चाहिन्छ । वातावरण चाहिन्छ । त्यसका लागि वैदेशिक रोजगारीमा गएका नगरवासीलाई घर फर्काउनैपर्छ । उनीहरूले पठाएको ४३ लाख रुपैयाँ सही ठाउँमा सदुपयोग गर्न सुझाउनुपर्नेछ । नगरले सञ्चालन गर्ने बजेट हाराहारीमा उनीहरूले रेमिट्यान्स भित्र्याएका छन् । हामीले वैदेशिक रोजगारीमा गएकाको घर–घर पुगेर सोध्दा उनीहरूको मासिक कमाइ १७ देखि २० हजारसम्म भएको जान्न पायौं । त्यति रुपैयाँ यहीं कमाउने वातावरण सिर्जना गर्न सक्नुपर्छ । यस महान् कार्यमा तुवाचुङ साप्ताहिकले समेत हामीलाई सहयोग गर्नेछ ।

दीपेन्द्र राई र सयन्द्र राईजस्ता दिग्गज व्यक्ति, जो लामो समयदेखि सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ, जसले हलेसी तुवाचुङ नगरपालिकालाई समृद्ध बनाउन पत्रिका प्रकाशन थाल्नुभएको छ । तपाईंहरूलाई विशेष धन्यवाद । तुवाचङ साप्ताहिक प्रकाशन निरन्तरताका जिम्मेवारी हामी (जनप्रतिनिधि) ले पनि लिनेछौं । आज हामीले केही सहयोग गर्न सकेका छैनौं ।सहयोग गर्ने विभिन्न आधार र तौरतरिका छन् । त्यसमा हामीबाट कन्जुस्याइँ हुने छैन । सहयोगका लागि हामी प्रतिबद्ध छौं ।

फेरि पनि दोहोर्याउँछु– तुवाचुङ साप्ताहिकमा प्रकाशित सामग्री सन्तुलित होस् । जीवनोपयोगी होस् । सामग्रीमात्रै होइन, पत्रिकाको स्तर घट्नुहुँदैन । सम्बोधनक्रममा मैले केही अनुरोध गरेकी छु । तीन सम्बोधन तपाईंहरूले पूरा गरिदिने प्रयास गरिदिनुहुनेछ । सम्भावनाको खोजी भइरहेको विश्लेषण जनजनमा पु¥याइदिन अनुरोध गर्छु । विगतमा पनि सहयोग गर्नुभएकै छ । तुवाचुङ साप्ताहिकको दीर्घजीवनको कामना गर्छु । तुवाचुङ साप्ताहिकले आजदेखि संस्थागत जीवन सुरु गरेको छ । व्यक्ति र संस्थाको आयु हुन्छ फरक हुन्छ । तसर्थ, तुवाचुङको दीर्घजीवनको कामना गर्छु । तुवाचुङलाई आवश्यक सहयोग गर्न जनप्रतिनिधि तयार छौं ।

(तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहमा हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले गरेको सम्बोधन ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार