मलेसियाबाट फर्केर गाउँमै सुँगुरपालन

दीपेन्द्र राई

दुर्छिम (खोटाङ) । मलेसियामा तीन वर्षसम्म दैनिकजसो १० देखि १२ घन्टासम्म काम गर्दाको कमाइले चित्त बुझेको भए विशाल राई नेपाल फर्कंदैनथे होलान् । त्यत्तिका समय मिहिनेत गर्दा पनि चित्तबुझ्दो कमाइ नभएपछि राई स्वदेश फर्के ।
‘फर्केर के गर्ने भन्ने योजना बनेको थिएन,’ उनले सुनाए, ‘के गर्ने होला भन्दाभन्दै सुँगुर पाल्ने योजना बनाएँ । योजना बनेपछि काम थालिहालें । घरछेउको आफ्नै बारीमा सुँगुरखोर बन्यो । खोर तयार भएपछि २२ वटा सुँगुर हालें ।’

मलेसियामा रहँदा दैनिकजसो १० देखि १२ घन्टा गर्ने मिहिनेत आफ्नै देशमा गरे सुन फलाउन सकिने उनले निष्कर्ष निकालेका छन् । सुँगुर पाल्न थालेपछि उनको दिनचर्या परिवर्तन भएको छ । वैदेशिक रोजगारीमा रहँदा दैनिक १२ घन्टा पसिना बगाउने उनलाई गाउँघरमै सात घन्टा मिहिनेत गरे पुग्ने भएको छ । उनी बिहान चार र साँझपख तीन घन्टा सुँगुरको रेखदेखमा खटिन्छन् ।

सात घन्टामध्ये अधिकांश समय सुँगुरको चारो तयार पार्नमै बित्छ । बिहान पकाएको चारोले बेलुकासम्म पुर्याउँछन् । इन्धन सदुपयोग गर्न बिहान धेरै चारो पकाउने उनले बताए । ‘चारोका लागि त्यति समस्या छैन,’ वास्तविकता सुनाए, ‘कोदो, मकै आफैंले उत्पादन गरिन्छ । त्यसबाहेक ढुटो किन्नुपर्छ । सुँगुरले मासु पनि खान्छ । त्यो पनि खुवाउने गरेको छु । जाँगर चलाए गाउँठाउँमा मौसमअनुसारका कन्दमुल पनि चारोका रूपमा खुवाउन सकिन्छ ।’

सुँगुर पाल्न थालेको वर्ष दिनको अनुभवले व्यवासय गर्न जाँगरिलो बनाएको छ । समय सदुपयोग गर्न जाने बेरोजगारी बस्न नपर्ने भन्न थालेका उनले सुँगुरमात्रै होइन, लोकल कुखुरा पाल्न थालेका छन् । सुरुमा ५० कुखुरा हालेका उनले थप्दै लैजाने योजना बनाएका छन् । सुँगुरपालन पाल्न थालेको वर्ष दिन भयो । व्यवसायमा घरपरिवारको सतप्रतिशत सहयोग पाएकै छन् । उनले पालेको सुँगुर गाउँमै दुई सय रुपैयाँ किलोमा बिक्री हुन्छ । जिउँदो कुखुराको प्रतिकिलो सात सय रुपैयाँ पर्छ ।

‘लोकल कुखुरा त हारालुछ हुन्छ,’ वैदेशिक रोजगारीका लागि विदेश नजाने बताउँदै आएका उनले खुसी व्यक्त गरे, ‘सुँगुरभन्दा कुखुरा पाल्दा पो फाइदा हुन्छ जस्तो लागेको छ । त्यसैले पालेको सुँगुर बिक्री हुँदै गएपछि पुनः थप्ने जाँगर चलाएको छैन ।’
घरपरिवारसँगै बसेर घर–आँगनमै सानोतिनो नै भए पनि व्यवसाय गर्नुको आनन्द अरूसँग तुलना गर्न नसकिने उनले भेउ पाइसकेका छन् । त्यही भेउलाई दिव्यज्ञानझैं ठानेर सुँगुर र कुखुरापालक बनेका उनले ‘काम छैन’ भनेर आयु घटाउँदै गएका साथीसँगातीलाई व्यवसायी बन्न सुझाउँछन् । ‘व्यापार अपार त्यत्तिकै भनिएको होइन रहेछ,’ उनले सुनाए, ‘त्यसको स्वाद लिँदै छु । अरूलाई लिनसमेत अनुरोध गर्छु ।’

मिहिनेत गर्न अल्छी नगर्ने हो भने गाउँघरमा समेत धेरै काम गर्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माका विशाल राई प्रतिनिधि पात्रमात्रै हुन् । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले केही न केही गर्दै आएकाको समाचार सञ्चारमाध्यम पढ्न र सुन्न पाइन्छ । त्यसमध्ये कोही कृषि त कोही पशुपालनमा लागेका छन् । कोही व्यापारमा लागेका होलान् । उनीहरूको सफलताको कथा पढ्न र सुन्न पाउँदा पढ्ने र सुन्नेलाई केही न केही गर्ने ऊर्जा मिलेकै हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार