२९४ गर्भवतीद्वारा बर्थिङ सेन्टरमा प्रसूति

दीपेन्द्र राई

दुर्छिम, १८ असोज । हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडामा स्थापित बर्थिङ सेन्टरमा २ सय ९४ जना गर्भवतीले प्रसूति सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७४–०७५ मा नगरपालिका ११ वडामा २ सय ९४ जना गर्भवतीको प्रसूति गराइएको नगर स्वास्थ्य संयोजक रामकुमार भगतले जानकारी गराए । भगतका अनुसार, आर्थिक वर्ष २०७४–०७५ मा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ मा एक र वडा नम्बर २ मा १७ जनाको प्रसूति गराइएको थियो ।

यसैगरी, वडा नम्बर ३ मा ३३, वडा नम्बर ४ मा दुई र वडा नम्बर ५ मा ८० जनाको प्रसूति गराइएको थियो । त्यस्तै, वडा नम्बर ६ मा चार, वडा नम्बर ७ मा २० र वडा नम्बर ८ मा ५३ जनाको प्रसूति गराइएको हो । वडा नम्बर ९ मा एक, वडा नम्बर १० मा २६ र वडा नम्बर ११ मा ५७ जनाले प्रसूति सेवा लिएका थिए ।

नगरपालिमा बर्थिङ सेन्टर स्थापनापछि प्रसूति सेवा लिनेमा दुर्छिम सबैभन्दा अगाडि रहेको छ । आर्थिक वर्ष २०७४–०७५ मा दुर्छिमका ८० जना गर्भवतीले प्रसूतिसेवा लिएका थिए भने सबैभन्दा कम बाहुनीडाँडा र सल्लेका एक–एकजना गर्भवतीले बर्थिङ सेन्टर पुगेर प्रसूति सेवा लिएका थिए । त्यस्तै वर्ष दिनमा बडहरेका दुई गर्भवतीले प्रसूतिसेवा लिएका थिए । बाहुनीडाँडा, सल्ले र बडहरेपछि मंगलटारका चार महिलाले बर्थिङ सेन्टर पुगेर प्रसूति सेवा लिएका हुन् ।

बाहुनीडाँडा–१
डिकुवा–१७
च्यास्मिटार–३३
बडहरे–२
दुर्छिम–८०
मंगलटार–४
हलेसी–२०
धितुङ–५३
सल्ले–१
अर्खौले–२६
राजापानी–५७

नगरपालिकाले बर्थिङ सेन्टर पुगेर सुरक्षित प्रसूति सेवा लिन चेतनामूलक कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४–७५ मा ५ सय ९६ जना गर्भवतीलाई प्रसूति सेवा लिन प्रेरित गर्ने लक्ष्य लिएको थियो । तर, ४९ दशमलव ४ प्रतिशतले मात्रै प्रसूति सेवा लिएका छन् । बर्थिङ सेन्टर स्थापनाअघि २६ प्रतिशतले मात्रै प्रसूति सेवा लिने गरेका थिए ।
स्थानीय स्रोत, साधन र जनशक्ति परिचालन गरेर नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने हलेसी–तुवाचुङ नगरपालिका नेपालकै पहिलो र नमुना नगरपालिका बनेको छ । बर्थिङ सेन्टर स्थापनापछि सम्बन्धित वडाका सुत्केरीले अकालमा ज्यान गुमाउनुपरेको छैन । जहाँ नियमित गर्भजाँच र स्थानीय दक्ष स्वास्थ्यकर्मीद्वारा सुरक्षित प्रसूति गराइन्छ ।
मानिसका लागि स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । बाँच्न पाए हाँस्न सकिन्छ । सो भनाइमा त्यत्तिकै सत्यता छ । उक्त भनाइ दृष्टिगत गर्दै नगरपालिकाले स्वास्थ्य सेवामा विशेष ध्यान दिँदै आएको छ ।

प्रसूतिसेवा लिनेमा दुर्छिम सबैभन्दा अघि, बाहुनीडाँडा, सल्ले र बडहरे पछि

हलेसी तुवाचुङ नगरपालिकाले विपन्न तथा असहाय परिवारका पाठेघर खसेका महिलाको नगरपालिकाबाहिर गएर स्वास्थोपचार गराउनुपर्ने भएमा पाँच हजार रुपैयाँ गाडीभाडा व्यवस्था गरेको छ । त्यतिमात्रै होइन, नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य शिविर सञ्चालन गरिएका छन् । त्यसलाई निरन्तरता दिइएको छ ।

नगरपालिकाका स्वास्थ्य जनशक्ति प्रयोग गरेर प्रत्येक साता प्रत्येक गाउँ–बस्ती पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्न हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले निर्देशन दिएका छन् । ‘सकेसम्म वडासचिव र वडाप्रतिनिधिलाई घरघरै पुगेर स्वास्थ्य शिविर सञ्चालन र वृद्धभत्ता वितरण गर्न अनुरोध गरेको छु,’ मेयर राईले भने, ‘नसके टोलटोलसम्म त पुग्नैपर्छ ।’
सम्बन्धित वडाका टोल–टोल पुग्दा स्थानीयको उच्च रक्तचाप नाप्ने, प्राथमिक उपचार गर्ने तरिकासम्म सिकाउन सके स्थानीय लाभान्वित हुनेछन् । सिकेकाले लाभान्वित भएका छन् ।

सम्भव भएसम्म नगरवासीको उपचार नगरमै गर्न–गराउन नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गर्ने भएको छ । ‘खुसीको कुरा जानकारी गराउँदै छु,’ मेयर राईले सुनाए, ‘१५ देखि २५ शय्याको नगरस्तरीय अस्पताल निर्माण गरिनेछ । अस्पताल निर्माणका लागि उपयुक्त जग्गा खोजिकार्य जारी छ । जग्गा पाउनसाथ काम थाल्ने छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार